शनिबार, आषाढ ०८, २०८१
Saturday, June 22, 2024

काठमाडौं – सरकारले सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर परिरहेको निष्कर्षसहित नेपालमा टिकटकको प्रयोगमा रोक लगाउन कात्तिक २७ गते मन्त्रिपरिषदबाट निर्णय गरेपछि समर्थन र विरोधमा बहस जारी छ ।

अन्य सामाजिक सञ्जालले कम्युनिटी गाइडलाइनविरुद्धका सामग्री हटाउने गरे पनि टिकटकले रियलटाइमका सामग्री हटाउन नसकेको बरु लाइभ भिडियोहरु रेकर्ड गरी अन्य सामाजिक सञ्जालमा समेत शेयर गर्ने गरेकाले टिकटकको नियमन सम्भव नभई प्रयोगमा नै रोक लगाउनुपरेको सरकारले स्पष्ट गरेको छ ।

सामाजिक सद्भाव र नागरिकको सुरक्षाका लागि टिकटकमा रोक लगाइएको सरकारको भनाइ छ । टिकटकले नागरिकको डाटा सुरक्षा गर्न नसकेको, नागरिकको गोपनीयताको हनन हुनु भनेको राष्ट्रिय सार्वभौमिकताकै लागि चुनौतीको विषय भएकाले पनि प्रयोगमै प्रतिबन्ध लगाउनुपरेको सरकारको भनाइ छ ।

राष्ट्रिय सुरक्षा प्रतिकूल केही प्रतिनिधिमूलक घटना

– केही समयअघि सुनसरीको धरानमा गोरु काटेर सामूहिक भोज गरेको भिडियो टिकटकमा पोष्ट भएपछि सामाजिक सद्भाव खल्बलिने घटना भई निषेधाज्ञा लगाउनु परेको ।

– नेपालगञ्जमामा मुस्लिम समुदायको भावनामा ठेस पुग्ने सामग्रीसहितका भिडियो पोष्ट भएपछि सामाजिक सद्भाव खल्बलिन गई निषेधाज्ञासम्मको घटना हुन पुगेको ।

– पछिल्लो समय टिकटक भिडियोका नाममा अश्लील भिडियो सार्वजनिक तथा अनैतिक क्रियाकलापका लागि मोलमोलाई हुने गरेको । त्यसका साथै लाइभमा अश्लील गतिविधि, जुवातास खेलाउने, गैरकानुनी विज्ञापन प्रसारणलगायतका गतिविधि बढिरहेको ।

– टिकटक लाइभ स्ट्रिमिङ गरी उपहार प्राप्त गर्न अनैतिक, अमर्यादित र असामाजिक गतिविधि बढ्दै गएको ।

– विभिन्न स्थान र विभिन्न मितिमा टिकटक भिडियो बनाउने क्रममा लडेर मृत्यु भएको । साथै केहीको पासो लगाएर टिकटक भिडियो बनाउने क्रममा झुण्डिएर मृत्युसमेत भएको ।

– भाइरल हुने नाममा परीक्षार्थीले परीक्षा काेठाभित्रको भिडियो समेत टिकटकबाट सार्वजनिक गरेको ।

 यी र यस्ता घटनाबाट अनैतिक र असामाजिक क्रियालापबाट वृद्धि हुँदै गएको ।

टिकटिकले सिर्जना गरेका अन्य चुनौती

– नागरिकको भौतिक सुरक्षाका लागि पनि टिकटक चुनौती बन्यो । साइबर अपराधका उजुरीमध्ये अधिकांश टिकटकसँग सम्बन्धित छन् ।

– टिकटकले प्रयोगकर्ताको रुचिअनुसारका अन्तहीन भिडियोहरू मोबाइलका स्क्रिनमा आउने गरी एलगोरिदम सेट गरेको हुनाले घण्टौंसम्म यसलाई चलाउने लतमा धेरै मानिस फस्दै गएको र जसबाट मानव स्वास्थ्यमा प्रतिकूल असर पुग्न गई अनिद्रा, एन्जाइटी, डिप्रेसनजस्ता समस्या देखिन थालेकाले मानव स्वास्थ्य बिग्रन नदिन टिकटकमा रोक लगाइएको हो ।

– बालबालिका तथा युवकयुवतीलाई गलत दिशातिर डोराउँदै विषाक्त मनोविज्ञानको सिर्जना गरिरहेकाले भोलिका कर्णधार बालबालिकाको भविष्यलाई ध्यान दिएर टिकटक प्रयोगमा रोक लगाइएको हो ।

– धार्मिक असहिष्णुता, जातीय क्षेत्र एकता, भौगोलिक अखण्डता तथा राष्ट्रियता र राष्ट्रिय सुरक्षामा चुनौती सिर्जना गरेको ।

