काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनको मिति नजिकिएसँगै उम्मेदवारको चर्चा सुरु भएको छ । नेपालमा लगानी भित्र्याउने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ स्थापना भएको संघमा चुनावी माहोलको चर्चा सुरु भएको हो ।
करिब २० वर्षको इतिहास बोकेको एनआरएनएको ११ औं महाधिवेशन आउँदो अक्टोबर १७-१९ (असोज ३० देखि कात्तिक २ गते) तारिखसम्म काठमाडौंमा हुने तय भएको छ । दुईवर्षको कार्यकालको नेतृत्वको लागि त्रिपक्षीय भिडन्त हुने संकेत देखिएको छ । संघका कार्यकारी अध्यक्ष डा. बद्री केसी, उपाध्यक्ष महेशकुमार श्रेष्ठ र अर्का उपाध्यक्ष राजेन्द्रकुमार (आरके) शर्माबीच प्रतिस्पर्धा हुने सम्भावना देखिएको हो । यद्यपि अध्यक्षकै प्रतिस्पर्धामा वर्तमान कार्यसमिति अध्यक्ष रविना थापा र उपमहासचिव विनय अधिकारी पनि देखिएका छन् ।
तीन ठूला राजनीतिक दलका प्रवासस्थित संगठनहरूले आ-आफ्ना उम्मेदवारहरूलाई जिताउन लविङ सुरु गरिसकेका छन् । नेपाली जनसम्पर्क समितिले श्रेष्ठलाई, प्रवासी नेपाली मञ्चले डा. केसीलाई र नेपाली जनप्रगतिशील मञ्च शर्माको पक्षमा उभिएको छ । महाधिवेशनका लागि आ-आफ्नो पक्षमा उम्मेदवार तान्न र पदको बार्गेनिङ गर्ने काम सुरु भइसकेको छ ।
कांग्रेसले जापानका व्यवसायी, वर्तमान उपाध्यक्ष महेशकुमार श्रेष्ठलाई अध्यक्षमा उठाउने निर्णय गरेको छ । अध्यक्षका लागि श्रेष्ठसँगै महासचिव डा. केशव पौडेल (अमेरिका) पनि आकांक्षी थिए तर उनलाई उपाध्यक्षमा अघि बढ्न भनिएको बुझिएको छ । बाँकी प्यानल बनाउन वर्तमान अध्यक्ष कुल आचार्य र महासचिव केशव पौडेललाई जिम्मेवारी दिएको बताइन्छ ।
माओवादी केन्द्रले मध्यपूर्वका एनआरएनए नेता राजेन्द्रकुमार (आरके) शर्मालाई अघि बढाउने तयारी गरेको छ । माओवादीको समर्थन पाएका शर्माले पछिल्लो ६ महिनामा ३५ देश पुगेर माहोल बनाएका छन् । मध्यपूर्वले पनि एनआरएनएको नेतृत्व पाउनुपर्छ भनेर बहस चलिरहेका बेला माओवादी निकट एनआरएन नेताहरूले यसलाई अवसरको रूपमा लिएका छन् ।
शर्माले एनआरएनए नेतृत्वको लागि देश विकास गर्ने भिजन लिएर आफू अगाडि बढेको बताए । शर्माले हकङकङका एनआरएनए अभियन्ताहरूसँगको छलफल कार्यक्रममा भने, ‘मेरो भिजन भनेको विदेशमा बस्ने केही हजार नेपालीलाई होइन, लाखौं श्रमिक नेपालीलाई धनी बनाउने हो र उनिहरुलाई स्वदेश फर्काउने नै रहेको छ ।’
‘२० वर्ष अगाडि अभियानको सुरुवात अन्तर्गत रसियामा पहिलो एनसीसी खुलेपछि दोस्रो कतारमा खुलेको हो,’ उनले भने, ‘मैले मध्यपूर्वमा बस्ने श्रमिक हुन् या अमेरिका बेलायतमा बस्ने डाक्टर हुन्, सबैलाई अपनत्व हुने गरेर नेतृत्व लिने तयारी गरेको छु ।’
