Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

एनआरएनएलाई विभाजनतर्फ लगियो : आरके शर्मा

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदका प्रत्याशी आरके शर्माले संघलाई बद्री केसी पक्षले विभाजनतर्फ लगेको टिप्पणी गरेका छन् । शनिबार विवादकाबीच नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण गरिएसँगै शर्माले यस्तो टिप्पणी गरेका हुन् ।

‘एकलौटी ढंगले सिस्टमलाई कब्जा लिएर निर्वाचन प्रभावित गरेर स्वतन्त्र ढंगले निर्वाचन नभएको हुँदा यसरी मन्जन गरिएको कथित शपथको कुनै औचित्य नहुने यो एनआरएनए अभियानको मर्म विपरीत हुने छ । यसरी शपथ लिएर एउटा पक्षले अभियानलाई विभाजन तर्फ लगेको छ’, शर्माले भने ।

उनले आफूहरू पवित्र अभियानलाई विभाजन हुन नदिनेमा दृढ रहेको पनि बताए । शर्माले निर्वाचनमा गम्भीर त्रुटि र मतदाताको मतबाट निर्वाचनको परिणाम घोषणा नभएको कुरा निर्वाचन समितिले स्वीकार गरिसकेको पनि बताए । ‘यस्तो अवस्थामा एनआरएनए विश्व सम्मेलनको सम्पूर्ण प्रक्रिया रोक्ने निर्णय भइसकेको र निर्वाचनमा देखिएको त्रुटि छलीलाई छानबिन १५ दिनभित्र सक्ने सहमति विपरीत कथित शपथको कार्यक्रम राखिएकोमा गम्भीर असहमति व्यक्त गर्दछु’, उनले भने ।विभाजन उन्मुख
अध्यक्ष पदका प्रत्याशी महेशकुमार श्रेष्ठ र शर्मा पक्षले नयाँ कमिटी घोषणाको तयारी गरेको छ । बिहीबार भएको निर्वाचनमा केसी अध्यक्ष निर्वाचित भएको घोषणा गरिएको थियो । तर उपाध्यक्षका उम्मेदवार केशव पौडेलले काठमाडौँबाट पाएको मत शून्य देखाएपछि विवाद सुरु भयो । अरू पनि त्रुटि देखिएको भन्दै अध्यक्षका प्रत्याशीद्धय श्रेष्ठ र शर्मा पक्षले निर्वाचन परिणाम स्वीकार नगर्ने बताएको हो । ।

केसीसहित अध्यक्षहरू कुल आचार्य र रविना थापाले वक्तव्य निकालेर अर्को निर्णय नभएसम्मका लागि सम्पूर्ण कार्यक्रम स्थगित भएको जानकारी दिएका थिए । त्यसपछि भएको छलफलका क्रममा निर्वाचनबारे दुई साताभित्र छानबिन गर्ने सहमति भयो । अध्यक्षका प्रत्याशीद्धय श्रेष्ठ र शर्माका अनुसार निर्वाचनमा त्रुटि देखिए फेरि मतदान गर्ने, नभए अहिलेको कमिटीलाई सबैले स्वीकार गर्ने सहमति भएको थियो । त्यो सहमति विपरीत केसी पक्षले हतारहतार शपथ कार्यक्रम राखेको भन्दै उनीहरूले आपत्ति जनाएका छन् ।विवादकाबीच शपथ
विवादकाबीच एनआरएनएको नयाँ कार्यसमितिको शपथ ग्रहण सम्पन्न भएको छ । शनिबार राजधानीको होटल सोल्टीमा निर्वाचन समितिले नवनिर्वाचित कार्यसमितिलाई पद तथा गोपनीयताको शपथ दिलाएको हो ।

शपथपछि डा. बन्द्री केसीले निर्वाचन पारदर्शी भएको दाबी गर्दै केही प्राविधिक समस्या उपाध्यक्ष पदको उम्मेदवारको हकमा देखिएको भएपनि त्यसलाई सच्याइसकेको बताए । उनले एनआएनए अभियानमा सबैलाई साथमा लिएर अघि बढ्ने भन्दै आफूले सबै एनआरएनएको वास्तविक एकता गर्नका लागि प्रयास गर्ने पनि बताए । नवनिर्वाचित कार्यसमितिको बैठक पनि केन्द्रीय सचिवालय बालुवाटारमा राखिएको छ ।

निर्वाचन समितिका अनुसार अध्यक्षमा डा. बद्री केसी, उपाध्यक्षमा विनोद श्रेष्ठ, हेमराज शर्मा, केशव पौडेल, राजु रेग्मी (राज), रामशरण सिम्खडा र रोबिन प्रसाद शेरचन, महासचिवमा गौरीराज जोशी विजयी हुँदा महिला उपाध्यक्षमा रोजिना प्रधान राई र युवा उपाध्यक्षमा रोशन थापा विजयी भएका छन् ।

यसैगरी उपमहासचिवमा प्रविन गुरुङ र सोम सापकोटा तथा सचिवमा भीम केसी कमल, ज्ञानेन्द्र रेग्मी, मनोज कुमार श्रेष्ठ, नवराज रोस्यारा, पारसमणि पोखरेल र स्वतन्त्र प्रताप शाह निर्वाचित भएका छन् । यस्तै महिला सचिवमा राधिका गुरुङ, कोषाध्यक्षमा सुदन कुमार थापा तथा सहकोषाध्यक्षमा कृष्ण प्रसाद तिमल्सेना, तिलक गैरे र अभिमन्यु बस्नेत निर्वाचित भएका छन् ।

यस्तो छ निर्वाचित कार्यसमितिको सूची :-

तपाईको प्रतिक्रिया