शुक्रबार, आषाढ ०१, २०८१
Friday, June 14, 2024

मानसिक समस्या समाधान जापान आफ्नै लागि पनि चुनौतीको विषय बनिरहेको छ । जापानिज मात्रै होइन, विदेशीहरुको आत्महत्या दर पनि जापानमा उच्च छ। तर जापान सरकारले विदेशीहरुको आत्महत्यालाई छुट्टै तथ्यांक बनाएर राख्दैन । त्यसको कारण खोज्ने क्रममा थाहा भयो, जापानमा धेरै कोरियन र चाइनिजले आत्महत्या गर्ने रहेछन् । विदेशीहरुको आत्महत्याको छुट्टै तथ्यांक राख्दा त्यहाँको जीवनशैली कठिन बन्दै गइरहेको सन्देश विश्वमाझ पुग्छ । जापान सरकार त्यस्तो होस् भन्ने चाहँदैन ।

मैले सन् २००८ मा नेपालीहरुले जापानमा आत्महत्या गरेको तथ्यांक खोजेको थिएँ । त्यो वर्ष मात्रै ८ जना नेपालीले आत्महत्या गरेको तथ्यांक फेला पर्‍यो । त्यतिबेला नेपालीको संख्या जम्मा १५ हजार थियो । त्यो विषयलाई लिएर जापानी समुदायमा अपिल गर्न ‘जापान टाइम्स’मा लेख लेखेँ । त्यतिबेलाका प्रधानमन्त्री शिन्जो आबेलाई सम्बोधन गरेर जापानमा बस्ने विदेशीहरुको मानसिक स्वास्थ्यका लागि सरकारको ध्यानाकर्षण गराएँ । त्यो लेख निकै चर्चित भयो ।

मानसिक समस्याको कारण
त्यो बेला जापानभरि नै मैले मानसिक स्वास्थ्यलाई लिएर १५/१६ वटा वर्कसप गरेँ। रेस्टुरेन्टमा काम गर्ने नेपालीले दिउँसो फुर्सद नपाउने भएपछि राति १२ बजेदेखि वर्कसप सुरु गरिन्थ्यो । त्यो क्रममा मैले दुई वटा समस्या देखेँ । एक- नेपालीले नेपालबाटै मानसिक स्वास्थ्य समस्या बोकेर गएका छन् । जस्तो, बैंकबाट ऋण लिएर त्यहाँ पुगेका छन् । श्रीमती र परिवारसँग छुट्टिएर बसेका छन् । ठूलो सपना देखाइएको छ तर त्यो पूरा हुने सम्भावना न्यून छ। अर्थात् त्यहाँ पुगेपछि समस्या बढे पनि मुल कारण भने नेपालबाटै सिर्जना भएको छ ।

अर्को, स्वास्थ्यमा पहुँच । सामान्य परामर्शबाट निको हुने समस्यामा पनि उनीहरुले उपचार पाएनन् । उनीहरुलाई उपचारबारे जानकारी छैन । भाषामा समस्या छ। जस्तो, त्यहाँ कुक भिसामा गएकाहरु छन् । उनीहरु जापानिज भाषा जान्दै जान्दैनन् । विद्यार्थी भिसामा पुगेकाहरुले जापानिज भाषा जान्दछन् तर उनीहरुलाई मेडिकल विषयमा जानकारी हुँदैन ।

विद्यार्थीका समस्या
जापानमा विद्यार्थी अर्थात् १८ देखि २५ वर्षकोलाई बढी भिसा लाग्छ । त्यहाँ विद्यार्थी कस्ता गएका छन् भने चिया पकाउन समेत जान्दैनन् । खाएको थाल समेत परिवारले उठाइदिने परिवेशबाट त्यहाँ पुगेका छन् । तर अब आफ्ना लागि सबै काम आफैंले गर्नुपर्‍यो। परिवारको ऋण, भाषा, स्कुलको शुल्क र आफ्ना लागि कमाउनुपर्‍यो । जुन कुरामा उनीहरु अभ्यस्त नै हुँदैनन् । त्यहाँ पानीभन्दा सस्तो अल्कोहल हुन्छ । तनाव बढ्यो कि त्यो उमेरकाले समाधानका रुपमा अल्कोहल प्रयोग गर्छन् । विस्तारै उनीहरुमा समस्या बढ्न थाल्छ । स-साना समस्या समाधानमा समेत अभिभावकको मुख ताक्नुपर्ने भएपछि विद्यार्थी आत्तिन्छन् । मानसिक समस्याको समाधान खोज्ने कुरा सिकाइएको छैन । आत्महत्या नै रोज्छन् ।

अर्को, कामको कुरा पनि छ । नेपालमा झाडु-पोछा लगाउने लगाउने जस्ता कामलाई राम्रो दृष्टिले हेरिँदैन । त्यहाँ पुगेपछि सिप नसिकेको मान्छेले गर्ने त्यही तहको काम हो । उनीहरुलाई लाग्छ- म त कत्रो सपना बोकेर के गर्न आएको, यहाँ यस्तो गर्नुपरेको छ । त्यसले पनि मानसिक समस्या सिर्जना गर्छ ।

