शुक्रबार, मंसिर १५, २०८०
Friday, December 1, 2023

काठमाडौं – गोली प्रहारबाट सोमबार मृत्यु भएका बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफको मङ्गलवार हिन्दु परम्पराअनुसार दाह संस्कार गरिएको छ । पसहा खोलामा उनको अन्तिम संस्कार गरिएको हो ।

यसअघि एन प्याब्सनका पदाधिकारीले संस्थाको झन्डा ओढाई सर्राफमा श्रद्धाञ्जली अर्पण गरेका थिए । मृतक सर्राफको श्रीमतीसहित दुई छोरा छन् । उनलाई श्रद्धाञ्जली अर्पण गर्न ठूलो संख्यामा शुभचिन्तकहरू कलैया उपमहानगरपालिका वडा नम्बर ६ स्थित निवासमा पुगेको थिए ।

कलैया उपमहानगरपालिकाका प्रमुख विनोद साह, नेकपा (माओवादी केन्द्र)का युवा नेता मुकेश साह, नेपाली कांग्रेसका युवा नेता लुकेश सिंहलगायत विभिन्न राजनीतिक दलका नेता, नागरिक अगुवा, निजी तथा सामुदायिक विद्यालयका शिक्षक शिक्षिका, आफन्तजन, पत्रकार, सुरक्षाकर्मीलगायतले सर्राफको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका थिए ।

उपमहानगरपालिका भित्रका शिक्षक तथा पेशागत विभिन्न संघ–संगठनहरुले घटनाको निन्दा गर्दै शोक मनाउने निर्णय गरेका छन् । यस्तै बारा उद्योग वाणिज्य संघले पनि एक विज्ञप्ति जारी गर्दै हत्याको विरोधमा बजार बन्द गर्न आह्वान गरेको छ । संघका अध्यक्ष राजकुमार साहद्वारा जारी विज्ञप्तिमा मङ्गलवार साँझसम्म बजार बन्द गरी सहयोग गर्न उद्योगी तथा व्यापारीहरुसँग अपिल गरिएकाले अहिले बजार पूर्णरूपमा बन्द छ ।

एन प्याब्सनले पनि सोमबार नै विज्ञप्तिमार्फत उक्त घटनाको निन्दा गर्दै दोषीलाई कार्यवाहीको दायरामा ल्याउन माग गर्नाका साथै २४ घण्टाभित्र वास्तविक अपराधी समात्न नसके चरणबद्ध आन्दोलन गर्ने जनाएको छ ।

कलैयामा रहेको बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल सर्राफमाथि सोमबार दिउँसो करिब १ बजे अज्ञात समूहले तीन वटा गोली प्रहार हत्या गरेकाले जिल्लावासीमा त्रासको वातावरण छाएको छ । कलैयास्थित मदर्शा टोलमा दुईवटा नेपाली मोटरसाइकलमा आएका चार जना अज्ञात व्यक्तिले तीन राउण्ड गोली सर्राफलाई हानेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुश काफलेले जानकारी दिए । हत्या गरिएको ठाउँ जिल्ला प्रहरी कार्यालयभन्दा पाँच मिनेटको दूरीमा पर्दछ ।

गोली लागेर सख्त घाइते सर्राफलाई कलैया प्रादेशिक अस्पताल उपचार हुन नसकेपछि थप उपचारका लागि वीरगञ्जस्थित बयोधा अस्पतालमा लगिएको र उपचारका क्रममा उनको मृत्यु भएको उनले जानकारी दिए । पक्राउ परेकी बाराको कलैयाकी सृष्टि महतो ९नाम परिवर्तन० आफ्नै मामाका छोरा मनोज गुप्ता ९भारतीय नागरिक० सँग प्रेम सम्बन्धमा थिइन् । तर, सृष्टिले जब कलैयास्थित बालएकता माविमा लेखापालको जागिर पाइन्, त्यसपछि मनोजसँग टाढिइन् ।

सोही विद्यालयका सञ्चालक तथा प्रिन्सिपल रूपेश सर्राफसँग सृष्टिको अफेयर सुरु भयो । सृष्टिले छाडेपछि मनोज आक्रोशित बने । उनी पटक–पटक सृष्टिको विद्यालयमा जाने गर्थे । प्रिन्सिपल सर्राफले उनलाई यसरी बारम्बार आफ्नो विद्यालयमा नआउन दबाब दिए । प्रहरीका अनुसार एक दिन उनले पूर्व प्रेमिका सृष्टिलाई विद्यालयमै कुटपिट मात्रै गरेनन्, प्रिन्सिपल सर्राफलाई आफ्नो प्रेमिका खोसेको भन्दै मार्ने धम्की दिए । लफडा भएपछि रूपेशले पनि सृष्टिलाई जागिरबाट निकालिदिए । त्यसपिछ सृष्टि रूपेशसँग पनि रिसाइन् ।

मनोजले यसअघि दुई पटक सर्राफको हत्या प्रयास गरेको प्रहरीले जनाएको छ । एक पटक साउन १३ गते र अर्को पटक भदौ २८ गते उनलाई कलैया गोली हान्न खोजिएको थियो । त्यसबेला सर्राफ भागेर जोगिएका थिए । यसरी हत्या प्रयास हुँदा पनि सर्राफले प्रहरीमा उजुरबाजुर गरेनन् । विवाहित भएकाले उनी आफूहरूको प्रेम सम्बन्ध सार्वजनिक होला कि भन्ने डरमा थिए ।

अर्कोतिर सृष्टि पनि आफूमाथि भारतीय नागरिकले कुटपिट गर्दा प्रहरीमा गइनन् । उनलाई पनि विवाहित पुरुषसँग प्रेममा रहेको विषय बाहिर आउने डर थियो । सृष्टि र मनोज अविवाहित हुन् । अन्ततः भारतीय सुटर प्रयोग गरी सोमबार दिन दहाडै गोली हानेर हत्या गरिदिए । हत्यामा संलग्न भएको आरोपमा बारा प्रहरीले मनोजसहित ३ जना भारतीय, सृष्टि, र उनकी दिदीसहित १० जनालाई पक्राउ गरेको छ । उनीहरूलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने एसपी सुरेश काफ्लेले जानकारी दिएका छन् ।

प्रेम सम्बन्धका कारण सर्राफको हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । यसअघि गत साउन २८ गते कलैयाको एक होटलमा सर्राफको हत्याको प्रयास गरिए पनि त्यति बेला उनी बाँच्न सफल भएको पक्राउ परेकाहरूले प्रहरी समक्ष बयान गरेको दिएको अनुसन्धानमा खटिएका एक प्रहरीले जानकारी दिए । घटनामा संलग्न एक युवतीसहित तीन नेपाली र तीन भारतीयलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ । सो घटनामा अन्य थप दुई जनाको पनि संलग्नता हुनसक्ने प्रहरीको अनुमान छ । अहिले १० जनालाई नियन्त्रणमा लिएर घटनाको बारेमा सुक्ष्मरुपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया