आइतबार, मंसिर १७, २०८०
Sunday, December 3, 2023

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए आइसीसी) अध्यक्ष रविना थापाले सङ्घको आसन्न ११ औँ महाधिवेशनका लागि पुनःअध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छन् । उनले काठमाडौँको होटल र्‍याडिसनमा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेकी हुन् ।

दशौँ महाधिवेशनमा निर्वाचन हुन नसकेपछि अध्यक्ष पदका तीनै जना उम्मेदवारले पालैपालो अध्यक्षकारूपमा काम गर्ने सहमति भएको थियो । उम्मेदवारी घोषणा गर्दै उनले एनआरएनए ग्लोबल फण्डको महत्त्वाकांक्षी कार्यक्रम घोषणा गरेकी छन् । ‘म नेतृत्वमा पुगेलगत्तै एनआरएनए ग्लोबल फण्ड स्थापना गरिनेछ,’ अध्यक्ष थापाले भनिन्, ‘जुन नेपाल र नेपालीको समृद्धिका लागि सारथि मात्र होइन, सङ्कट पर्दाको सञ्जीवनीसमेत हुनेछ ।’

एनआरएनएको प्रत्येक सदस्यले गर्व महसुस गर्ने यो कोष सङ्घको सबैभन्दा ठूलो कोष हुने उनले बताइन् । एनआरएनएको इतिहासमा पहिलो पटक अध्यक्ष महिलाकारूपमा छोटो अवधि काम गरेको आधारमा निर्वाचित भएर एक कार्यकाल काम गर्न चाहेको उनको भनाइ थियो ।

संघको अबको नेतृत्व समझदारी, सहकार्य र एकताको पक्षपाती हुनुपर्ने आवश्यकतामा जोड दिँदै अध्यक्ष थापाले यो संयोजनकारी भूमिकामा आफू नै उपयुक्त र सक्षम रहेको दाबी गरिन् । चरम गुटबन्दी, राजनीतिक चलखेल, विवाद र व्यापारीकरणले सङ्घको गरिमा घटेको र गलत सन्देश गएको उल्लेख गर्दै अध्यक्ष थापाले राजनीतिक आग्रह पूर्वाग्रहभन्दा माथि उठी सक्षम, सबल गतिशील र संयोजनकारी नेतृत्व चयन गर्न एनआरएनएका सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई आग्रह गरिन् ।

तपाईको प्रतिक्रिया