Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – वर्ष दिनको महान चाड बडा दशैं नेपालीहरुको घरआँगनमा पदार्पण गरिसकेको छ । यो पर्व आएसंगै नेपालीहरुको मन, मस्तिष्कमा एकप्रकारको उमंगले अड्डा जमाउँछ । विजया दशमी साँच्चै हर्षोल्लासको चाड हो । असत्यमाथि सत्यको विजयको प्रतीककारुपमा दशैं मनाइन्छ । दशैं शान्ति, सुख र समृद्धिको पनि पर्व हो भन्ने मान्यता छ । दशैं भन्ने वित्तिकै जोकोहीलाई बाल्यकालको समय स्मरण गराउँछ । बच्चा बेलाको जस्तो उत्सुकतापूर्ण अर्गानिक दशैं त कहिले आउला र ? तै पनि एकपटक बाल्यकालतिर फर्केर अनुभूत गर्दै आनन्दित हुने अवसर पनि हो हरेक वर्षको दशैं ।

दशैंमा मान्छेले नयाँ लुगा लगाउँछन्, त्यस्तै घरहरू पनि रंगरोगन र लिपपोत गरी आकर्षक बनाईन्छ । काम र पढाई विशेषले आफ्नो घरबाहिर बस्नुपर्ने मानिसहरू झन् उत्साहित हुन्छन् आफ्नो गाउँ फर्कन र दशैं मनाउन । दशैं हरेक कुराले विशेष छ, गर्मी मौसमको अन्त्य र जाडो सुरु हुने बेलाको आनन्दित वातावरण, भिडभाड बजार, रंगीन माहोल र बेग्लै सुगन्धले दशैं आयो भन्ने आभाष दिलाउँछ । परिवारका सबै सदस्यहरु भेला भई सरसफाइ र दशैंको तयारीमा जुटी दशैंको स्वागत गरिन्छ । घटस्थापनामा राखेको जमरा र जमरा हुर्कदै जाँदाको त्यो बासनाले दशैंको सुवास थपिन्छ । घरगाउँमा सबै भेला भएर लिंगे पिङ बनाउने र त्यसमा चढी चच-हुइँ गर्दै आफ्नो मनका पीडा, दुःख बिर्सेर साँच्चै खुला आकाशमा पुगेको अनुभूति हुन्छ ।

विभिन्न शक्तिपीठहरुमा नौरथाभरि हुने पूजाआजा, भजन कीर्तन, सजिसजाउ दुर्गा माताको आराधनाले साँच्चै आनन्दित तुल्याउँछ । दशैं भनेपछि आफन्तहरु भेला हुने र मीठो परिकार खानुले पनि एउटा उत्साहको माहोल थपिदिन्छ । ब्यस्त जिन्दगी र सबै आफ्नो कामको धपेडीलाई भुलेर परिवारका सबै सदस्यहरु भेला भई हाँसी खुशी सुखदुख साट्नु पनि दशैंको अर्को रमाइलो पक्ष हो । साँच्चै दशैंको माहोल यति रमाइलो हुन्छ कि परिवारसँगको साथमा बसेर खाएको, रमाएको हरेक क्षण आनन्दित र अविस्मरणीय हुन्छ ।

दशैंको बेला खेतबारीमा लहलह झुलेका धानका बाला, फुल्नै आँटेका रंगीचंगी फूलहरुको बासना, शारदीय शोभामा उघारिएको सफा मौसम र त्यहि अनुसारको प्राकृतिक वातावरणले हामीलाई मन्त्रमुग्ध बनाउँछ । नवौं दिनमा महादुर्गाको नौ स्वरूपको पूजा गरिन्छ । बडा दशैंको विशेष र महत्वपूर्ण दिन विजया दशमी हो । रातो अबिर र दही मुछी रातो टीका निधारमा, पहेंलपुर जमरा कानमा, नयाँ नोटको बासना, नयाँ कपडा, परिवारको शुभेच्छा, दशैंले त जीवनमा साँच्चिकै नयाँ रंग, उमंग र हर्षका उभार छाउँछ । अझ दशैंमा मामाघर जानुको मज्जा छुट्टै हुन्छ । दशैंको आशिर्वाद साँच्चै नै विशेष छ, भाव बोकेको छ । टीका जमरा लगाउँदै शिरमा हात राखी मान्यजनबाट आशिष पाउँदाको क्षण साँच्चै जीवनमा सकारात्मक उर्जा थपिएको महशुस हुन्छ ।

उसो त विदेशमा हुने आफन्तको सम्झनाले भने परिवारजनमा केही खल्लोपन ल्याउँछ नै । तर दशैं पर्व यति विशेष छ कि नेपालीहरू हुने जुनसुकै भूगोलमा दशैं भव्यताका साथ मनाईन्छ । सबै नेपालीहरू भेला हुने, मान्यजन तथा आफन्तबाट टीका जमरा ग्रहण गर्ने नेपालीपनको आभाषसँगै विदेशमा पनि हर्षोल्लासका साथ दशैं मनाइन्छ । दशैंमा विदेशी मित्रहरु पनि सामेल भई आपसमा सद्भाव साटासाट गर्ने चलन पनि बढ्दै गईरहेको छ । यसरी नै नेपाली पर्वहरुमा सँधै गर्व गर्न सकियोस्, विकृत नबनोस्, दशैंको शुभकामना ।***

तपाईको प्रतिक्रिया