शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – सरकारले नेपालमा टिकटक बन्द गर्ने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको हो ।

रकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले टिकटकबाट सामाजिक सद्‍भाव विगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको बताइन् । मन्त्री शर्माका अनुसार टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा जानेछ, त्यसका लागि कुनै डेडलाइन तोकिएको छैन ।

प्राविधिक रूपमा तयारी पूरा भएपछि टिकटक बन्द गरिनेछ । अभिव्यक्ति स्वतन्त्रता आधारभूत अधिकार भए पनि जसले जसलाई जे बोले पनि हुने प्रवृत्ति बढेको भन्दै सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको हो । पछिल्लो ४ वर्ष ३ महिनाभित्रमा १ हजार ६ सय ४८ वटा साइबर अपराधका उजुरी दर्ता भएकोमा अधिकांश टिकटकसँग सम्बन्धित भएको तथ्यांक छ ।

फेक एकाउन्ट खोलेर जसले जसलाई जे पनि गर्न सक्ने र बदनाम गराउने सामग्रीलाई स्वतः हटाउने कुनै संयन्त्र टिकटकमा छैन। केही देशले टिकटकलाई प्रतिबन्ध नै लगाएका छन् भने अमेरिका, फ्रान्ससहित ५० भन्दा बढी विकसित देशले यसको नियमनका लागि कदमहरू चालेका छन् ।

बच्चादेखि वृद्धवृद्धासम्म जुनसुकै उमेर र पेसाकाले सर्वाधिक प्रयोग गर्ने टिकटकले नेपालमा पनि मनोसामाजिक समस्या ल्याएको देखिएपछि गृह मन्त्रालय कुनै न कुनै हिसाबले टिकटकको नियमन गर्ने अवस्थामा पुगेको हो । साइबर ब्युरो, गृह मन्त्रालय र टिकटकका अन्तर्राष्ट्रिय प्रतिनिधिबीच गत हप्ता पनि यस विषयमा छलफल भएको थियो ।

तपाईको प्रतिक्रिया