Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – परम्परागत नौमती बाजा नेपाली लोकबाजाहरु मध्यको अत्यन्तै महत्वपूर्ण बाजा मानिन्छ । यसको संरक्षण र संवर्द्धनमा देशभित्र मात्र नभए देशबाहिर पनि तन्नेरी पुस्ताका नेपालीहरु लागिपरेका छन् । युरोप, अमेरिका, बेलायत, अष्ट्रेलियाका नेपालीहरुका साथै जापानमै पनि यो बाजाको संरक्षण र संबर्द्धन गर्न भनेर विभिन्न समुहहरु क्रियाशील छन् ।
ती मध्य नौमती बाजा समुह ओसाका पनि एक हो । सो समुहका सचिव मेघराज रिष्मेलीका अनुसार विदेशमा भएता पनि नेपाली लोक बाजाहरु मध्यकै उत्कृष्ट एवं मौलिक बाजा नौमती बाजाको जगेर्ना गर्नुका साथै नेपाली कला, सँस्कृति र चाड पर्व एवं परम्परामा आधारित मनोरञ्जन दिलाउने उद्देश्यले नेपाली एकता समाज जापानको पहलकदमीमा सन् २०१७ मा नौमती बाजा समुह ओसाकाको स्थापना भएको हो । स्थापना भएयता सो बाजा समुहले विभिन्न कार्यक्रमहरुमा गएर आफ्नो कला देखाउने, आफ्नै घरगाउँको झल्को दिलाउने खालको मनोरञ्जन दिलाउने र बाजाको महत्व बारे नेपाली तथा जापानी समुदायमा प्रकाश पार्दै नेपाल र नेपाली कल्चरलाई उजागर गर्ने कार्य गर्दै आईरहेको छ ।

सो समुहका अध्यक्ष गोपाल खत्रीका अनुसार यसरी विभिन्न कार्यक्रमहरुमा गएर हुने आम्दानीबाट एउटा कोष स्थापना गरिएको र कोषमा आकर्षक रकम जम्मा भएपछि निकट भविष्यमै बाजा समुह र यसको कार्यक्षेत्र थप बिस्तार गर्ने, वाद्यवादनका सामग्रीहरुको उचित ब्यवस्थापन गर्ने, वाद्यवादकहरुमा निहित सीप तथा दक्षता अभिबृद्धि गर्ने र जापानको सम्बन्धित निकायमा दर्ता गर्ने लगायतका भावी योजना रहेको छ । नेपालका सबैजसो पहाडी जिल्लाहरुका साथै काठमाडौं उपत्यका र तराई क्षेत्रमा समेत ठाउँअनुसारको नौमती बाजा बजाउने प्रचलन छ । खासगरी चाडपर्व, मेला महोत्सव, बिबाह, भोजभतेर जस्ता शुभकार्य र मठमन्दिरहरुमा पूजाआजा गर्दा नौमती बाजाको रौनकताले माहौल नै अर्कै बनाईदिने गर्दछ । धेरैजनाको समुहले ताल र सुर मिलाएर बजाउनुपर्ने यसको विशेषता आफ्नै खालको छ । नौथरिका बाजा हुने भएकोले नौमती बाजा भनिने यसमा कुनै एक बाजाको अभावमा यसको स्वाद अपूरो हुने हुँदा सबै बाजाहरु अनिवार्य मानिन्छन् ।

धेरैजना सदस्यहरुको आवश्यकता पर्ने हुँदा ठूलो समुहको संयोजन गरी समयको ब्यवस्थापन गर्न विदेशको ठाउँमा चुनौतीपूर्ण मानिन्छ । तथापि समान रुची, इच्छा र चाहना भएका ब्यक्तिहरु यस्ता समुहमा जोडिन आउने गरेको र वाद्यवादक मात्र नभई शुभचिन्तक र समर्थकहरुको पनि आफ्नो बाजा समुहलाई दरिलो साथ रहेको सचिव रिष्मेली बताउँछन् ।

परापूर्वकालमा एउटा निश्चित वर्ग र समुदायले मात्रै आफ्नो पेशा-ब्यवसायकारुपमा गर्दै आएको बाजा बजाउने कर्म अहिले त्यो साँगुरो घेरा तोडेर रुची र सीप हुने जो कोहीले जुनसुकै भूगोलमा बसेर गर्न सक्ने सम्मानित कर्म भएको छ । यसलाई अझ ब्यवस्थित, मर्यादित र ब्यवसायिक बनाउन सो क्षेत्रमा लागिपरेकाहरुको बेलैमा ध्यान जानु आवश्यक छ । नेपालीहरुको जापान आगमनमा भएको तिब्र बढोत्तरीसंगै जापानमा हुने नेपालीहरुको बाक्लो गतिविधिहरुमा नौमती बाजाबाट समारोहको शुभारम्भ तथा उदघाटन गर्ने प्रचलन बढाउन सके बाजाको प्रभावकारी प्रचारप्रसार हुन सक्ने देखिन्छ । यसप्रकारका बाजा समुहले आफुलाई परिस्कृत र स्तरोन्नती गर्दै दीर्घकालिन योजना सहित समुदायमा आफ्नो उपस्थिति बढाउने र समुदायलाई बाजाको आवश्यकताको बोध गराउन सक्नुपर्दछ । न कि कसैले बोलाउला र जाऔंला भनेर होईन कि, बोलाऊँ, बोलाऊँ लाग्ने वातावरणको निर्माण गर्न समुदायमा घुलमिल हुने आफ्ना कुराहरु राख्ने, अपिल गर्ने, प्रस्ताव राख्ने, बाजाको संरक्षण गर्नु सबै नेपालीको कर्त्तब्य हो भन्ने महशुस गराई सहयोग र सहकार्यका लागि आह्वान गर्ने जस्ता बिषयमा पहल गर्नुपर्ने देखिन्छ ।***

तपाईको प्रतिक्रिया