Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – भारतको नयाँ दिल्लीमा यही सेप्टेम्बर २६ र २७ मा ‘इन्डो-प्यासिफिक आर्मी चिफ कन्फ्रेन्स’ हुँदै छ । सम्मेलनमा नेपालसहित इन्डो-प्यासिफिक (हिन्द-प्रशान्त) क्षेत्रका ३० देशका सेना प्रमुखहरू सहभागी हुने कार्यक्रम छ ।

भारतीय सेनाले हिजो बुधबार नयाँ दिल्लीमा आयोजना गरेको पत्रकार सम्मेलनमा अमेरिकी सेनाका चिफ अफ स्टाफ जनरल जेम्स सी म्याकनभिलले भारतीय सेना प्रमुख जनरल मनोज पाण्डेसँगको सह-आयोजनामा सम्मेलन आयोजना हुने जानकारी दिए ।

आगामी साता नयाँ दिल्लीमा हुन लागेको इन्डो-प्यासिफिक क्षेत्रका सेना प्रमुखहरूको सम्मेलनको १३ औं संस्करण हो । यसअघि १२ वटा यस्ता सम्मेलन भइसकेका छन् । यसपटकको सम्मेलनलाई विशेषरूपमा हेरिएको छ । किनभने भारत र क्यानडाबीच तनाव बढिरहेका बेला यो सम्मेलन हुँदै छ । सम्मेलनमा क्यानडा अनुपस्थित भए त्यसको सन्देश अर्कै हुने छ । अमेरिकी नेतृत्वमा अघि बढिरहेको हिन्द-प्रशान्त गतिविधिको गतिमा ‘ब्रेक’ लाग्ने छ ।

तनाव जति नै बढ्दै गए पनि क्यानडाका सेना प्रमुख सम्मेलनमा सहभागी हुने कुरामा हालसम्म भारत विश्वस्त छ । बुधबारको पत्रकार सम्मेलनमा भारतीय सेनाका अतिरिक्त महानिर्देशक (रणनीतिक योजना) मेजर जनरल अभिनय रायले भारतले क्यानडासँग कूटनीतिक र सैन्य तहमा संलग्नता जारी राख्ने बताए । मेजर जनरल रायले भारत र क्यानडाबीच जे भइरहेको छ, त्यसले कुनै असर नगर्ने बताए ।

यस्तो छ भारत र क्यानडाबीचको तनावको शृङ्खला
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार हरदीप सिंह निज्जरको हत्यामा भारत सरकारको हात हुन सक्ने आशंका व्यक्त गरेका थिए । उनले क्यानडाको संसद्लाई सम्बोधन गर्ने क्रममा उक्त कुरा बताएका थिए । गएको जुन १८ मा क्यानडाको ब्रिटिस कोलम्बियामा शिख पृथकतावादी अभियन्ता हरदीप सिंह निज्जरको हत्या गरिएको थियो । ब्रिटिस कोलम्बियाको सरे सहरमा सिख मन्दिरबाहिर ४५ वर्षीय निज्जरको गोली हानी हत्या गरिएको थियो ।

भारतको पञ्जाब राज्यलाई टुक्राएर एक अलग सिख देश ‘खालिस्तान’ बनाउनुपर्ने माग राख्दै सुरु गरिएको आन्दोलनका निज्जर प्रमुख अभियन्ता भएको भारतीय विश्वास छ । क्यानडाले उक्त घटनामा भारतीय सरकारी एजेन्टको संलग्नताको आरोप लगाएसँगै दुई देशबीच तनाव बढेको हो ।

ट्रुडोले भारतमाथि आक्षेप लगाएलगत्तै क्यानडाकी विदेशमन्त्री मेलानी जोलीले भारतको खुफिया एजेन्सी रिसर्च एन्ड एनालिसिस विङ (रअ) का अधिकारी पवनकुमार रायलाई क्यानडाबाट निष्कासन गरिएको घोषणा गरिन् । त्यसको बदलास्वरूप मंगलबार भारतले क्यानडाका एक कूटनीतिज्ञलाई पाँच दिनभित्र देश छाड्न निर्देशन दियो । भारतको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै क्यानडाका प्रधानमन्त्रीले लगाएको आरोप अस्वीकार्य भएको बतायो ।

भारतले प्रतिक्रिया जनाएपछि क्यानडाका प्रधानमन्त्री ट्रुडोले मंगलबार भने, ‘सिख पृथकतावादी नेताको हत्यामा भारतीय एजेन्टको संलग्नता रहेको आशंका व्यक्त गर्नु पछाडिको उद्देश्य भारतलाई उक्साउनु थिएन । क्यानडा चाहन्छ, भारतले यस घटनालाई ठिक तरिकाले सम्हालोस् ।’ क्यानडाका प्रधानमन्त्रीले यस घटनालाई गम्भीरताका साथ लिन भारतलाई आग्रहसमेत गरे । यो एकदमै गम्भीर विषय भएकाले अन्तर्राष्ट्रिय कानूनमा यसले दूरगामी असर गर्ने चेतावनीसमेत उनले भारतलाई दिए ।

