काठमाडौं – सरकार र नेपाल शिक्षक महासंघबीच भएको सहमतिप्रति असहमति राख्दै राहत शिक्षकहरुले विरोध प्रदर्शनलाई निरन्तरता दिएका छन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा राहत शिक्षकहरुले प्रदर्शनलाई निरन्तरता दिएका हुन् ।
सोमबार पनि शिक्षकहरुले काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म प्रदर्शन गरे । बानेश्वरमा पुगेर उनीहरुले सडकमा सुतेरै विरोध जनाएका थिए । सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भए पनि त्यसले आफूहरुको माग सम्बोधन नगरेको उनीहरुको भनाई छ ।
राहत शिक्षकहरुले शिक्षक महासंघले धोका दिएको भन्दै आफूहरुको माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने बताएका छन् । उनीहरुले ४० हजार राहत शिक्षक, बाल विकासका शिक्षक र पेन्सन पीडित शिक्षकहरु आफूहरुसँग आन्दोलनमा रहेको पनि दाबी गरेका छन् ।