शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

टोकियो – जापानी वैज्ञानिकहरूले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन आईएसएसमा मुसाको भ्रूणको विकास गरेका छन् । वैज्ञानिकहरूका अनुसार पहिलो अध्ययनमा सामान्य रूपमा भ्रूणको विकास भएको छ र यसले मानिसका लागि अन्तरिक्षमा प्रजनन् गराउन सम्भव हुन सक्ने सङ्केत दिएको छ ।

यामानाशी विश्वविद्यालयको एड्भान्स्ड बायोटेक्नोलोजी सेन्टरका प्राध्यापक तेरुहिको वाकायामा र जापान एयरोस्पेस स्पेस एजेन्सी जेएएक्सएको एउटा टिमसहितका अन्वेषकहरूले सन् २०२१ अगस्टमा एउटा रकेटमा जमेको मुसाको भ्रूणलाई आईएसएसमा पठाएका थिए ।

अन्तरिक्षयात्रीहरूले सोही उद्देश्यले डिजाइन गरिएको विशेष उपकरणको प्रयोगले प्रारम्भिक चरणमा भ्रूणहरूलाई पगाले र तिनीहरूलाई चार दिनसम्म स्टेसनमा विकसित गरे । ‘सूक्ष्म गुरुत्वाकर्षणको परिस्थितिमा विकसित भएका भ्रूण सामान्यतया ब्लास्टोसिस्टमा विकसित हुन्छन्, ब्लास्टोसिस्ट त्यस्तो कोषिका हो, जुन प्लेसेन्टामा विकसित हुन्छ,’ वैज्ञानिकहरूले भनेका छन् ।

शनिबार वैज्ञानिक पत्रिका आईसाइन्समा अनलाइन प्रकाशित एक अध्ययनमा अन्वेषकहरूले भनेका छन्, ‘प्रयोगबाट के स्पष्ट भएको छ भने भ्रूणको विकासमा गुरुत्वाकर्षणको कुनै उल्लेखनीय असर थिएन ।’

उनीहरूले पृथ्वीमा प्रयोगशालामा फिर्ता पठाइएको ब्लास्टोसिस्टको विश्लेषण गरेपछि डीएनए र जिनको स्थितिमा कुनै उल्लेखनीय परिवर्तन नभएको पनि बताएका छन् । ‘यो पहिलो अध्ययनले अन्तरिक्षमा स्तनधारी फस्टाउन सक्छन् भन्ने देखाएको छ,’ यामानाशी विश्वविद्यालय र राष्ट्रिय अनुसन्धान संस्थान रिकेनले संयुक्त विज्ञप्तिमा भनेका छन्, ‘आईएसएसको पूर्ण सूक्ष्म गुरुत्वाकर्षणअन्तर्गत प्रारम्भिक चरणमा स्तनधारी भ्रूणहरूको सम्वर्द्धन गरिएको विश्वमा यो पहिलो प्रयोग हो ।’

तपाईको प्रतिक्रिया