Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – गाजामा इजरेल-हमासबीच सङ्घर्षविराम चलिरहँदा थप १३ जना इजरेली र चार जना थाई बन्धकहरू रिहा गरिएका छन् ।

यसअघि इजरेलले गाजामा पठाइएका मानवीय सहायता सामग्री रोकेको भन्दै हमासले उनीहरूलाई मुक्त गर्न ढिलाइ गरेको थियो । कतार र इजिप्टको मध्यस्थतापछि उनीहरूलाई मुक्त गर्न सहमत भएको हमासले उनीहरूलाई रेडक्रस समक्ष हस्तान्तरण गरेको हो ।

कतारले मध्यस्थता गरेको चार दिने अस्थायी युद्धविराम र बन्दी साटफेर गर्ने सम्झौताअन्तर्गत हमासले छाड्ने इजरेली बन्धकहरूको तेबर सङ्ख्यामा इजरेलले प्यालेस्टिनी बन्दीहरू छाड्ने गरेको छ । द्विपक्षीय सहमतिअनुसार शुक्रवार हमासले १३ इजरेली, १० थाई र एक फिलिपिनोसहित २४ बन्धकलाई मुक्त गरेको थियो भने इजरेलले ३९ जना प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको थियो ।

अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा १,२०० जनाको ज्यान गएको थियो भने २४० जनालाई उसले बन्धक बनाएर लगेको थियो । त्यसमा कञ्चनपुरको विपिन जोशी पनि रहेको पुष्टि भइसकेको छ । तर हमासले दुई/दुई पटक बन्धकहरू छोडिसक्दा पनि जोशी भने पर्न सकेका छैनन् । इजरायलस्थित नेपाली दूतावासले जोशीको रिहाइबारे आफूहरू जानकारी नहुने बताएको छ ।

राजदूत कान्ता रिजालले कहिले रिहाइ हुन्छ भन्ने विषयमा आफूहरूलाई जानकारी नहुने बताइन् ।  ‘कहिले रिहा हुन्छन् भन्नेबारे हामीलाई केही जानकारी हुँदैन । रिहा हुने भयो भने केही समय अगाडि मात्रै हामीलाई जानकारी गराइन्छ ।’ उनले भनिन् ।  जोशीको रिहाइको लागि नेपालले कूटनीतिक पहल जारी राखेको छ ।

हमासले युद्ध सुरु गरेयता इजरेलले गरेको हमलामा १४,५०० जनाभन्दा बढी मारिएको गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । दुवै पक्षले युद्ध नसकिएको भन्दै लडाइँ पुनः सुरु हुने बताए तापनि अमेरिकी राष्ट्रपति जो बाइडनले अस्थायी युद्धविराम लम्बिन सक्ने वास्तविक सम्भावनाहरू रहेको बताएका छन् ।

तपाईको प्रतिक्रिया