आइतबार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

काठमाडौं – आउँदो शुक्रबार अर्थात् १ डिसेम्बरदेखि निष्क्रिय गुगल अकाउन्ट बन्द हुने भएका छन् । ‘गुगल इनएक्टिभ अकाउन्ट पोलिसी’ अन्तर्गत दुई वर्षदेखि निष्क्रिय रहेका गुगल (जिमेल) अकाउन्ट सधैंका लागि बन्द हुन लागेका हुन् ।

गुगलको प्रोडक्ट म्यानेजमेन्टकी उपाध्यक्ष रुथ क्रिचेलीका अनुसार बिर्सिएका वा निष्क्रिय रहेका अकाउन्टमा पुरानो वा पुन: प्रयोग गरिएका पासवर्ड हुने, टू फ्याक्टर अथेन्टिकेसन सेटअप नहुने र प्रयोगकर्ताले सुरक्षा मापन नगर्ने भएकाले डिलिट गर्न लागिएको हो ।

त्यस्तै सक्रिय अकाउन्टको तुलनामा निष्कृय अकाउन्टमा टू फ्याक्टर अथेन्टिकेसन प्रयोग गर्ने सम्भावना १० गुणाले कमी हुने र स्प्याम, मालिसियिस कन्टेन्ट फैलाउन त्यस्ता अकाउन्ट प्रयोग हुन सक्ने उनले बताएकी छिन् । सोहीकारण डिलिट भएका जिमेल अकाउन्ट पुनः सिर्जना नहुने गरी बन्द गर्न लागिएकाे उनले जानकारी दिइन् ।

यससँगै निष्कृय अकाउन्टसँग सम्बन्धित ड्राइभ, गुगल फोटो, डक्स फाइल सबै डिलिट हुने छ । यद्यपि डिलिट गर्नुअघि सबै गुगल अकाउन्टमा पटक पटक रिमाइन्डर ईमेल पठाइने गुगलले बताएको छ ।

साथै निष्क्रिय रहेका सबै अकाउन्टलाई गुगलले एकैपटक डिलिट नगरी चरणबद्ध रुपमा गर्ने भएको छ । जसअन्तर्गत अकाउन्ट खोलेर कहिल्यै प्रयोग नभएका अकाउन्टहरू सुरुवाती चरणमा डिलिट हुनेछन् । तर गुगल प्रोडक्स वा सब्सक्रिप्सन खरिद गर्न प्रयोग गरिएका वा संस्थाहरूसँग सम्बन्धित अकाउन्ट डिलिट हुने छैनन् ।

आफ्नो अकाउन्ट र डेटा (सामग्री) डिलिट हुनबाट रोक्न प्रत्येक दुई वर्षमा कम्तीमा एक पटक आफ्नो गुगल अकाउन्ट प्रयोग गर्न आवश्यक छ । ईमेलहरू पठाउने, गुगल ड्राइभ प्रयोग गर्ने, युट्युब भिडिओहरू हेर्ने वा एपहरू डाउनलोड गर्ने जस्ता गतिविधि गर्दा अकाउन्ट सक्रिय रहने छ । यदि तपाईंले अकाउन्ट वा पासवर्ड बिर्सनु भयो भने गुगलको अकाउन्ट रिकभरी टुलहरू प्रयोग गरी त्यस्ता अकाउन्ट पुनः सक्रिय गर्न सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया