मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

प्रत्येक निर्वाचनमा एकपछि अर्को धक्का खाँदै गएपछि माओवादी केन्द्रले शक्ति पुनर्बहालीका लागि अभियान थालेको छ । ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’का साथ गाउँ केन्द्रित भएको पार्टीले नयाँ रक्तसञ्चार भएको दाबी गरेको छ । उसो त संसद्मा तेस्रो ठूलो शक्ति भएपनि सरकारको नेतृत्वमा माओवादी नै छ । नक्कली शरणार्थी प्रकरणको फाइल खोलेर एकाएक लोकप्रिय भएको प्रचण्ड सरकार सुन प्रकरणमा आइपुग्दासम्म बदनाम हुने अवस्थामा छ । एमसीसी कार्यान्वयन र चीनले जारी गरेको नक्सा विवादले सरकारमाथि प्रश्न तेर्सिएका बेला अब माओवादीको रणनीति के हुन्छ ? सरकारको भविष्यलगायत विषयमा केन्द्रित भएर पूर्वसभामुख, माओवादी केन्द्रका केन्द्रीय उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटासँग समुद्रपारिका लागि नृप रावलले गरेको कुराकानीको सम्पादित अंश :-

सशस्त्र विद्रोहको २८ वर्षपछि रूपान्तरणका लागि जनतामा जानुभएको छ । कत्तिको उत्साहित हुनुहुन्छ ?
अहिलेको परिस्थिति र त्यतिबेलाको परिस्थिति फरक थियो । त्यतिबेला सामन्तवादविरुद्धको लडाइँ थियो । अहिले एकाधिकार दलाल पुँजीवादविरुद्धको लडाइँ हो । अहिलेको परिस्थिति र सापेक्षताअनुसार जुन अभियान सुरु भएको छ, मूलभूत रूपमा ठिक छ । तीन महिने अभियान पार्टीलाई रूपान्तरण गर्न, जनतासँग सम्बन्ध सुधार गर्न, श्रमजीवीलाई वर्ग संघर्षसँग जोड्न, वर्गउत्थान गरी उत्पादनसँग जोड्न, नेताहरूको जीवनशैली, कार्यशैली बदल्न र पार्टी विस्तार गर्ने उद्देश्यले अभियान सुरु भएको हो । त्यसैले हामी उत्साहित छौँ ।

भदौ १६ गतेदेखि चलाएको अभियान यहाँसम्म पुग्दाको अनुभव कस्तो छ ?
भदौ २९ गते मैले सबै प्रदेशका प्रदेश इन्चार्जसँग कुराकानी गरेको थिएँ । आ–आफ्ना परिस्थिति र वस्तुगत परिवेशलाई राम्रोसँग अध्ययन गरेर विविधतापूर्ण ढंगले कार्यक्रम भएका छन् । पहिलो चरणको आन्तरिक तयारी जस्तै बैठक, भेला, प्रशिक्षणहरू वडा तहसम्म पूरा भएका छन् । भदौ १६ गतेको उद्घाटन विविधतापूर्ण र रचनात्मक तरिकाले भएका छन् । त्यो बेला असाध्यै सृजनात्मक, रचनात्मक र व्यवस्थित रूपमा सञ्चालन भएका छन् । कतै टोलहरूमा सरसफाइ अभियान चलाएर, कतै अस्पताललगायतका सामाजिक संघसंस्थाको सरसफाइ र रंगरोगन गरेर भएका छन् । कतै उत्पादनसँग जोडिएर, कतै कृषि र पशुपालनका फर्म उद्घाटन गरी अभियान सुरु भएका छन् । कतिपय वडाहरूमा मार्चपास, खेलकुद, साहित्य र सांस्कृतिक कार्यक्रम गरेर भएका छन् । अहिले प्रथम चरणको कार्यक्रम अन्तिम चरणमा पुगेको छ । हाम्रो पार्टीले राखेको अभियानको लक्ष्य र उद्देश्य ७५ प्रतिशत पूरा भएका छन् । देशका करिब ९० प्रतिशत वडाहरूमा हाम्रो अभियान पुगेको छ ।