एक-अर्काको देश नजान ‘ट्राभल एडभाइजरी’
क्यानडा र भारत दुवै यत्तिमै रोकिएनन् । स्थानीय समयअनुसार क्यानडाले मंगलबार एक ट्राभल एडभाइजरी जारी गर्दै भारतमा रहेका आफ्ना नागरिकलाई एकदमै सावधान रहन अनुरोध गर्‍यो ।अप्रत्याशित सुरक्षा स्थितिका कारण केन्द्र शासित जम्मू-कश्मीरको यात्राबाट जोगिन क्यानडाले आफ्ना नागरिकलाई अनुरोध गर्‍यो ।
मंगलबार जारी गरिएको ट्राभल एड्भाइजरीमा क्यानडाले भनेको छ, ‘जम्मू-कश्मीरमा आतंकवाद, उग्रवाद, अशान्ति र अपहरणको खतरा छ । यसमा लद्दाखको यात्रालाई समेटिएको छैन ।’

क्यानडाले भारतको पूर्वोत्तर क्षेत्रमा पनि आफ्ना नागरिकलाई नजान सल्लाह दिएको छ । गुजरात, पन्जाब र राजस्थानको पाकिस्तानसँग सीमा जोडिएका क्षेत्रमा नजान क्यानडाले भनेको छ । क्यानडालाई जवाफ दिन भारतले पनि बुधबार ट्राभल एडभाइजरी जारी गर्‍यो । भारतले क्यानडामा रहेका र क्यानडा जान चाहने आफ्ना नागरिकलाई ‘अत्यन्त सावधानी अपनाउन’ अनुरोध गर्‍यो ।

भारतको विदेश मन्त्रालयले जारी गरेको ट्राभल एडभाइजरीमा क्यानडामा बढ्दो भारत विरोधी गतिविधि र घृणा अपराधलाई ध्यानमा राख्दै त्यहाँ रहेका भारतीय नागरिकहरू र यात्रा गर्ने विचार गर्नेहरूलाई अन्यन्त सावधानी अपनाउन अनुरोध गरिएको छ ।

हालैका धम्कीहरूले विशेष गरी भारतीय कूटनीतिज्ञहरू र भारत विरोधी एजेन्डाको विरोध गर्ने भारतीय समुदायका वर्गहरूलाई लक्षित गरेको ट्राभल एडभाइजरीमा उल्लेख छ । क्यानडासँग बिग्रिएको सुरक्षा वातावरणलाई ध्यानमा राख्दै भारतको विदेश मन्त्रालयले विशेष गरी भारतीय विद्यार्थीहरूलाई अत्यधिक सावधानी अपनाउन र र्सतर्क रहन अनुरोध गरेको छ ।

अन्य देश पनि तानिँदै
भारत र क्यानडाबीच बढ्दो तनावमा अन्य देश पनि तानिएका छन् । क्यानडाका प्रधानमन्त्रीको भनाइलाई लिएर गम्भीर अभिव्यत्ति दिन थालेका छन् ।
हिन्द-प्रशान्त क्षेत्रमा प्रभावकारी भूमिका खेल्दै आएको अस्ट्रेलियाले भारत र क्यानडाबीचको तनावलाई लिएर मुख खोलेको छ । अस्ट्रेलियाकी विदेश मन्त्री पेनी वोङले क्यानडामा भएको हरदीप सिंह निज्जरको हत्यामा भारतको संलग्नता हुनु ‘चिन्ताजनक’ विषय भएको बताएकी छन् । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्क पुगेकी उनले मिडियाहरूसँग कुराकानी गर्दै उक्त टिप्पणी गरेकी हुन् ।

हिन्द-प्रशान्त क्षेत्रमा चीनलाई एक्ल्याउन अमेरिका, भारत, जापान र अस्ट्रेलियाले महत्वपूर्ण साझेदारी गर्दै आएका छन् । भारत र क्यानडाबीच तनाव बढ्दा अन्य राष्ट्रहरू अप्ठेरोमा परेका छन् । कसलाई साथ दिने वा नदिने उनीहरू अन्योलमा छन् ।

