बिहिबार, मंसिर १४, २०८०
Thursday, November 30, 2023

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा आरके (राजेन्द्रकुमार) शर्माले उम्मेदवारी दर्ता गराएका छन्। वर्तमान उपाध्यक्षसमेत रहेका शर्माले शुक्रबार बालुवाटारस्थित एनआरएनएको कार्यालयमा पुगेर विधिवत रुपमा उम्मेदवारी दर्ता गराएका हुन्। उनको प्रस्तावकमा वेद खरेल र डीबी क्षेत्री रहेका छन् भने समर्थकमा रमेश भट्ट र बन्दना शर्मा (सापकोटा) रहेका छन्।

शर्मा उम्मेदवारी दर्ता गर्न उनको टीममा रहेका अन्य पदाधिकारीका उम्मेदवारहरु पनि सँगै थिए। तर,उम्मेदवारी भने शुक्रबार शर्माको मात्रै दर्ता गरिएको हो। शर्माको टीमका अन्य उम्मेदवारहरुले भने शनिबारमात्रै उम्मेदवारी दर्ता गराउनेछन्।

शुक्रबार नै पत्रकार सम्मेलन गरेर शर्माले आफूले मध्यपूर्वसहित संसारभरका एनआरएनएको हितका लागि काम गर्न अध्यक्षमा उम्मेदवारी दिएको बताएका थिए । उनले एनआरएनएलाई एकताबद्ध गर्नेसहितका एनआरएनएलाई सम्मानित बनाउने विभिन्न एजेण्डा अघि सारेका छन्।

एक महिनामा एक बाचा पुरा गर्नेगरी २४ महिने कार्यकालमा गर्ने २४ कामको विवरणलाई उनले २४ बुँदे बाचापत्रमा समेटेका छन्। उम्मेदवारी दर्तापछि शर्माले आफूले चुनाव जित्ने दाबी गरे।

मध्यपूर्वसहित विश्वभरका मतदाताले आफूमाथि विश्वास गरेको भन्दै चुनाव जित्ने दाबी गरेका हुन्। एनआरएनएको अध्यक्षमा शर्माको पहिलो उम्मेदवारी परेको हो। अध्यक्षका आकांक्षीहरु बद्री केसी र महेश श्रेष्ठ लगायतले भने शनिबार दर्ता गराउने बुझिएको छ।

उमेदवारी दर्ता गरेका शर्माले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै ६ उपाध्यक्ष, एक युवा उपाध्यक्ष र अन्य पदाधिकारीसहित शुक्रबार सार्वजनिक गरेका हुन् । अक्टोबर १७ देखि २० गतेसम्म काठमाडौंमा एनआरएनएको ११औँ महाधिवेशन हुँदै छ । अध्यक्षका उमेदवार शर्मासँगै उपाध्यक्ष पदमा मलेसियाबाट खगेन्द्र न्यौपाने, जापानबाट रोविन्द्रप्रसाद श्रेष्ठ (गोविन्द) को उम्मेदवारी रहेको छ । न्यौपाने हालका सचिव र श्रेष्ठ हालका उपाध्यक्ष हुन् ।

उपाध्यक्षमै कतारबाट हालका युवा उपाध्यक्ष राजु रेग्मी (राज), जर्मनीबाट विजय मोक्तान, अस्ट्रेलियाबाट अभिमानसिंह बस्नेत, नेदरल्याण्डबाट शशीकान्त पौडेल र युवा उपाध्यक्षमा कतारबाट हालका युवा संयोजक अब्दुल बासिद उमेदवार रहेका छन् ।

यस्तै, उपमहासचिवमा प्रविण गुरुङ, सचिवमा लोक दाहाल, मनोजकुमार श्रेष्ठ गोर्खाली, टंक गैरे र आरसी पोखरेल उमेदवार रहेका छन् ।
यस्तै, कोषाध्यक्ष पदमा ठाकुरकुमार ढुंगाना र महिला संयोजकमा क्यानडाबाट देवकी केसी उमेदवार छन् ।

यस्ता छन् शर्मा नेतृत्वका एजेन्डा 
एनआरएनको अध्यक्ष पदका उमेदवार शर्माले ‘२४ का लागि २४’ वटा बाचासहितको आफ्नो उमेदवारी घोषणा गरेका छन् ।  दुई वर्षे अर्थात् २४ महिनाको कार्यकालका लागि उनले ‘एनआरएनएबीच एकता, वैदेशिक रोजगारमा सुरक्षित वातावरण र सामाजिक सुरक्षा, उत्पादनमुलक उद्यममा विप्रेषणको प्रयोग, एनआरएनए कामदारको भविष्य सुरक्षा प्राधिकरण गठन’ गर्ने जस्ता विभिन्न २४ बाचा अघि सारेका छन् ।
संघ दुई टुक्रा परेको भन्दै यसलाई एकीकृत गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । समृद्ध नेपाल निर्माण गर्ने अभियान, सबैको साझा र बाध्यताले विदेशीने सबैको साझा सपना सम्पन्न गर्न कसरी दुईवटा एनआरएन हुनसक्छ । तसर्थ मेरो पहिला बाचा छ, सुरुमै मैले एनआरएनको एकताको पहल गर्नेछु र एकता गराएरै छोड्नेछु,” अध्यक्षका उमेदवार शर्माले भने । यस्तै, उनले सामाजिक सुरक्षाको विषयलाई पनि प्राथमिकतामा राखेका छन् । एनआरएनका ९० प्रतिशत मध्यपूर्व, एसिया, अफ्रिका र अहिले युरोपमा जागिरे रहेको बताए । आफू श्रमिकबाट उद्यमी हुँदै गर्दा उनीहरूका संघर्षका कुरा बुझेको बताए । श्रमिक अस्पताल, भाषाका समस्याका कारण जेलमा रहेका, सीप सिकाउने, वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउनेले पाउने राहत बढाउन जस्ता विषयमा आफूले काम गर्ने उनको भनाइ छ ।

यस्तै, उनले सामूहिक लगानीको विषयलाई पनि प्राथमिकता दिने बताए । “अहिले १३ खर्ब रेमिट्यान्स भित्रिरहेको छ । यसको सानो रकम सामूहिक लगानी प्राधिकरणमा गर्ने र त्यसमा नेपाल सरकारले वैधानिक बाटोबाट आएको रेमिट्यान्सको दुई प्रतिशत जम्मा गर्छ । त्यसपछि यो एउटा ठूलो कोष बन्ने छ ।

यस्तै, उपाध्यक्षका उमेदवार श्रेष्ठले नेपालले श्रमिक उत्पादन गर्नेबाट उद्यम उत्पादन गर्ने बजारका रूपमा विकास गर्न आवश्यक रहेको र त्यसमा एनआरएनएले योगदान गर्ने बताए । उपाध्यक्षकै उमेदवार अभिमान सिंह बस्नेतले प्रतिनिधि व्यवस्थापनको समस्या र २४ वटै बाचामा काम गर्ने बताएका छन् ।  एनआरएनएमा विश्वभरका ५९ देशबाट प्रतिनिधित्व रहेको छ । ९६ हजारभन्दा बढी साधारण सदस्य रहेको संघमा ४२ सयभन्दा बढी सदस्य मतदाता रहेका छन् । ***

तपाईको प्रतिक्रिया