काठमाडौं – जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गत आज भारत र पाकिस्तानबीच खेल हुँदैछ । यो खेललाई विश्वकपकै ठुलो भिडन्तको रूपमा लिइएको छ ।
खेल अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समयअनुसार दिउँसाे २: १५ बजेदेखि सुरु हुनेछ । जारी क्रिकेट विश्वकपमा भारत र पाकिस्तान दुवैले आफ्ना सुरुवाती २-२ खेल जितेर शानदार सुरुवात गरेका छन् ।
भारतले पहिलो खेलमा अस्ट्रेलियालाई ६ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा अफगानिस्तानलाई ८ विकेटले पराजित गरेको थियो । त्यसैगरी पाकिस्तानले पहिलो खेलमा नेदरल्याण्डसलाई ८१ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ६ विकेटले पराजित गरेको थियो ।
आज क्रिकेट विश्वकपमा भारत र पाकिस्तान आठौँ पटक आमने सामने हुँदै छन् । एकदिवसीय विश्वकपमा भारत र पाकिस्तानबीच अहिलेसम्म सात पटक भिडन्त भएको छ तर सबै खेल भारतले जितेको छ । विश्वकपमा पाकिस्तानले अहिलेसम्म भारतलाई पराजित गर्न सकेको छैन ।
यसअघि पहिलो पटक १९९२ विश्वकपमा दुवैबीच पहिलो खेल भएको थियो, जसमा भारत ४३ रनले विजयी भएको थियो । त्यस्तै १९९६ मा भएको दोस्रो खेलमा भारत ३९ रनले विजयी भएको थियो । त्यसपछि १९९९ मा भएको तेस्रो भिडन्तमा भारत ४७ रनले विजयी भएको थियो भने २००३ मा भारत ६ विकेटले विजयी भएको थियो । त्यसैगरी २०११ मा भारत २९ रनले विजयी भएको थियो भने २०१५ मा भारत ७६ रनले र २०१९ मा भारत डिएलएस मेथड अनुसार ८९ रनले विजयी भएको थियो । पाकिस्तान विश्वकपमा भारतविरुद्ध पहिलो जितको खोजीमा हुने छ ।
भारतको सम्भावित प्लेइङ ११- रोहित शर्मा (कप्तान), इशान किशन, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल (विकेटकिपर), हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, आर अश्विन, कुलदीप यादव, जसप्रित बुमराह र मोहम्मद सिराज ।
पाकिस्तानको सम्भावित प्लेइङ ११- बाबर आजम (कप्तान), शाडाब खान, फखर जमान, हरिस रउफ, हसन अली, इफ्तिखार अहमद, इमाम उल हक, मोहम्मद नवाज, मोहम्मद रिजवान (विकेटकीपर), साउद शकील र शाहीन शाह अफ्रिदी ।