यसैअगरी एमालेले डा. बद्री केसीलाई चुनाव लड्ने तयारी गर्न ढाडस दिएको बुझिएको छ । केसी भने कुनै राजनीतिक पार्टीसंग नजिक भएपनि पार्टीको एजेण्डालाई लिएर अगाडि नबढेको बताउँछन् । ‘पछिल्लो डेढ वर्षको कार्यकाल संस्था र व्यक्ति दुवैको समय बर्बाद भयो । यसलाई खास कार्यकाल नै मान्दिनँ,’ उनले भने, ‘मैले एकै कार्यकाल निर्वाचित भएर अध्यक्ष हुने इच्छा राखेको छु । मेरो पहिलो कार्यकाल नै २०२३-२५ हुन्छ ।’
एनआरएनएको शाखा ८० भन्दा बढी मुलुकहरूमा फैलिएको भनिए पनि झन्डै ५७ देशका करिब ४ हजार २०० प्रतिनिधिहरूले मात्रै केन्द्रीय निर्वाचनमा भाग लिंदैछन् । सेप्टेम्बर १५ सम्ममा महाधिवेशन प्रतिनिधिहरूको अन्तिम टुंगो लाग्नेछ । एनआरएन चुनावमा प्यानल बनाएर निर्वाचन लड्न विधानले बन्देज लगाएको छ । तर नेताहरू विधान कुल्चिएर नेतृत्व हत्याउन लागि परेको देखिन्छ ।
आ-आफ्नो पक्षमा माहौल बनाउन अध्यक्षका प्रत्याशीहरु लागिपरेका छन् । यसैअनुरुप आफ्नो चुनावी दौडाहाकोक्रममा सबैभन्दा अगाडि अघिल्लो महिनामै आरके शर्मा जापान आईपुगेका थिए । उनले जापानबासी नेपालीहरुसंग भेटघाट तथा अन्तरक्रिया गरेका थिए । त्यसपछि लगत्तै जापान आएका डा. बद्रि केसी राजधानी टोकियो हुँदै नागोयाबासी नेपालीहरुसंग अन्तरक्रियामा जुटेका छन् । उनको स्वागतमा नारिता विमानस्थलमा देखिएको नेपालीहरुको भिड हेर्न लायक मात्रै थिएन, अन्य प्रत्याशीका लागि झड्का पनि थियो नै ।
त्यसैको काउन्टरमा उत्रिए अर्का प्रत्याशी महेशकुमार श्रेष्ठका समर्थक तथा शुभचिन्तकहरु । राजधानी काठमाडौंमा आफ्नो उम्मेदवारीको सार्बजनिक घोषणा गरेलगत्तै हालै कर्मभूमि जापान फर्केका श्रेष्ठलाई नारिता विमानस्थलमा नेपालीहरुको ठूलो जमातले स्वागत गरेको दृश्यले सामाजिक सञ्जाल रंगिए । उसो त नारिता विमानस्थलमा आ-आफ्ना समर्थक, शुभचिन्तकहरुले गरिएको स्वागत सत्कारलाई लिएर मिश्रित प्रतिक्रियाहरु नआएका होईनन् । चुनाव हुनु अगावै चुनाव जितेसरहको शक्तिप्रदर्शनकै अर्कोरुपमा यो गतिविधि गरिनु ठीक थियो वा गलत विश्लेषण आ-आफ्नै हुन सक्छन् तर मिलेर बसेको नेपाली समाजलाई यो वा त्यो बहानामा देखिनेगरी विभाजित बनाउने क्रियाकलापले समाजमा अरु धेरै बिषयहरुमा दीर्घकालिन असर पर्न जाने कुरोलाई भने बिर्सन मिल्दैन । निर्वाचन सकिएलगत्तै उम्मेदवारहरु बरु हारजित जे भएता पनि निर्वाचनको परिणाम स्वीकारेर तिक्तता बिर्सेर तुरुन्तै मिलेर पुनः अभियानमा जोडिएलान् तर समर्थक, शुभेच्छुकहरुबीचको तुषको घाउ निको हुन निकै समय लाग्ने गरेको विगत पनि हामीसंगै छ । त्यसैले एउटा माघले जाडो जाँदैन फेरि पनि यहि समाजमा मिलेर नबसी सुखै छैन । बिसौं-तिसौं बर्ष लगाएर स्थापित हाम्रा सम्बन्धलाई एकथान नेतृत्व चुन्ने सवालमा दाउमा राख्नु उचित हुँदैन । त्यसैले यसप्रकारका संवेदनशील बिषयमा पनि स्वयम उम्मेदवारहरु र निजका समर्थक तथा शुभचिन्तकहरुको हदैसम्मको ध्यान जानुपर्ने देखिन्छ ।***