काठमाडौं – काठमाडौँ महानगरपालिका र सामाजिक अभियन्ता ईः को टोलीबीच वार्ता भइरहेको छ । वार्तामा काठमाडौँका मेयर बालेन साह र अभियन्ता ईः भने उपस्थित छैनन् ।
महानगरले ईः सँग वार्ता गर्न वार्ता टोली बनाएको थियो । ईः फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापन गर्नुपर्ने मागसहित विरोधमा राष्ट्रिय सभागृहअघि ८ दिनदेखि उभिएर प्रदर्शन गरिरहेका छन् । वार्तामा मेयर साह नआउने भएपछि अभियन्ता ईः पनि नगएका हुन् ।
वार्तामा महानगरका प्रवक्ता नवीन मानन्धर, वडाध्यक्ष चीनकाजी महर्जन, कानुन विभाग प्रमुख वसन्त आचार्य, कुमार व्यञ्जनकार र धिरज जोशी सहभागी छन् भने ईःको टोलीबाट विवेकशील साझाका सहसंस्थापक गोविन्द नारायणको नेतृत्वमा अधिवक्ता सञ्जय अधिकारी, प्रज्वलत्ता कार्की, सडक व्यवसायीका प्रतिनिधि सुजन गिरी र सहरी पूर्वाधार विज्ञ राज महर्जन सहभागी छन् ।
आजै उपमेयर सुनिता डंगोलले अभियन्ता ईः लाई गएर भेटेकी थिइन् । भेटमा उनले ईः ले उठाएका मागहरूप्रति महानगर संवेदनशील रहेको बताएकी थिइन् ।