शनिबार, मंसिर १६, २०८०
Saturday, December 2, 2023

बेनी – म्याग्दी प्रवासी नेपाली संघ (मोना) को पाँचौं अन्तरराष्ट्रिय महाधिवेशन शुक्रबारदेखि म्याग्दीको सदरमुकाम बेनीबजारमा सुरु भएको छ ।

अक्टुबर १५ तारिखसम्म सञ्चालन हुने महाधिवेशनमा विश्वका २८ देशका करीव ३ सय प्रतिनिधिहरु बेनीमा भेला भएका छन् । मोनाको प्रत्येक २ वर्षमा जिल्ला सदरमुकाम बेनीमा महाधिवेशन र महाधिवेशन भएको अर्को वर्ष फरक फरक पालिकामा साधारण सभा गर्ने प्रचलन छ ।
विभिन्न पेशा, ब्यवसाय, अध्ययन, अनुसन्धान तथा रोजगारीका लागि विश्वका विभिन्न मुलुकमा पुगेका म्याग्देलीहरुलाई गोलबन्द गर्दै विदेशमा सिकेका अनुभव, सीप दक्षता र पुँजीलाई गृहजिल्लामा लगानी गर्ने उद्देश्यले स्थापित मोनाको अहिले विश्वका २८ देशमा सञ्जाल बिस्तार भईसकेको छ ।

मोनाका अध्यक्ष अम्मर छन्त्यालको सभापतित्वमा भएको महाधिवेशनको समुदघाटन समारोहमा विभिन्न राजनैतिक दलका जिल्लास्तरिय नेता, जनप्रतिनिधि, एनआरएन अभियान्ता, मोनाका पूर्व अध्यक्षहरु, विभिन्न देशबाट आएका डेलिगेट्स, स्थानिय समाजसेवी तथा बुद्धिजीवीहरुको बाक्लो उपस्थिति रहनुका साथै शुभकामना मन्तब्य रहेको थियो ।

बेनीबजारस्थित खुलामञ्चमा भएको समुदघाटन समारोह सुरु हुनुपूर्व विभिन्न जातजाति तथा सम्प्रदायका कला, सँस्कृति झल्कने झाँकी तथा नृत्य सहितको र्‍यालीले बजार परिक्रमा गरिएको थियो । प्रमुख अतिथिका हैसियतले म्याग्दी जिल्लाबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसद खाम्बीर गर्बुजाले महाधिवेशनको समुदघाटन गरेका थिए ।

शनिबार र आइतबार हुने बन्दसत्रबाट मोनाको कार्यप्रगति प्रतिबेदन, आर्थिक प्रतिवेदन, बिधान संशोधन लगायतका प्रस्तावहरुमाथि छलफल तथा पारित गर्ने कार्यक्रम रहेको बताईएको छ । यसबाहेक आगामी कार्यकालका लागि नयाँ कार्यसमितिको चयन र भावी नीति तथा कार्ययोजना तय गर्ने महाधिवेशनको अर्को प्रमुख कार्यभार रहेको छ ।

मोनाको भावी नेतृत्वका लागि जापानबाट ददिवल खड्का र नेदरल्याण्डबाट मिम पुर्जाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । मोनाको इतिहासमा हालसम्म सहमतिमै नेतृत्व चयन हुँदै आएकोमा यसपाली पनि सहमतिमै सर्बसम्मत नेतृत्व चयन हुनेमा डेलिगेट्सहरु ढुक्क देखिन्छन् । तथापि अध्यक्षका आकाँक्षी दुबैजना आफ्नो दाबीबाट पछाडि हट्ने संभावना भने न्युन देखिन्छ ।***

तपाईको प्रतिक्रिया