बुधबार, मंसिर २०, २०८०
Wednesday, December 6, 2023

टोकियो – जापानमा रहेको नेपाली समुदायका हकहित, सुरक्षा र सहयोगका लागि नेपाली दूतावास र एनआरएनए जापानले मिलेर कार्य गर्ने भएका छन् । नेपाली दूतावासले एनआरएनए जापानसँग विगतदेखि गर्दै आइरहेको सहकार्यलाई निरन्तरता दिँदै मिलेर कार्य गर्न भएको हो ।

जापानका लागि नेपाली राजदूतावास टोकियो जापानले शनिबार एनआरएनए जापानको नवनिर्वाचित राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी र सदस्यहरूको लागि आयोजना गरेको स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रममा राजदूत डा. दुर्गाबहादुर सुवेदीले उक्त प्रतिबद्धता व्यक्त गरेका छन् । एनआरएनए जापान र दूतावासका बिचको सहकार्य र सुसम्बन्धका कारण जापानस्थित नेपाली समुदाय, विश्वभरका नेपाली माझ र देशमा पनि सकारात्मक सन्देश गएको उल्लेख गर्दै राजदूत डा. सुवेदीले यो सहकार्यलाई निरन्तरता दिनका लागि आग्रह गरे ।

एनआरएनए जापानलाई सफल बनाउनु भनेको एम्बेसी पनि सफल हुनु हो भएको उनको भनाई छ । ‘दूतावास एनआरएनए जापानको टिमसँग मिलेर हरेक कार्य गर्न पूर्ण प्रतिबद्ध छ,’ नवनिर्वाचित एनआरएनए जापानको टिमलाई स्वागत गर्दै राजदूत डा सुवेदीले भने, ‘हामी सकारात्मक पनि छौँ, रचनात्मक पनि छौँ, कुनै पनि पदीय अहङ्कार नराखीकन दाजुभाइ दिदी बहिनीको व्यवहार गरेर हरेक कार्यसम्पादन गर्ने छौँ ।’

जापानमा नेपालीको सङ्ख्या बढ़ेसँगै समृद्धि र पुँजी मात्र बढेको नभई समस्या पनि बढेर गएको तर्फ इंगित गर्दै डा. सुवेदीले यस्ता समस्याको समाधानका लागि एनआरएनए जापान र दूतावास मिलेर सहकार्य गरिनु आवश्यक भएको बताए । ‘नेपालीको सङ्ख्या बढ्दै जाँदा समृद्धि पनि भएको र समस्या पनि बढेर गएका छन्,’ उनले भने, ‘समस्याको समाधानमा मिलेर काम गर्न आवश्यक छ ।’दूतावासमा कर्मचारीको सङ्ख्या कमी भएकोले प्रभावकारी सेवामा असर परेको बताउँदै कामको चाप बढिरहेकोले यसको व्यवस्थापनमा एनआरएनए जापान र दूतावासले सहकार्य गरेर जानु आवश्यक रहेको राजदूत डा सुवेदीको भनाई छ । एनआरएनए जापानले हटलाइन टेलिफोन सेवा सञ्चालनमा ल्याएपछि दूतावासको कामको बोझ केही कमी आएको उक्त अवसरमा राजदूतले बताए । उनले दूतावासको टेलिफोन नउठ्ने समस्या पनि कर्मचारीको कमीले गर्दा भएकोले नेपाल सरकारले दूतावासका लागि कर्मचारी थप प्रक्रिया अगाडि बढाइने आश्वासन दिएका बताए । कर्मचारी बढेसँगै यो समस्या हटेर जाने उनको भनाई छ ।

कार्यक्रममा बोल्दै एनआरएनए जापानका अध्यक्ष नविन निउरेले नेपाली दूतावासद्वारा प्रदान गरिने सेवा जापानमा रहेका नेपाली नागरिकलाई छिटो छरितो, सहज सरल र पहुँच योग्य बनाउन घुम्ती सेवालाई वार्षिक नियमित कार्यक्रमकै रूपमा राखेर लैजानु पर्ने बताए । एनआरएनए जापानले गत वर्ष पनि सक्रिय रूपमा घुम्ती सेवा सञ्चालनका लागि दूतावासलाई सहयोग गरेको उनले बताए । यसवर्ष पनि विगतका सिकाइलाई आत्मसात् गर्दै एनआरएनए जापानका क्षेत्रीय समितिलाई बढी जिम्मेवार दिने गरी आफूहरू सहयोग गर्न तयार अध्यक्ष निउरेको भनाई छ ।

नेपाली समुदायमा आइपर्ने समस्या र त्यसको समाधानका लागि दूतावास, एनआरएनए र सामाजिक संघ संस्था मिलेर प्रभावकारी कार्यक्रम सञ्चालन गरिनु पर्ने आवश्यकता औल्याउँदै अध्यक्ष निउरेले दूतावास र एनआरएनएका बिचमा संस्थागत सहकार्यलाई जोड दिई सूचना आदानप्रदान गरिनुपर्ने बताए । जापानमा नेपालीको सङ्ख्या वृद्धि भएको तर दूतावासमा कर्मचारीको कमीले सेवा प्रवाहमा सहज सरल र व्यवस्थित गराउन नसकेको कुरालाई मध्यनजर गरी यसको समाधानका लागि नेपाल सरकारलाई ज्ञापन पत्र बुझाइ एनआरएनए जापानले आवश्यक पहलकदमी लिने अध्यक्ष निउरेको भनाई छ ।

कार्यक्रममा अध्यक्ष निउरे उपाध्यक्ष सिद्धार्थ श्रेष्ठ, महासचिव टिकाराम खरेल, सचिव चन्द्राकुमारी केसी, प्रवक्ता खगराज गौतम सदस्य रामु कँडेल, मञ्जु बन, राम बास्तोला लगायतको उपस्थिति रहेको थियो । एनआरएनए जापानको नव निर्वाचित कार्यसमितिलाई पुष्पगुच्छासहित राजदूतसहितको टिमले स्वागत गरेको थियो । औपचारिक कार्यक्रम उप नियोग प्रमुख अम्बिकाप्रसाद जोशीले सञ्चालन गरेका गरेका हुन् ।

तपाईको प्रतिक्रिया