काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई कार्यशैली सुधार गर्न चेतावनी दिएका छन् । आफु पक्षका केहि नेताहरुलाई साथ लिएर कोइराला सभापति देउवालाई भेट्न उनको निवास धुम्बाराही पुगेका थिए ।
शेखरसँगै उपसभापति धनराज गुरुङ र सहमहामन्त्री जीवन परियार सभापति देउवालाई भेट्न धुम्बाराही पुगेका थिए । त्यसक्रममा कोइरालाले देउवासँग पछिल्लो समय भइरहेका गतिविधिहरु एक्लौटी भएको भन्दै अशन्तुष्टि जनाएको एक नेताले जानकारी दिए । पार्टीका बिभिन्न भ्रातृ संस्था, विभाग लगाएतमा देउवाले एक्लौटी गरेको आरोप इतरपक्षले लगाउदै आएको छ ।
कोइरालाले सरकार विषयमा पनि देउवाको ध्यानाकर्षण गराए । उनले कोशी प्रदेशका विषयमा पनि कुरा राखेका थिए । कोइरालाले अब पनि एकलौटी चले आफूहरु नयाँ ढंगले अगाडि बढ्ने चेतावनी दिएका थिए । जवाफमा देउवाले आफू मिलाएर पार्टीलाई एकताबद्ध बनाएर लैजान तयार रहेको बताएका थिए । कांग्रेस केन्द्रीय समिति बैठक भोलीबाट सुरु हुँदैछ ।
बैठकमा उठाउने एजेण्डा लगाएतका विषयमा इतरपक्षले हिजो भेला गरेका थिए । भेलामा भएको सहमतिअनुसार देउवा निवास धुम्वाराही पुगेर कार्यशैलीप्रति असन्तुष्टि पोखेका हुन् ।