देशका ९० प्रतिशत वडामा पुगेको माओवादी केन्द्रलाई कस्ता सुझाव, गुनासा र प्रतिक्रिया आएका छन् ?
जनतामा हामीप्रति अपेक्षा बढी नै छन् । अपेक्षा बढी भएकाले ती सबै अपेक्षा पूरा हुन नसक्दा जनताका गुनासा छन् । जनता र हामीबिचको सम्पर्क र सम्बन्ध पातलो भयो । जनतासँगको भेटघाट, सम्बन्ध बाक्लो र जीवन्त बनाउनुप-यो भन्ने सुझाव छन् । दोस्रो कुरा हामी शहर बजारमा रमाउन थाल्यौँ । हिजो सुख र दुःखमा हामी जनताको साथमा हुन्थ्यौँ तर अचेल आएर सुख दुःखमा पनि पार्टीका नेता तथा कार्यकर्ता टाढा हुँदा हामीलाई दुःख लागेको भनेर आलोचना भएका छन् । हामी कुनै औपचारिकता मात्रै निर्वाह गरी राखेका छैनौँ । हामी साँच्चिकै जनताको स्थिति बुझ्ने, सुन्ने र भावना बुझ्ने प्रयास गरिरहेका छौँ । हामीले धेरै बोल्नेभन्दा पनि जनताका कुरा धेरै सुन्ने प्रयास गरेका छौँ । जनताका कुरा सुनेर जनताका समस्याको पहल लिने कुरा मुख्य एजेन्डा बनाएका छौँ । संश्लेषण गरेरभन्दा जनताको उत्साह, सृजनशीलता र जनताको पहलकदमीलाई अधिकतम रूपमा बढाउनुपर्छ भन्ने गहिरो बोधका साथ काम गरेका छौँ ।

भनेपछि बलियो र व्यवस्थित पार्टी बनाउन सकिन्छ भन्ने आत्मविश्वास बढेको छ ?
पार्टीको तीन महिने अभियानका क्रममा आशाका झिल्काहरू देखा परेका छन् । सातै प्रदेशसहित गैरभौगोलिक गरी दस प्रदेशमा आशाका झिल्काहरू देखिएका छन् । नयाँ रक्त सञ्चार पैदा भइरहेको छ । यो पूरै सफलतातिर गयो भन्ने दाबा त होइन तर पनि बिहानीले दिनको झल्को दिन्छ भने जस्तै यसले सफल हुन्छ भन्ने झल्को दिएको छ ।बिदेसिने लहर चलिरहेको अवस्थामा युवा वर्गलाई के सन्देश दिनुभएको छ ?
आश्चर्यजनक रूपले विदेश जाने नेपालीको संख्या गुणात्मक रूपमा बढेको छ । गाउँमा युवा असाध्यै कम देखिन थालेका छन् । विदेश जानबाट रोक्न फेरि पनि समाजवादको आधार तयार गर्नैपर्छ । समाजवादको आधार तयार पार्नु भनेको रोजगारी सिर्जना गर्ने, उत्पादन बढाउने र देशलाई आत्मनिर्भर बनाउने हो । यसबाट गरिबी हटाउनेबित्तिकै जनताको जीवनस्तर सुधार गर्न सकिन्छ । दोस्रो, अब समाजवादी कार्यक्रम के हुन्छन् भन्दा कृषि, उद्योगधन्दा, विज्ञान तथा प्रविधिको विकाससँगै राष्ट्रिय सुरक्षा व्यवस्था गरेर अगाडि जान सकेमा अबको समाजवादी क्रान्ति त्यसकै आधारमा अघि बढाउन सकिन्छ । मुख्य कुरा देशमै रोजगारी सिर्जना गर्ने हो । देशमा रोजगारी सिर्जना गरेर मात्रै युवालाई देशमै राख्न सकिन्छ । नभए कुनै पनि कुराले युवालाई विदेश जानबाट रोक्न सकिँदैन ।

स्वदेश फर्किएकालाई उत्पादनमा जोड्ने ‘रिटर्नी’ सेन्टर, नेपालको सान्दर्भिकता कति देखिएको छ ?
देशमा बेरोजगारी समस्या विकराल रूपमा देखिएका छन् । विदेश जाने गति तीव्र रूपमा बढिरहेको छ । यसलाई कसरी रोक्न सकिन्छ भनेर विविध उपायको खोजी गर्ने क्रममा रिटर्नी सेन्टर, नेपाल गठन भएको हो । ‘बे्रन ड्रेन’ अर्थात् विदेश जानबाट रोकेर स्वदेशमै उत्पादनमा कसरी जोड्न सकिन्छ भनेर गरेको यो एक प्रयास हो । यसले देशमा रोजगारी सिर्जना गर्ने, विदेशमा रहेका युवालाई स्वदेशमा फर्काउन यो संगठनले महत्त्वपूर्ण योगदान गर्न सक्छ । यो मात्रै हैन, यस्ता धेरै सृजनात्मक, रचनात्मक र जनतालाई विश्वास गर्ने खालका कार्यक्रम ल्याउनु पर्छ भन्ने लागेको छ ।

‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ले प्रवासमा रहेको नेपालीलाई कसरी समेट्छ ?
हामीले सात वटा भूगोल प्रदेश र तीन वटा विशेष प्रदेशहरू निर्माण गरेका छौँ । त्यसमध्ये प्रवास विशेष प्रदेश छ र त्यो प्रवास विशेष प्रदेशले कमाण्डहरु निर्माण गरेर अहिले अभियानहरू सञ्चालन गरिराखेको छ । त्यहाँ भएका प्रवासी नेपालीहरूको समस्या, दैनन्दिन रूपमा भोग्नु परेका पिरमर्काहरुको बारेमा जानकारी राखेर उनीहरूका सल्लाह सुझाव र राय संकलन पनि गरिँदैछ । अहिले प्रभावकारी ढंगले अभियानहरू सञ्चालन भइरहेको रिपोर्ट मलाई प्राप्त भएको छ । त्यो चाहिँ एक प्रकारको के हो भन्दा, उनीहरूले त प्रवासमा बसेर नेपालका लागि धेरै ठूलो योगदान गरेका छन् । रेमिट्यान्स पठाइदिएर नै देशको अर्थतन्त्रलाई अगाडि बढाउन योगदान पुगेको छ । अब त्यसका साथसाथै फेरि अहिले भर्खरै उनीहरूको हकहितका लागि चाहिँ सम्माननीय प्रधानमन्त्रीले नै बोल्नुभएको छ, ‘विदेशमा बसेर सिन मतदान गर्न पाउने’ भनेर । अतः हाम्रो अभियान बसैतिर (प्रवासमा पनि) प्रभावकारी ढंगले सञ्चालन भइरहेको छ ।

अभियान पार्टीको प्रवासी संगठन भएको देशमा मात्रै हुन्छ की अन्य देशहरूमा पनि भइरहेको छ ?
प्रायः धेरैजसो देशहरूमा हाम्रो प्रवासी संगठन छन् । जस्तो युरोप, अमेरिका, अस्ट्रेलिया, जापान र खाडीका धेरै देशहरूमा हाम्रो संगठन छ । अब यो अभियानले नभएका ठाउँमा पनि बनाउने हो । भएका देशहरूमा चलायमान/गतिशील बनाउने, अझ जनमुखी बनाउने छ । नभएका ठाउँमा निर्माण गर्ने, विस्तार गर्ने काम भइरहेको छ । विशेषतः प्रवासमा पनि अभियानप्रति उत्साह देखिएको छ ।

तर २०६४ मा पहिलो शक्तिको रूपमा उदाएको माओवादी ०७० को निर्वाचनपश्चात् लगातार धक्का खाँदै आएको छ । कहाँ चुक्यौ जस्तो लाग्छ ?
पार्टी भनेको विचार, सिद्धान्त हो । सशस्त्र विद्रोहको बेला हामीले क्रान्तिकारी कार्यदिशासहितको कार्यक्रम ल्याएका थियौँ । हाम्रो एउटै लक्ष्य सामन्ती राजतन्त्र हटाउनु थियो । त्यसमा सफल भयौ । राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र वृद्धि गर्न राष्ट्रिय पुँजीको जगमा समाजवादी क्रान्तिको पूर्वाधार तयारी गर्नुपर्ने थियो । राष्ट्रिय औद्योगिक पुँजीको जग तयार गर्ने क्रममा नै मुख्य कार्यभार बनाएर जानुपर्थ्यो । आर्थिक, राजनीतिक, सांस्कृतिक, सामाजिक सबै पक्षलाई मिलाएर लाने विषय सामान्य विषय होइन । त्यसका लागि विगतमा सशस्त्र क्रान्ति गरिएको थियो । अहिले शान्तिपूर्ण रूपले गर्न सकिन्छ भनेर लागेका छौँ । तर सरकार, संसद् र सडक सबै मोर्चालाई अगाडि बढाउनका लागि कार्यदिशा, कार्यक्रम एकमतले बुझाउन सकेनौँ । त्यसैले हामी कमजोर भयौँ । त्यसले पार्टीभित्र विग्रह र विभाजित भए । अहिले फेरि एकताबद्ध भएर रूपान्तरणमा जान सकिने अवस्था छ । त्यसका लागि पहिला कम्युनिस्टहरू एकताबद्ध हुने र दोस्रो बृहत् रूपमा मोर्चा बनाउन आवश्यक छ ।एमसीसी र चीनसँग नक्सा विवादको विषयमा पार्टीको धारणा के हो ?
भर्खरै कार्यान्वयनमा गएको एमसीसीको सन्दर्भमा १२ बुँदे प्रस्तावलाई पार्टीले पनि पास गरेको छ र सदनले पनि पास गरेको छ । सदनमा भएका र सरकारमा भएका अहिलेका घटकहरू मिलेर प्रस्ताव पारित गरेको हो । १२ बुँदेलाई स्वीकार गरेर नै अगाडि बढ्नुपर्छ । कार्यान्वयनको पाटोमा अमेरिकाले कति स्वीकार गर्नुपर्छ वा पर्दैन भन्ने विषयमा अन्तर देखिन्छ । दोस्रो नक्साको सम्बन्धमा पहिलो कुरा संसद्बाट अनुमोदन भएपछि पूर्ववर्ती सरकारले संयुक्त राष्ट्रसंघ, मित्र राष्ट्रहरूलाई जानकारी गराएको रहेनछ । नेपालको संसद्ले पारित गरेको नक्साबारे कूटनीतिक हिसाबले सम्बन्धित देशहरूलाई अविलम्ब पत्राचार गर्नुपर्थ्यो । त्यसो गरेको पाइएन । २ वर्षअगाडि भएको विषय अहिलेसम्म पत्राचार नहुनु नेपालको कमजोरी हो । नेपालले पत्राचार नगरेको भए पनि सार्वभौम संसद्ले पारित गरिसकेपछि अनौपचारिक ढंगले बुझेर चिनियाँ पक्षले पनि ख्याल गर्नुपर्थ्यो । त्यति ख्याल गरेको देखिँदैन ।

