शुक्रबार, मंसिर २२, २०८०
Friday, December 8, 2023

काठमाडौं – मकवानपुर जिल्लाबाट पहिलो पटक दुई जना गैरआवासीय नेपालीले नागरिकता लिएका छन् । बुधबार प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाइले हेटौंडा-११ की सन्जिता बिडारी र हेटौंडा-५ का श्रीकृष्ण थापालाई गैरआवासीय नेपाली नागरिकता प्रदान गरेका हुन् ।

१५ वर्षदेखि अस्ट्रेलियामा बसोबास गर्दे आएका थापा र बिडारी श्रीमान्-श्रीमती हुन् । थापा दम्पती मकवानपुरबाट गैरआवासीय नेपाली नागरिकता पाउने पहिलो हुन् । नागरिकता प्राप्त गरेपछि उनीहरूले देश र जनताको नाममा शपथ लिएका थिए ।

गैरआवासीय नेपाली नागरिकता पाएपछि उनीहरुले खुसी व्यक्त गरेका छन् । ‘दु:खसुखको क्षणबाट गुज्रिएपछि विदेशको नागरिकता लिए पनि अहिले फेरि नेपालको नागरिकता लिन पाउँदा हामीलाई एकदमै खुसी लागेको छ। यसले हामीलाई विदेशमा रहेर पनि नेपालको जुन माया छ त्यसलाई अझ प्रगाढ बनाउनेछ भन्ने विश्वास लिएको छु,’ नागरिकता लिएपछि श्रीकृष्ण थापाले भने ।

गत जेठमा संशोधन भएको नागरिकता सम्बन्धी ऐनअनुसार सरकारले नियमावली स्वीकृत गरेपछि गैरआवासीय नेपालीले नागरिकता पाउने बाटो खुलेको हो ।

तपाईको प्रतिक्रिया