सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – अन्ततः नेपालमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनमा आएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले दर्ता नभएका आईफोन १५ सिरिजका फोन लक गर्दै एमडीएमएस लागू गरेको हो । प्राधिकरणका अनुसार एमडीएमएसमा दर्ता नभएका ८०४ ओटा आईफोन १५ सिरिजका फोनमा सोमबार राति ९ बजेदेखि दूरसञ्चार सेवा बन्द भएको छ ।

आईफोन १५ सिरिज अन्तर्गत करिब एक हजार डिभाइसमा एमडीएमएसमा दर्ता हुन १५ दिनअघि एसएमएस पठाइएको थियो । त्यसमध्ये ८०४ डिभाइस ताेकिएकाे समयभित्र दर्ता नभएकाले बन्द गरिएको प्राधिकरणले जनाएको छ । यी फोनमा दूरसञ्चार सेवा अर्थात् नेपाल टेलिकम वा एनसेलको सिम सपोर्ट हुनेछैन । यद्यपि प्रयोगकर्ताले वाई-फाई सेवा भने चलाउन सक्नेछन् । प्राधिकरणले अर्को चरणमा एमडीएमएसमा दर्ता नभएका अन्य हाई इन्ड तथा महँगा फोनहरूमा यो प्रणाली लागू हुने जानकारी दिएको छ ।

यसअन्तर्गत प्राधिकरणले एमडीएमएसमा दर्ता नगरी प्रयोगमा आएका फोनमा १५ दिनको म्याद राखी तोकिएको दस्तुरसहित दर्ता गर्न एसएमएसमार्फत आग्रह गर्नेछ । सो अवधिमा दर्ता नहुने डिभाइस नियामनुसार ब्लक हुनेछन् । दर्ता गर्नका लागि एक लाख रुपैयाँभन्दा बढी मूल्यका लागि प्रति फोनसेट १० हजार रुपैयाँ राजस्व कायम गरिएको छ । त्यस्तै अन्य स्मार्टफोनका लागि प्रति फोनसेट तीन हजार रुपैयाँ र स्मार्ट मोबाइल फोनसेट बाहेकका अन्य साधारण मोबाइलका लागि प्रति सेट २०० रुपैयाँ राजस्व भुक्तानी गरी एमडीएमएस प्रणालीमा दर्ता गर्न सकिनेछ ।

ब्लक भएका फोनका लागि एमडीएमएसमा दर्ता गर्ने अर्काे प्रक्रिया नभएकाले नेपालमा यी डिभाइस नचल्ने प्राधिकरणले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया