Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – ७७ वर्षिय प्रकाश भण्डारी गृहजिल्ला कैलाली छाडेर काठमाडौंमा बसोबास गर्न थालेको २१ वर्ष बितेको छ । गाउँको दशैं स्मरण सुनाएका उनलाई अहिलेको दशैंको परिवेश देख्दा अचम्म लाग्छ । जतिखेर दशैं लाग्छ, भण्डारीलाई गाउँको यादले बढी सताउन थाल्छ । शायद यही भएर होला, हामीले पुरानो दशैंको सम्झना गराउना साथ उनी भन्छन्, ‘गाउँको दशैं पो दशैं, शहरको दशैं के दशैं ?’ समाजसेवा छुट्टै पहिचान बनाएका भण्डारीले विदेश भ्रमणको अवसर पनि नपाएको होइन । तर, उनको मन विदेशले तानेन । काठमाडौं शहरको झल्याक झुलुकभन्दा पनि उनलाई अहिलेसम्म गाउँले परिवेश नै प्यारो लाग्ने गरेको छ । भण्डारीले गाउँ र काठमाडौंको दशैंबारे यसरी फरक छुट्याए ।

‘म काठमाडौं बस्न थालेको २० वर्ष भइसक्यो । युवा उमेरमा गाउँमै दशैं मनाएँ । अहिले सपरिवार काठमाडौंमा दशैं मनाउँदै आएको छु । म अचेल दशैं त्यस्तो ठूलो तयारी गरेर मनाउँदिन । बाबुबाजेले पहिलेदेखि जसरी मनाउने गर्नुभएको थियो, त्यसलाई नै पछ्याउने कोशिस गरिरहेको छु,’ भण्डारी भन्छन्, ‘पहिले हामी तन्नेरी हुँदा पुरानो सँस्कार र सँस्कृतिलाई मानिसले एकदमै माया गर्थे । गाउँमा जतिसक्दो रमाइलो गरेर दशैं मनाउने चलन थियो । अहिले पुराना मौलिक कुरा युवाहरुले भुल्दै गएका छन् । दशैं मनाइरहँदा पुरा संस्कारहरुको संरक्षण हुन सकेको छैन । शहर बजारमा पुराना संस्कारहरु हराइसकेका छन् । हाम्रा मौलिक परम्परालाई आधुनिकताको नाममा भित्रेका नयाँ चलनले धमिल्याइसेका छन् ।’ नेपाली चाडपर्वहरुमा मौलिकता हराउँदै गएको उनको बुझाई छ । ‘गाउँमा दशैं आउँदा १ महिना अघिदेखि नै घर सफाइमा जुटिन्थ्यो । रातो माटो र सेतो माटो (कमेरो) लिन बिहान सबेरै गाउँबाट घण्टौं टाढा गइन्थ्यो । हप्ता दिनसम्म लगाएर घरमा लिपपोत गरिन्थ्यो । हिजोआज त ढलानका घरहरु छन् । घर लिपपोत गर्ने चलन नै हरायो ।’

उनका अनुसार त्यतिबेला ढिकीमा चिउरा कुटिन्थ्यो । धान कुट्न पनि ढिकीकै प्रयोग हुन्थ्यो भने मकै, गहुँ पिस्नका लागि जाँतो र पानीघट्टहरु हुन्थे । घरघरमा ढिकी जाँतो हुनु अनिवार्य जस्तै थियो । मानौं हिजोआज हरेक घरमा टेलिफोन र टेलिभिजन हुनु जति अनिवार्य छ । तर हिजोआज उल्लेखित कुनै पनि पुराना सामानहरु छैनन् । प्रकृतिबाट डाइनोसर लोप भए जस्तै गाउँबाट ढिकी, जाँतो, पानीघट्टहरु एकाएक हराए । बिस्थापित भएका यिनीहरुको ठाउँमा अहिले आधुनिक मेशिनहरु स्थापित भएका छन् । पुरानो प्रविधीको प्रयोग झण्झटिलो भएकाले मानिसहरु अहिले नयाँ प्रविधिमा रम्न थालेको भण्डारीको अनुभव छ ।

गाउँबस्तीमा जाँदामात्रै पुराना संस्कारहरु भेटिन्छन् । ‘ढिकीहरुमा धान कुट्न र चिउरा कुट्न महिना दिन अघिदेखि नै भिड लाग्थे । नयाँ लुगा लगाउन, मासु चिउरा खान पनि दशैं नै कुर्नुपर्थ्यो। गाउँबाट कोही कोही जागिरेहरु शहर गएर आयो
भने निकै चर्चा चल्थ्यो,’ भण्डारी अगाडि भन्छन्, ‘गाउँहरुका केही खास घरहरुमा जुवातास खेल्नेहरुको जमात निकै जम्थ्यो । दशैं तिहारमा जाँतेपिङ, लिंगेपिङ, रोटेपिङ टोलै पिच्छे हालिएका हुन्थे । केटाकेटीहरु बिहानदेखि बेलुकासम्म पिङहरुमा झुम्मिएका हुन्थे र पो दशैं आए जस्तो लाग्थ्यो ।’

उनका अनुसार हिजोआजका दशैंमा त कुनै परम्परा नै झल्किंदैन । मानिसहरु आफ्नै पाराका छन् । को कहाँ जान्छ, कहाँबाट आउँछ केही मेसो हुँदैन । गाउँमा मुखियाले भनेका कुराहरु काट्ने आँट कसैलाई पनि हुँदैनथ्यो । तर हिजोआज पुरै फेरिएको परिवेश छ । कसैले कसैलाई टेर्दैनन् । सबै आफ्नै संसारमा रमाएका छन् । ‘बाबु, आमा र बाजेले मान्दै आएका संस्कृतिलाई अहिलेका छोरा नातिपुस्ताले उपहास गरेको देख्दा मन दुख्छ,’ भण्डारीले भने ।

काठमाडौं र गाउँमा दशैं मनाउँदा आकाश-जमीनको फरक छ । गाउँमा पुराना मौलिक संस्कारलाई नभुलेकाले इष्टमित्र, छरछिमेकी, साथीभाइ मिलेर दशैं मनाउँदाको खुसी व्यक्त गर्नै सकिन्न । काठमाडौंमा भने दशैं देखासिखीको माध्यम बनेको छ । दशैं यहाँ कस्तो भएको छ भने एकअर्काको देखासिकी गर्ने र भडि्कलोरुपमा मनाउने गर्दा हाम्रा सँस्कृतिलाई विकृतिले गाँज्दै गएको छ । शहरमा चार्डपर्वहरु मानिसले स्वार्थी भएर मनाउँछन् तर गाउँघरको दशैंको छुट्टै महत्व छ । भण्डारीले भने, ‘सारा गाउँले भेला भएर एकापसमा खुशी साट्दै सद्भाव आदान-प्रदान गरेर मनाइने गाउँको दशैं पो साच्चैको दशैं । शहरमा मनाउने भडि्कलो दशैंलाई खै के दशैं भन्नु र ?’ ***

तपाईको प्रतिक्रिया