Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण सफल भएको बताएका छन् । प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा सँगै रहेका मन्त्री साउदले आर्थिक एवं कूटनीतिक दृष्टिकोणले प्रधानमन्त्रीको भ्रमण सफल भएको बताएका हुन् ।

चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छ्याङसँग भएका प्रधानमन्त्री प्रचण्डका द्विपक्षीय भेटवार्ता महत्त्वपूर्ण भएको साउदले बताए । दुई देशबीच भएका समझदारी एवं सम्झौताहरू पनि नेपालको हित एवं आर्थिक विकासका पक्षमा रहेको उनको भनाइ थियो ।

‘अगामी दिनमा चीनले नेपाललाई उपलब्ध गराउने अनुदान कार्यक्रमलाई प्रभावकारी ढङ्गबाट अघि बढाउने सहमति भएको छ,’ उनले भने, ‘दुई देशबीच भएका विभिन्न १३ वटा सम्झौता र समझदारी तथा दुई देशबीच परम्परागत सबै नाका खोल्ने सहमतिको परिणाम आगामी दिनमा नेपालको हितमा आउनेमा विश्वास छ ।’

भ्रमणका क्रममा चीनले लामो समयदेखि नेपाललाई उपलब्ध गराउँदै आएका अनुदान परियोजनालाई प्रभावकारी ढङ्गबाट अगाडि बढाउने विषयमा कुराकानी भएको र नाका खोल्ने विषयमा चीन सरकार पूर्णरूपमा सहमत भएको उनको भनाइ छ । अब नाका खोल्ने विषयको प्रक्रिया छिट्टै अगाडि बढ्ने विषय सुनिश्चित भएको पनि मन्त्री साउदले बताए ।

विसं २०७२ को भूकम्प र कोरोना महामारीका कारण बन्द भएका नाकाहरू पुनः सञ्चालन गर्ने र केही नाकाको स्तर वृद्धिसमेत गर्ने सहमतिले सीमा क्षेत्रका नागरिकका लागि पनि यो खुसीको विषय भएको उनको भनाइ छ।

त्यसैगरी दुई देशका बीचमा त्यति ठूलो सीमा विवाद नभए पनि सीमालाई अद्यावधिक गर्नुपर्ने भएकाले सीमा क्षेत्रमा निरीक्षणका लागि दुवै देशको संयुक्त टोली बनाइ काम गर्ने सहमति भएको मन्त्री साउदले बताए ।

चीनसँग नेपालको व्यापार घाटा कम गर्न कृषिजन्य वस्तुको उत्पादन र चीन निर्यात गर्न सकिने उनको भनाइ छ । यसका लागि नेपालको कृषि उपजका साथै याक, गाई, चौँरीआदिको प्रजननको व्यवस्था नेपालमा भित्र्याउने विषयमा पनि चीनसँग महत्वपूर्ण सहमति भएको उनको भनाइ छ ।

कृषि क्षेत्रको विकासका सन्दर्भमा यो सम्झौता महत्वपूर्ण विषय भएको र यसले नेपालको कृषि उपजलाई चीन निर्यात गर्न र नेपालमा कृषिमा आधारित उद्योग धन्दाहरू खोल्नका लागि सहयोग पुग्नेमा मन्त्री साउदले विश्वास व्यक्त गरे ।

‘हामीकहाँ कृषिजन्य वस्तुको उत्पादन निकै कम छ र त्यसमा पनि निर्यातजन्य वस्तु उत्पादन अझै कम छ,’ मन्त्री साउदले भने, ‘नेपालले लामो समयदेखि केही निर्यातजन्य उत्पादनमा चीन सरकारसँग छुटका लागि पहल गरिरहेको विषयमा पनि महत्वपूर्ण छलफल हुनुलाई भ्रमणको उपलब्धिका रूपमा लिएका छौँ ।’

तपाईको प्रतिक्रिया