Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) नेपालका प्रमुख ओकुबो आकिमिचुमाथि ढुंगा प्रहार भएपछि जापानको गम्भीर आपत्ति जनाएको छ । प्रदर्शनकारीले प्रहार गरेको ढुंगा लागेर बुधबार जाइका नेपालका प्रमुख आकिमिचु घाइते भएपछि जापानको गम्भीर आपत्ति जनाएको हो ।

उनको गाडीमा पनि क्षति पुगेको छ । घटनालाई लिएर काठमाडौंस्थित जापानी राजदूतावास दूतावासले भनेको छ, ‘लोकतन्त्रमा शान्तिपूर्ण प्रदर्शन गर्नु वाक स्वतन्त्रताअन्तर्गत आधारभूत नागरिक अधिकार हो तर हिंसात्मक क्रियाकलापमा उत्रनुचाहिँ अपराध हो ।’

जापानी दूतावासले अग्रणी भूमिका खेल्ने जाइकाका प्रतिनिधि नै यस्ता घटनामा घाइते हुनु अत्यन्तै खेदजनक भएको विज्ञप्तिमा उल्लेख गरेको छ । ‘अधिकांश नेपालीलाई थाहा भएकै कुरा हो कि जापानले नेपालमा लोकतन्त्रको स्थायित्व र विकासमा एक इमान्दार मित्रका हिसाबले सहयोग गर्दै आइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारले विदेशी पर्यटक तथा वाह्य लगानीलाई प्रवर्धन गरिरहेको अवस्थामा यस्ता घटनाले नेपालको प्रयत्नलाई प्रतिकूल असर पर्दछ।’

दूतावासले नेपालमा बसोबास गर्ने जापानी नागरिकलाई यस्ता घटनादेखि जोगिन सचेत गराएको छ। ‘हामीले नेपालमा बसोबास गर्ने जापानी नागरिकहरूलाई यस्ता घटनादेखि जोगिन सचेत गराएका छौं । त्यसैगरी नेपाल विदेशीहरूका लागि शान्तिपूर्ण तथा आकर्षक मुलुक रहिरहने कुरामा हामी आशावादी छौं,’ विज्ञप्तिमा अगाडि भनिएको छ ।के थियो घटना ?
कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको र गृहमन्त्रीले शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै बुधबार साँझ त्रिचन्द्र क्याम्पस अगाडि नेविसंघले विरोध प्रदर्शन गरेको थियो । प्रदर्शनका क्रममा प्रहरी र नेविसंघबीच झडपसमेत भएको थियो । त्यसबेला उक्त सडक भई गुडिरहेका सवारी साधनलाई प्रहरीले सुरक्षा प्रयोजनार्थ रोकेको थियो ।

त्यही समय, त्यही सडक हुँदै जाइका प्रमुख आकिमिचु कार्यालयबाट निवासतर्फ गइरहेका थिए । उनको गाडी पनि निकैबेर अलि परै रोकियो । स्थिति साम्य भएको भन्दै प्रहरीले गाडी खोलेपछि उनको गाडी पनि अगाडि बढाइएको थियो । त्यो इलाका कट्ने क्रममा उनको गाडीमा प्रदर्शनकारीले हानेको ढुंगा बज्रिन पुग्यो । त्यसका कारण फुटेको सिसा र ढुंगाका टुक्राले जाइका प्रमुखको अनुहारमा लाग्यो ।

उनको ओठमा ठूलो चोट लागेको छ । उनलाई गाडीभित्रै रगताम्य भएको देखेपछि प्रहरीले सुरक्षा दिई त्यहाँबाट अघि बढाइदिएको थियो । आकिमिचु आफैं अस्पताल पुगे । उनको ओठमा भित्र–बाहिरै टाँका लगाइएको प्रहरी स्रोतले बताएको छ ।

तपाईको प्रतिक्रिया