शनिबार, जेठ १२, २०८१
Saturday, May 25, 2024

काठमाडौं – सर्वोच्चमा तारिख लिएर फर्किने क्रममा भारती मानन्धर अदालत परिसमै ढलेकी छन् । आफ्ना पति चेतन मानन्धरको हत्याका अभियुक्त ‘रिगल’ भनिने योग ढकाललाई आममाफी दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट निवेदन दिएकी भारती तारिख लिएर फर्किने क्रममा बेहोस् भएर ढलेकी हुन् ।

उनलाई प्रहरीले उठाएर केहीबेर बेञ्चमा राखेर अस्पताल पठाएको थियो । श्रीमान् चेतनको हत्यामा दोषी ठहर भएका रिगलको संविधान दिवसको अवसर पारेर सजायमा छुट दिने सरकारको निर्णय बदर गर्न माग गर्दै आइतबार सर्वोच्चमा रिट निवेदन दिएकी थिइन् ।

मंगलबार न्यायाधीश कुमार चुडालको इजलासमा पेशी परे पनि सुनुवाइ भएन । रिटको अर्को पेशी बिहीबारका लागि तोकिएको छ । २०७२ साल असार २८ गते नेपालगञ्जको धम्बोजी चोकमा चेतनमाथि खुँडा प्रहार गरी हत्या गरिएको थियो ।

उक्त हत्या अभियोगमा रिगललाई जिल्ला अदालत बाँकेले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

तपाईको प्रतिक्रिया