– टिकटक प्रयोगकर्तामध्ये करिब ४५ प्रतिशत १२ देखि २४ वर्ष उमेर समूहका अध्ययनबाट देखिन आएकाले उक्त उमेर समूहका मानिस गलत प्रभावमा सजिलै पर्न सक्ने तथा भ्रामक छविमा रमाउने र महत्वाकांक्षी हुनेलगायत भाइरल हुने आकांक्षाले गलत दिशातिर मोडिने खतरा रहेको ।

– आपराधिक मानसिकताका व्यक्तिले टिकटक प्रयोगकर्ताको मनोविज्ञानको गलत फाइदा उठाई आपराधिक गतिविधिमा संलग्ने गराउने गरेको ।

– हाम्रो संस्कार, संस्कृति, प्रथा, प्रचलन, मूल्य, मान्यता तथा सामाजिक सद्भावविरुद्ध नकारात्मक प्रभावलाई बढावा दिएको । जसले हाम्रो पूर्वीय सभ्यतामाथि नै चुनौती थप्दै लगेको ।

– टिकटक प्रयोगको लत बसेर महत्वपूर्ण समय यसको प्रयोगमा बिताउँदा उत्पादकत्व वृद्धिमा समेत असर पुग्ने गरेको ।

– टिकटकको प्रयोगबाट आत्महत्या, गाली बेइज्जत, दुर्घटना, पारिवारिक बिखण्डनजस्ता समाजलाई नकारात्मक असर पुग्ने घटना बढिरहेको ।

–सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका जारी भए पनि यससम्बन्धी ऐन निर्माणको चरणमा रहेकाले कानुन नआउँदासम्म मन्त्रिपरिषद्को निर्णयले पनि कानुन सरहकै मान्यता पाउने भएकाले मन्त्रिरिषदबाट निर्णय गरिएको ।

– नेपालको संविधानको धारा २८ गते गोपनीयताको हक सुनिश्चित गरेको, कुनै पनि व्यक्तिको जीउ, आवास, सम्पत्ति, लिखत, तथ्यांक, पत्राचार र चरित्रसम्बन्धी विषयको गोपनीयताका कानुनबमोजिमबाहेक अनतिक्रम्य हुने उल्लेख गरेको छ ।

–व्यक्तिको गोपनीयतासम्बन्धी ऐन, २०७५ ले विद्युतीय प्रणालीहरुबाट भएको कुराकानीलाई पनि गोपनीयताको अधिकारभित्र राखेको । प्रत्येक व्यक्तिलाई विद्युतीय माध्यममा रहेको निजको कुनै पनि वैयक्तिक सूचना, लिखत, पत्राचार, तथ्यांक वा चरित्रसम्बन्धी कुराको गोपनीयता राख्न पाउने अधिकार हुने । कसैले पनि कुनै दुई वा दुईभन्दा बढी व्यक्तिबिचमा विद्युतीय माध्यमबाट भएको कुनै संवाद वा कुराकानी सम्बन्धित व्यक्तिहरुले मञ्जुरी दिएको कानुनबमोजिम अधिकार प्राप्त अधिकारीले आदेश दिएकोमा बाहेक कुनै यान्त्रिक उपकरणको प्रयोग गरी सुन्न वा त्यस्तो कुराको ध्वनिअंकन वा रेकर्ड गर्न वा गराउने नहुने स्पष्ट व्यवस्था रहेको ।

नेपालमा मात्र प्रतिबन्ध लगाइएको होइन सदुपयोग ज्यादा र दुरुपयोग अपवाद हुने देशहरुमा सामाजिक सञ्जालको सुसञ्चालन हुँदा नागरिकहरु बलिया हुने र सरकार जवाफदेही हुने विश्वास गरिन्छ । कतिपय त्यस्ता देशमा सामाजिक सञ्जाल प्लेटफर्महरु पनि स्वदेशी रहेछन् वा स्वदेशी एजेन्टको नियन्त्रणमा रहँदा रहेछन् । यी दुवै विषय हाम्रो देशको सन्दर्भमा भने मेल खाएको देखिँदैन । विभिन्न देशमा आफ्नो देशको अनुकूलतामा टिकटकमाथि आंशिक वा पूर्ण प्रतिबन्ध लगाउने गरिएको छ । स्वतन्त्रताको अगुवा देश अमेरिकाका ५० मध्ये ४० राज्यमा कुनै न कुनै किसिमको प्रतिबन्ध लागेको, छिमेकी देश भारतमा समेत प्रतिबन्धित छ । अझ चाखलाग्दो कुरा त के भने यसको शुरुवात भएको चीनमा समेत नियन्त्रित प्रयोग मात्र छ ।

अश्लीलता, मानव बेचबिखन, गलत सूचना अफवाह प्रवाह, राष्ट्रिय सुरक्षा, युवाको मानसिक स्वास्थ्यलगायतका कारण देखाउँदै हालसम्म नेपालसहित २८ देशमा टिकटकमाथि प्रतिबन्ध लगाइएको छ। टिकटकमाथि प्रतिबन्ध लगाउने देशहरु :

