मंगलबार, मंसिर १९, २०८०
Tuesday, December 5, 2023

काठमाडौं – हेटौँडाको हुप्राचौरको एक झाडीमा सालनालसहित नवजात शिशु फेला परेको छ । बच्चा रोइरहेको आवाज सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सालनाल सहितको बच्चा यत्तिकै झाडीमा फालिदिँदा शिशुको खुट्टा र हातमा सामान्य घाउ लागेको छ ।

प्रहरीले उद्धार गरी अस्पताल पुर्‍याएको नवजात शिशुलाई मानवसेवा आश्रमले संरक्षणमा लिएर उपचार गराइरहेको छ । हेटौँडा अस्पतालमा उपचाररत शिशुको अवस्था भने सामान्य रहेको मानवसेवा आश्रम मकवानपुरकी संयोजक ईशा थापाले बताइन् । बच्चा कसले सडकमा ल्याएर फालेको हो, हालसम्म खुल्न सकेको छैन ।

यस सम्बन्धमा अनुसन्धमान चलिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक रुद्र पराजुलीले बताए । ‘यस वर्षको चाडपर्वमा कसैले बस्नु पर्दैन सडकमा’ मूल नाराका साथ मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनले गत असोज २७ गतेदेखि यही मङ्सिर ४ गतेसम्मका लागि विशेष अभियान सञ्चालन गरिरहेको छ ।

बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिकरुपमा कमजोर सडक आश्रित मानवको उद्धार, पारिवारिक पुनर्मिलनदेखि उनीहरुसँगै दसैँ, तिहार, छठजस्ता पर्व मनाउने गरी सो अभियान सञ्चालन गरिएको हो ।

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पूर्वपश्चिम राजमार्गसँग जोडिएका ४६ जिल्ला तथा बागमती र गण्डकी प्रदेशका केही जिल्लालाई लक्षित गरी अभियान सञ्चालन गरिएको मानव सेवा आश्रम केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए । उनका अनुसार यस क्रममा हालसम्म विभिन्न उमेर समूहका २९२ जनाको उद्धार गरिसकिएको छ ।

तपाईको प्रतिक्रिया