कुकको समस्या
कुक भिसा भनेको मेरो दृष्टिमा आधुनिक जमानाको मानव बेचबिखन नै हो । ९० प्रतिशत कुक १५ देखि २० लाख तिरेर त्यहाँ पुग्छन्। उनीहरु गएर त्यहाँ काम गर्छन्। एउटा कुकले राम्रै रेस्टुरेन्टमा काम गर्दा पाउने एक लाख रुपैयाँ हो। उसले १५ लाख रुपैयाँ खर्च गर्‍यो भने १५ लाख कमाउन ३० महिना लाग्छ। कसैले त श्रीमती लैजान पाउँछन्। केही कमाइ हुन्छ। श्रीमती लैजाँदा पनि दलालले फेरि पैसा माग्छ।

मैले मेरो किताब ‘चिज-नान’ मा यो विषय उठाएको छु, जुन जापानी भाषामा समेत छ। बेस्टसेलरमध्येमा परेको छ । जापानिजलाई चिज-ना मन पर्छ । तर त्यो मिठो चिज-नान बनाउनेका दुःख उनीहरुलाई थाहा दिन लेखिएको हो । मैले लेखेपछि उनीहरुको प्रतिक्रिया थियो- काम गर्न आउन उल्टै पैसा तिर्नुपर्ने ?

उनीहरुको काम गर्ने वातावरण पनि त्यस्तै छ । बाहिर ग्राहक बस्ने ठाउँ झिलिमिली भएर के गर्ने ? भित्र कुकले काम गर्ने ठाउँ साँघुरो हुन्छ । समाजसँग कुनै अन्तक्र्रिया हुँदैन । करिब-करिब जेलमा बसेजस्तो भयो । त्यसले मानसिक अवस्था झन् खस्किन्छ । मानसिक मात्रै होइन, शारीरिक स्वास्थ्य समस्या पनि उनीहरुमा देखिन्छ । जापानमा गएका नेपाली कुकहरुलाई टिबीको समस्या देखिन्छ । जबकि, टिबी जापानमा निवारण भइसकेको छ ।

चिज-नान आगोको भुंग्रोमा बनाउनुपर्छ। धुवाँ बाहिरिने ठाउँ हुँदैन। काम तनावपूर्ण हुन्छ। तनाव कम गर्न मदिरा सेवन बढ्छ। त्यसपछि टिबीको ब्याक्टेरिया सक्रिय हुँदो रहेछ। हामीले हेल्थ क्याम्प गरेको बेला धेरै कुकलाई टिबी देखिएको थियो।

अर्को जापान पुग्ने कुकको भिसा नै यस्तो प्रकृति हुन्छ कि उनीहरुले नेपाल र भारतको रेस्टुरेन्ट बाहेक अन्यत्र काम गर्न पाउँदैनन् । उनीहरु श्रीमती लिएर त जान्छन् तर श्रीमतीले दुई-तीन ठाउँमा काम गर्छिन् । हप्तामा एक पटक मुश्किलले श्रीमान्‌सँग भेट हुन्छ । स-सना बच्चाहरु नेपालमै हुन्छन् । एक जना यस्तोसम्म भेटेको थिएँ कि जसले जन्मेको दुई महिनामा बच्चा नेपाल छाडेर फर्किएकी थिइन् । नफर्कियो भने कमाइ हुँदैन । भिसा रिन्यु हुने सम्भावना पनि कम हुन्छ । त्यस कारण कुकका श्रीमतीको आत्महत्याको दर पनि बढी छ ।

समाधान कसरी ?
जापान सरकारले विदेशीको मानसिक स्वास्थ्यका लागि प्राथमिकता दिएको छैन । उनीहरु सबै सेवा आफ्नै भाषामा हुनुपर्छ भन्ने सोच राख्छन् । नेपाली त प्राथमिकतामा पनि छैनौं । नेपालीले जापानिज भाषामा आफ्ना समस्या राख्न पनि सक्दैनन् । त्यसैले जानुपूर्वको तयारी नै समाधानको सबैभन्दा बलियो उपाय हो । त्यहाँको परिवेश, स्वास्थ्य सुविधा र समाधानलाई लिएर यतै पढाइ हुनुपर्छ । भाषा परीक्षा दिँदा स्वास्थ्यसँग सम्बन्धित केही प्रश्न राख्नुपर्छ ।

नेपाल सरकार र त्यहाँस्थित दूतावासले पनि स्वास्थ्यलाई प्राथमिकता दिनुपर्छ । त्यहाँ वर्षको एक-दुई वटा हेल्थ क्याम्प सरकारी तहबाटै हुनुपर्छ । जति नेपालमा जाइकाले खर्च गर्छ, त्यो भन्दा बढी हाम्रा विद्यार्थीले त्यहाँ पठाउने गरेका छन् । जापानको अर्थतन्त्रमा नेपालको महत्वपूर्ण भूमिका रहेको कुरा पनि कूटनीतिक माध्यमबाट भन्न सक्नुपर्छ । त्यहाँ रहेका नेपाली संघ-संस्थाले पनि स्वास्थ्यलाई प्राथमिकता दिएर काम गर्नुपर्छ ।

(जापानमा लामो समय काम गरेका मनोचिकित्सक डा ज्ञवालीसँग गरिएको संवादमा आधारित।)

तपाईको प्रतिक्रिया