Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – श्लोक वाचिका सरु गुरागाईं क्यान्सरमुक्त भएकी छन् । करिब १ वर्ष लामो उपचारपश्चात गुरागाईं थाइराइडको क्यान्सरबाट मुक्त भएकी हुन् ।

सरुका श्रीमान् मुरारी गुरागाईंले चिकित्सकलाई उद्धृत गर्दै उपचारका कैयौं असर यथावत् नै भए पनि अब शरीरमा थाइरोइड क्यान्सरका कुनै पनि अवशेष बाँकी नरहेको जनाएका छन् । मुरारीले रोगभन्दा यसको उपचार धेरै कठिन रहेको अनुभव साट्दै १० दिनको पूर्ण आइसोलेसन समाप्तिसँगै सरु पूर्ण स्वस्थ भएको उल्लेख गरेका छन् ।

‘करिब एक वर्ष लामो उपचारपछि आज तिमी क्यान्सर मुक्त भएकी छौ। रोगभन्दा यसको उपचार धेरै कठिन रहेछ। आज यो सबै प्रक्रिया पूरा भएको छ। १० दिनको पूर्ण आइसोलेसन समाप्तिसँगै तिमी पूर्ण स्वस्थ भएकी छौ,’ मुरारीले सामाजिक सञ्जालमा खुसी बाँड्दै लेखेका छन् ।

उपचारमा सहभागी चिकित्सकसँगै साथ–सहयोग गर्ने सबैप्रति मुरारीले धन्यवाद तथा आभार प्रकट गरेका छन् । सरुको उपचारमा आर्थिक सहयोग आह्वान भएपछि विश्वभर रहेका नेपालीले सहयोग गरेका थिए ।

‘यो सम्पूर्ण उपचारको सिलसिलामा हामीसँगै जोडिनुहुने सबै आदरणीय महानुभावमा हार्दिक आभार। साथै उपचारमा प्रत्यक्ष रूपमा सहभागी डाक्टर तथा नर्सहरूमा हार्दिक धन्यवाद। यहाँहरू सम्पूर्ण दर्शक शुभचिन्तकहरू जसले सदैव प्रार्थना गर्नुभयो यहाँहरू लाई पनि हार्दिक आभार,’ मुरारीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

मुरारीले छिट्टै फेसबुक लाइभमा जोडिने प्रतिबद्धता पनि जाहेर गरेका छन् । सरुमा क्यान्सर संक्रमण हुनुपूर्व उनीहरू सांगीतिक प्रस्तुतिसहित फेसबुक कार्यक्रममा जोडिने गरेका थिए । उनीहरूले दिने प्रस्तुतिलाई विश्वभर छरिएर रहेका नेपालीले निकै रुचाउँदै आएका छन् । खासगरी कोरोना महाव्याधि कालमा रामायण र महाभारतलाई विश्वभरका नेपालीमाझ पुर्याएको जस सरुलाई दिने गरिन्छ ।

तपाईको प्रतिक्रिया