कीर्गिस्तान :  बालबालिकाहरूमा कुलत र मानसिक स्वास्थ विग्रेको कारण देखाउदै प्रतिबन्ध लगाएको हो।

बेलायत : सुरक्षाका कारण देखाउँदै प्रतिबन्ध लगाएको हो।

अमेरिका : सुरक्षाका कारण देखाउँदै सरकारी प्रणालीमा आवद्वता र सरकारी अधिकारीका लागी प्रयोगमा प्रतिबन्ध।

न्यूजिल्यान्ड : साइबर सुरक्षाको जोखिम देखाउँदै सरकारी प्रणालीमा आवद्वता र सरकारी अधिकारीका लागि प्रयोगमा प्रतिबन्ध।

क्यानडा : गोपनीयता र सुरक्षा जोखिम देखाउँदै सरकारी अधिकारीहरुका लागि प्रयोगमा प्रतिबन्ध।

ताइवान : राष्ट्रिय सुरक्षा जोखिम देखाउँदै प्रतिबन्ध ।

बेल्जियम : गोपनीयता, साइबर सेक्युरिटी र गलत सूचना प्रवाह हुने जोखिम देखाउँदै प्रतिबन्ध ।

डेनमार्क : साईवर सुरक्षा जोखिमका कारण सरकारी प्रणाली, निकायमा प्रयोग प्रतिबन्ध।

पाकिस्तान : जातीय तथा धार्मिक द्वन्द्व फैलाउने सुरक्षा जोखिम देखाउँदै प्रतिबन्ध ।

अफगानिस्तान : युवामा नकरात्मकता विकास हुने र जातिय धार्मिक द्वन्द्व फैलने जोखिम र ईस्लामिक कानून विपरीत देखाउँदै प्रतिबन्ध।

भारत : गोपनीयता, सुरक्षा जोखिमलगायत चिनियाँ अन्य एप प्रयोगमा प्रतिबन्ध।

सोमालिया : गलत अफवाह फैलाउने जोखिम देखाउँदै सीमित कन्टेन्ट पोस्ट बाहेक अन्य प्रतिबन्ध।

अर्मेनिया : विगत ३५ वर्षदेखि चलिरहेको नागोर्नो कारबाख युद्वलाई सहयोग पुग्ने र राष्ट्रिय सुरक्षा जोखिम देखाउँदै प्रतिबन्ध।

अजरवैजान : नागोर्नो कारबाख युद्वलाई सहयोग पुग्ने र राष्ट्रिय सुरक्षा जोखिम देखाउँदै प्रतिबन्ध ।

बंगलादेश : पोर्नोग्राफी, जुवाखेल र सुरक्षाको जोखिम देखाउँदै प्रतिबन्ध।

इन्डोनेसिया : धार्मिक द्वेष उत्पन्न हुन सक्ने खतरा र पोर्नोग्राफीको जोखिम देखाउँदै प्रतिबन्ध।

इरान : धार्मिक कारण देखाउँदै प्रतिबन्ध।

जोर्डन : प्रोटेस्टरलाई सहयोग पुग्ने र सुरक्षामा खतराको जोखिम देखाउँदै अस्थायीरूपमा प्रतिबन्ध।

अष्ट्रिया : अष्ट्रियाको इन्टिलेजेन्स सर्विसको प्रतिवेदनमा सुरक्षा जोखिम देखाउँदै प्रतिबन्ध।

इस्टोनिया : राष्ट्रिय सुरक्षा जोखिम देखाउँदै प्रतिबन्ध।

फ्रान्स : डेटा सुरक्षाको जोखिम देखाउँदै प्रतिबन्ध।

आयरल्यान्ड : साइबर सुरक्षा जोखिम देखाउँदै प्रतिबन्ध।

लाटभिया : सुरक्षा जोखिम देखाउँदै प्रतिबन्ध।

माल्टा : साइबर सुरक्षा जोखिम देखाउँदै सरकारी प्रणालीमा प्रयोग पूर्ण प्रतिबन्ध।

नेदरल्यान्ड : डाटा प्रोटेक्सन जोखिमका कारण सरकारी कर्मचारीले प्रयोगमा प्रतिबन्ध।

नर्वे : राष्ट्रिय सुरक्षा अथोरिटीको प्रतिवेदन अनुसार प्रम, मन्त्री, सचिव, राजनीतिक सल्लाहकारहरूले प्रयोगमा प्रतिबन्ध।

अष्ट्रेलिया : सुरक्षा जोखिमका कारण सरकारी अधिकारी, मन्त्री,सल्लाहकारले सरकारी डिभाइस र मोबाइलमा प्रयोगमा प्रतिबन्ध।

नेपाल : सामाजिक सद्‍भाव बिगार्ने काम गरेकाले प्रतिबन्ध।

तपाईको प्रतिक्रिया