Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – एसीसी यू-१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले जापानलाई प्रतिद्वन्द्वीका रूपमा पाएको छ । मलेसियामा जारी उक्त प्रतियोगिताको सेमिफाइनलमा शनिबार नेपालले जापानसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको अर्को सेमिफाइनल खेल पनि शनिबार नै संयुक्त अरब इमिरेट्स (यूएई) र सिंगापुरबिच खेलिने छ । नेपाली टोली समूह ‘ए’ र जापान समूह ‘डी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । यूएई समूह ‘बी’ र सिंगापुर समूह ‘सी’ को विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

नेपालले समूहगत चरणको तीनवटै खेलमा जित हात पारेको थियो । नेपालले आफ्नो पहिलो खेलमा इरानलाई दुई सय ७४ रनको विशाल अन्तरले हराएको थियो । आफ्नो दोस्रो खेलमा नेपाली टोलीले बहराइनलाई सात विकेटले पराजित गरेको थियो ।

नेपाल बिहीबार खेलिएको तेस्रो खेलमा भने साउदी अरेबियालाई तीन सय दुई रनको विशाल अन्तरले हराएको थियो । प्रतियोगितामा १६ वटा राष्ट्र सहभागी छन् । यो प्रतियोगिताबाट तीनवटा टोली यसै वर्ष पाकिस्तानमा आयोजना हुने एसीसी यू-१९ एसिया कपमा छनोट हुनेछन् ।

छनोट प्रतियोगितामा पहिलो र दोस्रो हुने टोली एसीसी यू-१९ एसिया कपको समूह ‘ए’ मा पर्नेछन् । त्यो प्रतियोगिताको समूह ‘ए’ मा भारत र पाकिस्तान छन् । छनोट प्रतियोगितामा तेस्रो हुने टोली भने एसीसी यू-१९ एसिया कपको समूह ‘बी’ मा पर्नेछ । पाकिस्तानमा आयोजना हुने प्रतियोगिताको समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान रहेका छन् ।

तपाईको प्रतिक्रिया