काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनमा अध्यक्ष पदका प्रत्यासी महेशकुमार श्रेष्ठले विदेशमा रहेका नेपाली श्रमिकहरुको हकहितका लागि १० करोड रुपैंयाँ बराबरको कोष खडा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मध्यपूर्व र एसियाका देशहरुको भ्रमणका क्रममा कुवेत पुगेका उनले नेपाल सरकार, वैदेशिक रोजगार व्यवसायी संघ र दातृ निकायसंग समन्वय गरी कम्तीमा रु १० करोडको श्रमिक कल्याण कोष खडा गर्ने प्रतिबद्धता जनाएका हुन् । त्यस्तै उनले एनआरएनए राहत कोषमा पाँच लाख रुपैयाँ अनुदान दिने पनि घोषणा गरे ।‘मध्यपूर्व साथै एसियाका देशहरुको भ्रमणका क्रममा धेरै भन्दा धेरै नेपालीहरुको श्रमसम्बन्धी समस्या रहेको पाएँ । त्यसका लागि प्रत्येक बर्ष १० करोड रुपैंयाँ संकलन हुनेगरी कोष खडा गर्ने प्रतिबद्धता जनाउँदछु । यो काम विजयी भएर गएको पहिलो बर्ष बाट नै सुरु गर्नेछु,’ उनले भने,‘त्यस बाहेक सरकारसँग मिलेर नीति निर्माणमा प्रशस्त कामहरु गर्नुपर्नेछ । घरेलु कामदार तथा श्रमिकको समस्या, दोहोरो श्रम सम्झौता, श्रम सहचारी र श्रम स्वीकृतिका क्रममा हुने झन्झट नीतिमार्फत समाधान गर्नुपर्ने हुन्छ ।त्यस्तो नीति बनाउन नेपाल सरकारसंग पहल गर्ने मेरो पहिलो प्राथमिकता हुने छ ।’
श्रेष्ठले विदेशमा रहेका नेपालीहरुको भूगोल वा देशका आधारमा फरक फरक समस्याहरु हुने गरेकाले विद्यार्थी र श्रमिकका समस्या समाधान गर्न सरकारसंग सहकार्य जरुरी रहेको औंल्याए । ‘एनआरएनए आइसीसीको काम भनेको नीति बनाउने हो र एनसीसीको काम मानवीय आपतविपतमा सहयोग गर्ने हो । दुवैको सहकार्यमा हामी प्रवासका नेपालीहरुको हक हितमा नै काम गर्छौं,’ उनले अगाडि भने,‘म विभिन्न क्षेत्रका विज्ञहरुलाई राखेर भिजनरी खाका बनाएर काम गर्छु । काम गर्नका लागि नै चुनावी दौडाहामा छु । सबैको सहयोगको अपेक्षा गरेको छु ।’
साउदी अरब, दुबइ, मलेसिया, बहराइन लगायतका देशको भ्रमण गरिसकेपछि उनले आफू उत्साहित भएको उनले प्रतिक्रिया दिए । ‘डेलिगेट्स र गैर आवासीय नेपालीहरुको साथ सहयोगले विजय नजिक पुगेको अनुभूति भइरहेको छ । परिणाम सकारात्मक आउँछ भन्नेमा विश्वस्त छु,’ उनले भने ।
विदेशिनु नेपालीहरुको बाध्यता भएकाले गरिबी न्यूनीकरण गर्दै नेपाललाई समृद्धितर्फ लैजान एनआरएनएको ठूलो भूमिका हुने भन्दै श्रेष्ठले बार्षिक २० खर्ब बढी आम्दानी गरिरहेका विदेशका नेपालीहरुसंग ठूलो सम्भावना रहेको औंल्याए । लहडमा बनाइएका कतिपय नीति तथा कानूनहरुका कारण नेपालीहरुले दुःख पाईरहेको उनको प्रतिक्रिया थियो । उनले दुई बर्ष भित्रमा एनआरएनएलाई एकता र सुदृढ बनाएर पद्धति बसाउने पनि प्रतिज्ञा गरे ।
भदौ २९ गते ललितपुरको हिमालय होटलमा एक भब्य समारोहबीच २०२३-२५ का लागि एनआरएनए अध्यक्ष पदमा उम्मेदवारी घोषणा र प्रतिबद्धता पत्र सार्वजनिक गरेपछि जापान भ्रमण सकेर श्रेष्ठले मध्यपूर्व र एसियाली देशका गैर आवासीय नेपालीहरुसंग भेटघाट गरेका हुन् । ***