Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – पछिल्लो एक दशकदेखि युरोप उडान भर्न नपाएको नेपाली जहाजको युरोप यात्राको भविष्य आउँदो कात्तिकमा टुंगो लाग्ने भएको छ । सन् २०१३ देखि युरोपेली संघ (इयू)को कालो सूचीमा रहेको नेपालबारे स्थलगत अध्ययन तथा अनुगमन गरेर फर्किएको इयूको प्राविधिक सहयोग टोलीले आगामी कात्तिकमा प्रतिवेदन बुझाउने भएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार गत आइतबार नेपाल आइपुगेको चार सदस्यीय इयूको प्राविधिक टोलीले नागरिक उड्डयन प्राधिकरणसँगै वायुसेवा कम्पनीको अडिटको काम गरेर फर्किसकेको छ । ‘नेपालले हवाई सुरक्षामा गरेको प्रगतिबारे पुनः अध्ययन गर्न नेपाल आएको उक्त टोली स्थलगत अध्ययनको काम सकेर फर्केको छ,’ उनले भने, ‘प्रारम्भिक प्रतिवेदन केही अगाडि आउने विश्वाससहित कात्तिकसम्म पूर्ण प्रतिवेदन प्राप्त हुने छ ।’

प्रारम्भिक प्रतिवेदनमाथि प्राधिकरणले आफ्नो धारणा राखेपछि पूर्ण प्रतिवेदन आउने र उक्त प्रतिवेदन इयूमा पेस गरेपछि मात्रै नेपाल कालो सूचीबाट हट्ने वा नहट्नेबारे निश्चित हुने छ । उनले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले गत वर्ष गरेको मूल्यांकन र हवाई सुरक्षा मापदण्ड कार्यान्वयनका विषयमा औसतभन्दा उच्च अवस्था देखिएकाले त्यसपछि पनि नेपाल हवाई सुधारका लागि नीतिगत सुधार गरिसकेको बताए । नेपालले हवाई दुर्घटना न्यूनीकरणसम्बन्धी नियमावलीको मस्यौदा र हवाई सुरक्षासँग जोडिएका नियमसमेत संशोधन गरिसकेकाले यस पटक इयूले प्रतिबन्धबारेको निर्णय पुनर्विचार गर्ने आशा गरिएको प्राधिकरणका प्रवक्ता निरौलाको भनाई छ ।

विभिन्न ४१ मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गरेको नेपालले हाल २० गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । सन् २०१० मा एकै वर्ष तीन वटा विमान दुर्घटना र सन् २०११-१२ मा एक-एक विमान दुर्घटना भएपछि सन् २०१३ डिसेम्बर ५ गतेदेखि इयूले नेपाललाई कालो सूचीमा राख्दै आएको छ ।

तपाईको प्रतिक्रिया