क्यानडाका प्रमुख तीन सहयोगी अस्ट्रेलिया, अमेरिका र बेलायतले आफ्ना धारणा सार्वजनिक गरेका छन् । उनीहरूले जारी गरेका वक्तव्यले क्यानडाका प्रधानमन्त्रीलाई साथ दिएको स्पष्ट देखिन्छ ।
क्यानडाले भारतमाथि लगाएको आरोपप्रति अमेरिकाले गहिरो चासो व्यक्त गरेको छ । ‘क्यानडा अगाडि बढ्नुपर्छ र अपराधीहरूलाई न्यायको कठघरामा उभ्याउनुपर्छ’ अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रियन वाट्सनले प्रतिक्रिया जनाएका छन् ।

यसबीचमा बेलायतले पनि घटनाका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गरेको छ । जुन विषय क्यानडाका अधिकारीहरूले हेरिरहेका छन्, त्यो ठिक भएको बेलायती प्रधानमन्त्रीका प्रवक्ताले बताएका छन् । बेलायतको लेबर पार्टीका सांसद तनमनजीत सिंहले पनि क्यानडाका प्रधानमन्त्रीले भारतमाथि लगाएको आरोप चिन्ताजनक भएको प्रतिक्रिया दिएका छन् ।

इन्डो-प्यासिफिक सम्मेलन
इन्डो-प्यासिफिक आर्मी चिफ कन्फ्रेन्स नयाँ दिल्लीको मानेकशा सेन्टरमा आयोजना हुँदै छ । पूर्वनिर्धारित कार्यक्रमअनुसार दुई दिने सम्मेलनमा इन्डो-प्यासिफिक क्षेत्रमा सुरक्षा सहयोग र सामूहिक रणनीतिबारेमा छलफल हुने छ । सम्मेलनमा क्षेत्रीय आपसी हितका विषय र यस क्षेत्रको संकट न्यूनीकरणमा सैन्य कूटनीतिको भूमिकाबारे पनि छलफल हुने छ ।
विश्वका ६४ प्रतिशत बासिन्दा इन्डो-प्यासिफिक क्षेत्रमा बस्ने गर्छन् । विश्व व्यापारको ४६ प्रतिशत सहित कुल गार्हस्थ उत्पादनमा ६३ प्रतिशत योगदान यो क्षेत्रको छ । दुई दिने सम्मेलनमा तीनवटा कार्यक्रम रहने छन् । इन्डो-प्यासिफिक आर्मी चिफ कन्फ्रेन्स, इन्डो-प्यासिफिक आर्मिज म्यानेजमेन्ट सेमिनार र सिनियर इनलिस्टेड लिडरसिप फोरममा सैनिक प्रमुखहरू सहभागी हुने छन् ।
सम्मेलनमा नेपाल, भारत, अमेरिका, अस्ट्रेलिया, इन्डोनेसिया, जापान, बंगलादेश, मलेसिया, भुटान, ब्रुनाई, कम्बोडिया, दक्षिण कोरिया, माल्दिभ्स, मंगोलिया, म्यानमार, न्युजिल्यान्डलगायतका देशका सेना प्रमुख सहभागी हुने छन् ।

क्यानडाले भारतले आफ्नो देशभित्र हस्तक्षेप गरेको र अशान्ति मच्चाएको आरोप लगाइरहेको छ । यसमा पक्कै पनि सम्मेलनमा सहभागी हुने सदस्य राष्ट्रहरूबीच मतभिन्नता देखिने छ । इन्डो-प्यासिफिक क्षेत्रका राष्ट्रहरूबीच हरदीप सिंह निज्जरको हत्यालाई लिएर मतभिन्नता बढ्दो छ । यस घटनामा अब भारतले क्यानडालाई आश्वस्त पारेर मात्र पुग्दैन, अमेरिका, बेलायत, अस्ट्रेलिया, जापान जस्ता इन्डो-प्यासिफिक क्षेत्रमा खेल्न चाहने शक्ति राष्ट्रको पनि विश्वास जित्नुपर्ने छ ।
अहिलेकै गतिमा क्यानडा र भारतले एक-अर्काविरुद्ध कदम चाल्दै गए सम्मेलनको दिनसम्म ठूलै रूप लिने देखिन्छ । सम्मेलनमा क्यानडाका सेना प्रमुख सहभागी नहुन पनि सक्छन् । यसले झन् जटिलता बढाउने छ । तनाव बढ्दै जाँदा जोखिम भारत र क्यानडाबीच मात्र सीमित हुने हो कि बढ्दै गएर इन्डो-प्यासिफिक क्षेत्रका राष्ट्र र अन्य शक्ति राष्ट्रलाई समेत दुई कित्तामा विभाजन गर्छ, त्यो आगामी दिनले स्पष्ट पार्ने छ । (एजेन्सीहरुको सहयोगमा)

तपाईको प्रतिक्रिया