Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – रौटहट गरुडाको एक क्लिनिकले अनधिकृत रुपमा पाठेघरको अप्रेसन गर्दा एक महिलाको मृत्यु भएको छ । पेट दुखेर उपचारको लागि पुगेकी महिलाको अप्रेसनको क्रममा मृत्यु भएपछि प्रहरीले उपचारमा संलग्न क्लिनिकका स्वास्थ्यकर्मीलाई पक्राउ गरेको हो ।

रौटहटको चन्द्रपुर नगरपालिका-७ मुस्लिम टोल बस्ने शेख इदरहिमकी पत्नी ३० वर्षीया नुरजहान खातुन पेट दुखेपछि उपचारको लागि यही कात्तिक २० गते गरुडा-८ स्थित इमर्जेन्सी जनसेवा हस्पिटल प्रालिमा पुगेकी थिइन् । इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी ओम खनालका अनुसार सोमबार बिहान ११ बजे क्लिनिकमा पुगेकी खातुनलाई स्वास्थ्यकर्मीले सोही दिन दिउँसो २ बजे पाठेघर झिकेर फालिदिएपछि उनको मृत्यु भएको हो ।

पाठेघर झिकेर फालेपछि खातुनको अवस्था चिन्ताजनक भएको थियो । त्यसपछि सोमबार साँझ स्वास्थ्यकर्मीले ती महिलालाई वीरगञ्ज रेफर गरेको बुझिएको छ । वीरगञ्जको मेट्रोसिटी हस्पिटल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

दक्ष चिकित्सकबिनै सञ्चालनमा रहेको क्लिनिककले अनधिकृत रुपमा पाठेघरको अप्रेसन गरेको पाइएको डीएसपी खनालले बताए । ‘क्लिनिकमा एमबीबीएस डाक्टरसमेत छैनन्। भिडिओ एक्स रे, आईसीयू लगायत कुनै पनि उपकरण र सुविधासमेत त्यहाँ रहेनछ। एचएको भरमा चलेको क्लिनिकमा जटिल खालको अप्रेसन गरेको पाइयो,’ डीएसपी खनालले भने, ‘हामीले उपचारमा संलग्न क्लिनिकका एचए चन्द्रदेव महरालाई पक्राउ गरेका छौँ । क्लिनिक सञ्चालकसहित बाँकी स्वास्थ्यकर्मी फरार छन् । उनीहरुको खोजी भइरहेको छ ।’

महिलाको शव पोष्टमार्टमको लागि प्रहरीले काठमाडौँको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याएको छ । गम्भीर प्रकृतिको घटना भएकाले शव परीक्षणको लागि काठमाडौँ पठाइएको डीएसपी खनालको भनाई छ ।

तपाईको प्रतिक्रिया