सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – लगातार आम्दानी घट्न थालेपछि नोकियाले १४ हजार कर्मचारीको निकाल्ने भएकाे छ । कम्पनीले एक विज्ञप्ति जारी गर्दै बजार कमजोर भएको कारण ठूलो मात्रामा कर्मचारी कटौती गर्न लागेको बताएको हो । सन् २०२३ काे तेस्रो त्रैमासिक (जुलाई, अगस्ट र सेप्टेम्बर) मा गत वर्षकाे साेही अवधिभन्दा १५ प्रतिशतले नाफा गिरावट आएको कम्पनीले जनाएको छ ।

फिनल्याण्डको दूरसञ्चार कम्पनी नोकियाले कर्मचारी कटौती गर्दा लागतको आधार घट्ने र चुनौतीपूर्ण बजारलाई सम्बोधन गर्न सकिने अपेक्षा गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनबीसीका अनुसार कम्पनीले आफ्नो लागत आधारलाई कूल आधारमा २०२३ देखि ८०० मिलियन यूरो र २०२६ को अन्त्यमा एक अर्ब २० करोड युरोको बीचमा घटाउने लक्ष्य राखेको छ ।

यसको अर्थ उक्त समयमा कम्पनीमा भएका कूल ८६ हजार कर्मचारीबाट घटाएर ७२ हजारदेखि ७७ हजार पुर्‍याउनेछ । नोकियाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार तेस्रो त्रैमासिकमा कम्पनीको कूल बिक्री गत वर्षको तुलनामा २० प्रतिशतले घटेको थियो । यसलाई रकममा हेर्ने हो भने चार अर्ब ९८ करोड युरो हुन जान्छ । त्यस्तै बिक्री घट्दा सोही अवधीमा कम्पनीको नाफा ६९ प्रतिशत अर्थात् १३ करोड ४० लाख युरोले घटेको छ ।

विश्वव्यापी रूपमा बढ्दै गएको आर्थिक मन्दी र मोबाइल अपरेटरहरूले गरेको पूर्वाधार खर्च कटौतीबाट विश्वको सबैभन्दा ठूलो दूरसञ्चार उपकरण निर्माताहरू मध्येको एक नोकिया पनि प्रभावित छ ।

 

तपाईको प्रतिक्रिया