Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – जापानको एक अस्पतालमा मङ्गलबार गोली चल्दा कम्तीमा दुई जना घाइते भएका छन् भने एक संदिग्ध बन्दुकधारीले कम्तीमा एक जनालाई बन्धक बनाएर राखेको प्रहरीले जनाएको छ । प्रहरीले घटना लगत्तै घटनास्थल नजिकैको हुलाक कार्यालय घेराउ गरेको छ ।

टिभी फुटेजमा ८० वर्ष काटेका संदिग्ध व्यक्ति टोकियोबाहिर वाराबीमा घाँटीमा डोरीमा बाँधिएको बन्दुकजस्तो देखिने भवनभित्र रहेको देखिएको छ । उनको उद्देश्य स्पष्ट नभए पनि अस्पतालको उक्त घटनामा उनी पनि संलग्न रहेको प्रहरीको अनुमान छ र सञ्चारमाध्यममा आएका रिपोर्टअनुसार आवासीय भवनमा भएको बन्दूक आक्रमणमा पनि उनको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानपछि जानकारी प्राप्त भएको छ ।

शहरको प्रशासन अधिकारीहरूले आफ्नो वेबसाइटमा भनेका छन्, ‘स्थानीय समयअनुसार आज दिउँसो २ः१५ बजे एक व्यक्तिले एक महिलालाई बन्धक बनाएर वाराबी शहरको चुओ ५ चोमे क्षेत्रमा रहेको हुलाक कार्यालयमा लुकेर बसेका थिए । अपराधीसँग बन्दुक जस्तो देखिने वस्तु छ ।’ ‘घटनास्थल नजिकका नागरिकलाई प्रहरीको निर्देशन पालना गर्न र प्रहरीको निर्देशनअनुसार उक्त ठाउ छोड्न आग्रह गरिएको छ ।’

टेलिभिजन फुटेजमा बन्धक बनाइएकी २० वर्षीया एक महिला साँझ ७ः३० बजेभन्दा केही समयअघि नै हुलाकबाट बाहिर निस्केको देखिन्छ । अझै कति जनालाई पक्राउ गरिएको छ भन्ने यकिन नभए पनि यसअघि ३० वर्षीया एक महिला भित्र रहेको बताइएको थियो । एनटिभीका अनुसार प्रहरीले ती व्यक्तिसँग टेलिफोनमा कुरा गरिरहेको छ ।

योमिउरी दैनिकले यसअघि करिब १० जना हुलाक कर्मचारी भवनभित्र रहेको र शङ्कास्पद व्यक्तिले मट्टितेल बोकेको हुनसक्ने उल्लेख गरेको थियो । रात पर्न थालेपछि तीन तल्ले भवनको चारैतिर आपतकालीन बत्ती बलेका प्रहरीका थुप्रै गाडीहरू फुटेजमा देखिन्छ । स्थानीय बासिन्दा ७० वर्षीय टेट्सुओ सासाकीले एएफपीसँग भने, ‘यो शान्त बस्ती हो । यस्तो के भइरहेको मलाई विश्वास लागिरहेको छैन ।’

उनकी ६४ वर्षीया श्रीमती रेइको सासाकीले भनिन्, ‘मैले हिजो मात्र त्यो पोस्ट अफिस प्रयोग गरेको थिएँ। यदि हिजो नगएको भए म गलत समयमा गलत ठाउँमा हुन सक्थें र निशानामा पर्न सक्थें ।’

यसअघि टोडाको नजिकैको एक अस्पतालमा सडकबाट गोली चलाउँदा दुई जना सामान्य घाइते भएका थिए जसमा एक चिकित्सक र एक बिरामी रहेको बताइएको छ । शहरका एक अधिकारीले एएफपीसँग भने, ‘प्रहरीका अनुसार ती व्यक्ति अस्पतालमा आक्रमण गरेपछि हुलाक कार्यालयमा आएका थिए ।’

‘दिउँसो १ः०० बजेपछि मैले एउटी महिलाले ‘कृपया कोही आउनुहोस्’ भनेर चिच्याएको सुनेँ र त्यसतर्फ जानलाग्दा त्यही समय एक नर्सले मलाई ‘झ्यालबाट टाढै बस्नुहोस् र आफ्नो टाउको निहुराउनुहोस्,’ भनिन् अस्पतालभित्र रहेका ६० वर्षीय एक पुरुषले एनएचकेलाई बताए । उनले भने, ‘दिउँसो २ बजेतिर मैले डाक्टरको कार्यालयभित्र हेरेँ र एउटा जाँच तालिकाको छेउमा रगतको आहाल देखेँ। मैले गोली चलेको आवाज सुनेको थिइनँ । तर एक नर्सले आफूले दुई पटक गोली चलेको आवाज सुनेको बताएकी छिन् ।’

फुजी टिभीका अनुसार टोडाको एक अपार्टमेन्टमा भएको आक्रमण र ती व्यक्तिबीच सम्बन्ध रहेको आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ। आक्रमणमा परी कसैको मृत्यु भने नभएको समाचारमा बताइएको छ । जापानमा बन्दुकको स्वामित्वसम्बन्धी कडा नियमका कारण हिंसात्मक अपराध विरलै हुने गरेको छ, तर अझै यदाकदा यस्ता घटनाहरू हुनेगर्छन् ।

गत वर्ष पूर्वप्रधानमन्त्री शिन्जो आबेको गोली हानी हत्या गरिएको थियो भने यो अप्रिलमा एक व्यक्तिले टाढैबाट वर्तमान् प्रधानमन्त्री फुमियो किशिदालाई लक्षित गरी विष्फोटक पदार्थ प्रहार गरेका थिए । एएफपी

तपाईको प्रतिक्रिया