Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – ४३ दिनदेखि विद्रोही हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीका बुबाआमाले छोराको रिहाइका लागि पहल गरिदिन परराष्ट्रमन्त्री एनपी साउदसित आग्रह गरेका छन् । मन्त्री साउदलाई शनिबार महेन्द्रनगरमा भेटेर विपिनका बुबा महानन्द जोशी तथा आमा पद्मा जोशीले सो आग्रह गरेका हुन् ।

‘चाँडोभन्दा चाँडो छोराको रिहाइका लागि नेपाल सरकारले पहल गरिदिनुपर्‍यो’, मन्त्री साउदलाई विपिनका बुबाआमाले भने, ‘छोराको चिन्ताले हामीलाई दिनरात सताइरहेको छ, जसरी पनि सरकारले सकुशल ल्याइदिनुपर्‍यो ।’

भीमदत्त नगरपालिका-३ घर भएका विपिनका बुबाआमाले यसअघि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीमार्फत मन्त्री साउदलाई ज्ञापनपत्र पठाएका थिए । भेटघाटका क्रममा मन्त्री साउदले विपिनको सकुशल रिहाइका लागि नेपाल सरकारले सक्दो पहल गरिरहेको जानकारी दिए । ‘कूटनीतिक माध्यमबाट विपिनको सकुशल रिहाइका लागि पहल जारी राखेका छौँ, हामी पनि यो घटनाबाट चिन्तित छौँ’, उनले भने ।

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायमा अध्ययनरत जोशी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत गत भदौ २७ गते इजरायल गएका थिए । सुदूरपश्चिम विश्वविद्यालयबाट उहाँसहित ४९ विद्यार्थी त्यहाँ गएका थिए । गत असोज २० गते हमास समूहले इजरायलमा आक्रमण गर्दा १० नेपाली विद्यार्थीको ज्यान गएको थियो । विपिनलाई भने हमासले कब्जामा लिएको थियो । कब्जामा लिएयता उनको कुनै खबर प्राप्त हुन सकेको छैन ।

बन्धक अवस्थामा रहेको आधार
इजरेलस्थित नेपाली राजदूत कान्ता रिजालले जोशीको मोबाइल गाजा क्षेत्रमा ‘ट्रेस’ भएको जानकारी आएपछि उनी बन्धक अवस्थामा रहेको आधार प्राप्त भएको बताइन् ।

उनले भनिन्, ‘सुरुमा हामीले नेपालबाट विपिन जोशीको परिवारका सदस्यहरूको डीएनए मगाएर पहिचान नभएका र उक्त हमलामा परेका शवहरूसँग त्यसलाई जुधाएर हेर्‍यौँ । कुनै पनि नचिनिएका शवहरूसँग उसको डीएनए मिलेन । त्यसपछि केही दिनमा हमासले बन्धक बनाएकाहरूलाई छुटाउनका निम्ति पहल गरिरहेका निकायहरूले हामीलाई उनको मोबाइल गाजा क्षेत्रमा ट्रेस भएको जानकारी गराए । त्यसका आधारमा उनी बन्धक भएको ठानिएको हो ।’

हमासले उक्त हमलापछि इजरेलीसहित अन्य देशका नागरिकहरूलाई पनि बन्धक बनाएको थियो । त्यसमध्ये केही देशका नागरिकहरूलाई उसले मुक्त गरे पनि अझै २३० भन्दा बढी बन्धकहरू गाजामै रहेको बताइएको छ । ती बन्धकमध्येमा विपिन जोशी पनि रहेको ठानिएको अधिकारीहरू बताउँछन् ।

परराष्ट्रमन्त्री साउदले जोशीलाई मुक्त गराउन अमेरिकाका परराष्ट्रमन्त्रीदेखि कतारका विदेशमन्त्रीसँग समेत आफूले कुराकानी गरेको बताएका छन् । ‘जोशीको गम्भीर चिन्ता गरिहरेका बेला गाजाको क्षेत्रमा बन्धक रहेको भन्ने आएको छ,’ उनले भने, ‘सुरक्षामा गम्भीर रूपमा ध्यान दिँदै सकुशल छुटाउन अमेरिकी परराष्ट्रमन्त्रीसित पनि आग्रह गरिएको छ ।’

उनले अन्तर्राष्ट्रिय रेडक्रशसित त्यसबारे कुराकानी गरेको र उनीहरूलाई पनि आवश्यक पहलका लागि आग्रह गरिएको बताए । ‘बन्धक रहेका जोशीलाई छुटाउन शनिबारमात्रै कतारका राजदूतसित छलफल भएको छ,’ उनले भने ।

तपाईको प्रतिक्रिया