आइतबार, फाल्गुण १३, २०८०
Sunday, February 25, 2024

टोकियो – जापानमा एसियाली मुलुकहरु जस्तो, नेपाल र भारतको जस्तो भद्दा र मोटोपन भएका न्यून देखिन्छन् र, उनीहरु सामान्यतया तन्दुरुस्त नै हुन्छन् । किनभने यहाँको शिक्षा प्रणालीले नै स्वास्थ्यमा जोड दिन्छ । खेलकुदमा सक्रिय हुने, स्वस्थ आहार-बिहार गर्ने कुरा विद्यार्थीकालमै पढाइन्छ । सरकारी स्कुलले यसलाई प्रोत्साहन गर्छ । बच्चा बेलादेखि नै पोषणको महत्वदेखि लिएर शारीरिक अभ्यासको कुरा सिकाइन्छ । ‘स्वास्थ भएन भने केही पनि हुँदैन है’ भन्ने संस्कृति नै विकास गरिएको छ । त्यसले हेल्थ कन्सियस छन् ।

जापानीजहरुको विद्यार्थीकालदेखि नै नियमित चेक-जाँच हुन्छ । बच्चामै चाहिनेभन्दा बढी मोटो भयो वा दुब्लो भयो भने चाहिँ डाक्टरलाई देखाइन्छ । जसले गर्दा बच्चादेखि नै स्वस्थ हुन्छन् । यो प्रणालीभन्दा पनि संस्कृति हो । किनभने, जापानमा मोटो मान्छे राम्रो मानिँदैन । मोटोलाई खिसिट्युरी गरिन्छ । जस्तो, हामीकहाँ दुब्लो भयो भने ‘खान नपाए जस्तो, मरन्च्याँसे, भोकमरी’ भनेर खिसिट्युरी गरिन्छ । तर मोटोलाई खाइलाग्दो रहेछ भनिन्छ । त्यसैले सामान्यतया जापानमा मान्छेहरु मोटाउन खोज्दैनन् ।

यहाँ कसरत गर्ने कुरालाई जीवनकै अंगका रुपमा लिइन्छ । खेलकुद गतिविधिमा अफिस र अस्पतालले प्रोत्साहन गर्छन् । फुटबल वा बेसबल टिम हुन्छ । कम्तीमा हप्ताको एक पटक फुटबल र बेसबल खेल्न जाने हुन्छ । यहाँ आएका धेरै नेपालीहरु सुरुमा जापानिज खाना खल्लो भन्छन् । किनकी नुन, मसला र चिल्लो कम हुन्छ । यहाँको खानामा क्यालोरी नै कम छ । खाना नै स्वस्थ छ ।

यद्यपि यहाँ दुई थरीका नेपाली छन् । एक थरी जापानिज समाजमा भिजेका छन् । जापानिजसँगै बढी काम गर्छन् । उनीहरु चाहिँ जापानिज जीवनशैली र खानपान चाहेर/नचाहेर पछ्याउँछन् । अर्को थरी नेपाली जो काम गर्न आउँछन् । विद्यार्थी भिसामा आएर पैसा कमाउने हुन्छ । उनीहरु जापानिजसँग त्यति धेरै घुलमिल हुँदैनन् । रेस्टुरेन्ट र सुपरमार्केटमा काम पनि नेपालीसँगै हुन्छ । जापानमा बसे पनि जापान भित्रको सानो नेपालमा नै बाँचिरहेका छन् भने पनि हुन्छ । उनीहरुमा खानपिन सहित धेरैजसो कुरा नेपाली स्टाइलमै पाइन्छ ।

जापानमा नेपालीको स्वास्थ्य
जापान जाने हरेक नेपालीको झोला खोतल्ने हो भने त्यहाँ कुनै न कुनै औषधि हुन्छ । पारासिटामोल, ब्रुफिन, साइनेक्स, आईपिल जस्ता औषधिहरु जापान जाने प्रायले बोक्छ ।

मधुमेह, ब्लडप्रेसर जस्ता दीर्घरोगका औषधि पनि जापानमा बस्नेहरुले नेपालबाटै मगाएर खाइरहेको धेरै भेटिएको डा एलिजा केसी भण्डारी बताउँछिन् । जापानले सामान्यतया चिकित्सकको सल्लाहमा औषधि सेवनलाई प्राथमिकता दिन्छ । तर पारासिटामोल, ब्रुफिन, आईपिल जस्ता औषधिहरु ‘ओभर द काउन्टर’ पनि पाइन्छन् । त्यसबारे नेपालीलाई उति ज्ञान नभएको डा भण्डारीको अनुभव छ । त्यहाँ औषधि सामान्यतया जेनेरिक नामबाट बढी प्रयोगमा रहने भएकाले नेपालीहरुका लागि झन्झटिलो छ ।

जापानमा आयोजित ‘एनआरएनए ग्लोबल नेपाली हेल्थ कन्फरेन्स’ले जापानमा रहेका नेपालीलाई स्वास्थ्य सेवामा असहजता हुनुको एउटा कारण भाषा रहेको औंल्याएको छ । उक्त कन्फरेन्सको साइन्टिक कमिटीको चेयर रहेका डा. लुशुन चालिसे भन्छन्, ‘प्रायः सबै ठाउँमा जापानी भाषा प्रयोग हुन्छ । जापानी भाषा जानेन भने स्वास्थ्य सेवा लिन गाह्रो भने हुन्छ । धेरै विदेशीहरुले उपचार लिने ठाउँमा ट्रान्सलेटर भने राखेको छ । तर सबैले अस्पतालले त्यो सेवा दिन सक्दैनन् ।’

जापानमा चिकित्सा समेत जापानिज भाषामै पठनपाठन हुन्छ । त्यसैले चिकित्साकर्मी अंग्रेजीमा उति दक्ष हुँदैनन् । नेपालीहरुको समेत अंग्रेजी राम्रो नहुने भएकाले संवादमा समस्या देखिन्छ । जापानमा स्वास्थ्य बीमामा नियमित शुल्क तिरिरहेका नेपालीहरु पनि उपचारका लागि नेपाल नै फर्किने गरेको देखिन्छ । खासगरी भाषाको अवरोधका कारण आफ्नो कुरा प्रष्ट भन्न नसक्दा त्यस्तो अवस्था आएको हुन सक्ने डा भण्डारी बताउँछिन् । उनले भनिन्, ‘भाषाले गर्दा समस्याको पहिचान हुन मुश्किल हुन्छ । त्यसैले कतिपय नेपालीले नेपाली चिकित्सक खोजिदिन हामीलाई पनि भन्छन् ।’

तपाईको प्रतिक्रिया