Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – संस्थाको लेटरप्याड र अध्यक्षको हस्ताक्षर कपी गरेर सयभन्दा बढी नेपाली जापान आएको खुलासा भएको छ । नेपाल जाइका अल्मुनाई एसोसिएसन (जान)को लेटरप्याड र सोही संस्थाको अध्यक्ष डा. रामचन्द्र भुसालको नक्कली हस्ताक्षर प्रयोग गरी प्रशिक्षार्थी कामदार जापान पुगेको खुलासा भएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट प्रशिक्षार्थी कामदार जापान पठाउन भाषा र संस्कृतिसम्बन्धी परीक्षा लिन स्वीकृति लिएको ‘जान’ भन्ने संस्थाको कागजातको दुरुपयोग गरी प्रशिक्षार्थी कामदार जापान आएका हुन् । गत असारको पहिलो साता जानका भाषा परीक्षकले सामाजिक सञ्जालबाट भाषा परीक्षामा अनुत्तीर्ण भएका ३ जना प्रशिक्षार्थी जापान पुगेको जानकारी पाएपछि संस्थाको लेटर प्याड र अध्यक्ष डा. भुसालको हस्ताक्षर किर्ते गरी अनुचित ढंगबाट परीक्षार्थी कामदारहरू जापान पुगेको तथ्य खुलेको हो ।

संस्थाले असारमै अनुचित ढंगबाट परीक्षार्थी कामदारहरू जापान पुगेकोबारे जानकारी दिएको जानका अध्यक्ष डा. भुसालले बताए । ‘हामीले गत असारको पहिलो सातामा जानको भाषा परीक्षामा अनुत्तीर्ण भएकाहरू जापान पुगेको भेटेपछि सम्बन्धित मेनपावर कम्पनीलाई सोधेका थियौं,’ उनले भने, ‘ती व्यक्तिहरू जापान पुगेको पुष्टि गरेपछि हामीले यो कसरी सम्भव छ भनेर कागजात मगाउँदा कम्पनीले जापान पुगेका व्यक्तिको भाषा उत्तीर्णको नक्कली प्रमाणपत्रको फोटोकपी हामीलाई उपलब्ध गराएको थियो ।’

अध्यक्ष डा. भुसालकाअनुसार गत जेठ २१ गतेको मिति उल्लेख भएको उक्त प्रमाणपत्र जानको लेटरप्याड र अध्यक्षको हस्ताक्षर किर्ते गरिएको थियो । ‘असारको ८ गते वैदेशिक रोजगार विभागलाई यसबारे जानकारी गरायौं र यसमा छानबिन गर्न आग्रह गर्यौं,’ उनले भने । विभागका महानिर्देशक मदन दहालले ३ वर्ष अघिदेखिकै अनुत्तीर्णहरूको सूची मगाएपछि जानले तीन वर्षभित्रमा परीक्षामा अनुत्तीर्ण भएका २ सय ३५ जना परीक्षार्थी कामदारहरूको सूची विभागलाई पठाएको छ । तर, तीमध्ये कति जना जापान पुगे भन्नेबारेमा जानलाई कुनै जानकारी छैन । अध्यक्ष डा. भुसालले अगाडि भने, ‘यो त विभागले थाहा पाउने कुरा हो । श्रम स्वीकृति लिएको भए गयो, नलिएको भए गएन ।’

यससम्बन्धी छानबिन गर्न वैदेशिक रोजगार विभागका प्रशासन शाखा निर्देशक एवं सूचना अधिकारी कविराज उप्रेतीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिलाई छानबिनका लागि १ महिनाको समय दिइएको छ । यो प्रकरणमा कर्मचारीहरूको पनि मिलोमतो हुनसक्ने आशंका छ । विभागले शंकास्पद कागज अनुसन्धान गरिरहेको जानकारी दिँदै छानबिन समितिको संयोजक उप्रतीले अपराधको प्रकृति हेरी म्यानपावर खारेज, इजजातपत्र रद्द, कारोबार रोक्का, संस्था निलम्बन वा जरिवाना हुनसक्ने बताए । अहिले अनुसन्धान भइरहेकाले अपराधी भाग्न सक्ने सम्भावना हुँदा अरू विषय खुलाउन नमिल्ने उनको भनाई छ ।

जानले यसअघि पनि २०७० साल साउन २२ गते नेपाल सरकारले तोकेभन्दा बढी रकम लिएर जापान पठाएको र भाषा फेल भएका व्यक्ति पनि जापान पुगेको सुन्नमा आएकोले त्यसउपर छानबिन गर्न र दोषीलाई विशेष कारबाही गर्न आग्रह गर्दै विभाग, वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय र श्रम मन्त्रालयलाई पत्र लेखेको थियो ।

अघिल्लो एक आर्थिक वर्षको असारसम्म जानबाट भाषा परीक्षा उत्र्तीण गरी ६ सयभन्दा बढी प्रशिक्षार्थी कामदार जापान गएका छन् । उनीहरूलाई जापान पठाउने मेनपावर कम्पनीहरूले अहिले ३ लाखदेखि १० लाख रुपियाँसम्म शुल्क लिने गरेका छन् । यद्यपि, सरकारले तोकेको शुल्क भने ५० हजार रुपियाँ मात्र हो ।

वैदेशिक रोजगार विभागले सम्बन्धित १४ मेनपावर कम्पनीलाई अनुसन्धानको दायरामा ल्याएको छ । वैदेशिक रोजगार विभागले जानलाई भाषा परीक्षा लिइदिन भनी काटेको पत्र र जानले विभागलाई पठाएको भाषा परीक्षा उत्तीर्ण भएका प्रशिक्षार्थी कामदारको नामावली भएको पत्रलाई भिडाउनेबित्तिकै किर्ते कागजबाट जापान पठाउने मेनपावर कम्पनी पत्ता लाग्ने भए पनि विभागले लामै समय लगाएर छानविन गरेको हो ।

तपाईको प्रतिक्रिया