वर्तमान सरकारका कामकारबाहीलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
सामाजिक न्यायसहितको सुशासन र समृद्धिको अभियानमा सरकार हिँडिरहेको छ, यो निकै सराहनीय विषय हो । यो दिशातिर सरकारले केही महत्त्वपूर्ण कदम चालेको छ । सरकारले कानुन निर्माणमा मिटर ब्याजपीडितको पक्षमा महत्त्वपूर्ण काम गरेको छ सेवा प्रवाहमा महत्त्वपूर्ण काम भएका छन् । जस्तै राहदानी, लाइसेन्स, अस्पतालमा लाइन बस्ने अवस्थाको अन्त्य गरिएको छ । सुन काण्ड प्रकरणको छानबिन गहिराइमा पुग्ने गरी, ललिता निवास प्रकरणका दोषीलाई कारबाही गर्ने गरी र अरू सबै खाले भ्रष्टाचारका विरुद्ध दृढतापूर्वक सरकार अघि बढेको छ । यसमा सबैले सरकारलाई सहयोग गर्नुपर्छ । भ्रष्टाचारविरुद्ध सरकारले चालेको अभियानले सरकार बलियो बनेको छ । अहिलेको अवस्थामा फेरबदल पनि हुँदैन । सरकार ढल्ने वा ढाल्ने प्रक्रियाबाट गयो भने अहिले ज–जसले नेतृत्व गरिरहेका छन् उहाँहरू हिरो बन्न पाउने गोल्डेन चान्स समाप्त हुन्छ ।

अन्त्यमा सभामुख भएर जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति पार्टीको केन्द्रीय उपाध्यक्ष र प्रवक्ताको जिम्मेवारीमा हुँदा कस्तो अनुभूति भइरहेको छ ?
यसअघि ११ वर्षपहिले पनि म पार्टी प्रवक्ताको जिम्मेवारीमा थिएँ । निकै ठुला फेरबदलपछि पुनः प्रवक्ताको जिम्मेवारीमा फर्किएको छु । सूचना प्रविधिको विकाससँगै धेरै परिवर्तन भएका छन् । डिजिटल प्रविधिले गुणात्मक फड्को मारेको छ । यो चुनौतीपूर्ण र सम्भावनाको अवस्थामा चुनौतीलाई स्वीकार गरेर जिम्मेवारीमा फर्किएको छु । परम्परागत मिडिया, डिजिटल मिडिया र सोसल मिडियालाई कति प्रभावकारी ढङ्गले परिचालन गर्न सकिन्छ ? त्यसमा मैले ध्यान केन्द्रित गरेको छु । समग्र पक्षको विश्लेषण गरेर प्रभावकारी रूपमा काम गर्ने गरी आफ्ना योजना बनाएको छु ।

तपाईको प्रतिक्रिया