Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – शंखरापुर नगरपालिका-३ लप्सीफेदीमा प्रहरीसँगको झडपमा संलग्न भएको भन्दै प्रहरीले १४ जनालाई पक्राउ गरेको छ । शुक्रबार राति चार जना र आज बिहान १० जना गरी १४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तामाकोशी हाइड्रोपावर पीडित संघर्ष समितिका अध्यक्ष रञ्जित तामाङसहित १० जना पक्राउ परेका छन् । शुक्रबार राति जयमान वाइवा, सूर्यमान तामाङ, सुनबहादुर वाइवा र हर्कमान वाइवा पक्राउ परेका थिए । नेपाल विद्युत प्राधिकरणले लप्सीफेदीमा निर्माण गर्ने सबस्टेसन र त्यसको सुरक्षा पोष्ट स्थापनाको विषयमा विवाद हुँदा शुक्रबार राति प्रहरी र स्थानीयबीच झडप भएको थियो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार सबस्टेसनको सुरक्षाका लागि जिल्ला सुरक्षा समितिको बैठकबाट प्रहरी नायब उपरीक्षक डीएसपीको नेतृत्वमा सशस्त्र प्रहरीको बेस क्याम्प र नेपाल प्रहरीको पोष्ट राख्ने निर्णय भएको थियो ।

सोही निर्णय बमोजिम शुक्रबार प्रहरीको टोली लप्सीफेदी पुगेको थियो । तर, स्थानीयले बाटोमा रूख ढालेर बाटो अवरुद्ध गर्नुका साथै सुरक्षाकर्मीहरूलाई ढुङ्गामुढा गर्दै आक्रमण गरेका थिए ।

स्थानीयको आक्रमणबाट सशस्त्र प्रहरीका डीएसपी देवराज राईसहित तीन सुरक्षाकर्मी घाइते भएको प्रमुख जिल्ला अधिकारी बस्नेतले जानकारी दिए । शंखरापुर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष सूर्यबहादुर तामाङले बस्तीको बीचमा सबस्टेसन निर्माण गर्न नहुने स्थानीयको माग रहेको बताए ।

उनका अनुसार शुक्रबार प्रहरी पुग्दा स्थानीयले आफ्ना माग दोहोर्याउँदै प्रदर्शन गरिरहेका थिए । त्यही क्रममा झडप भएको वडाअध्यक्ष तामाङको भनाइ छ ।  झडपमा संलग्न भएको भन्दै प्रहरीले १४ जनालाई पक्राउ गरेको छ ।

तपाईको प्रतिक्रिया