बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

काठमाडौं – सशस्त्र प्रहरीका बहालवाला एक डीएसपी हतारिँदै उपत्यका अपराध अनुसन्धान कार्यालय पुगिन् । केही दिनअघि अपराध महाशाखा पुगेकी उनले अन्जान नम्बरसँग ह्वाट्सएपमा कुरा गर्दा एक हप्ताको अवधिमा १३ लाख गुमाइन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीका अनुसार अनलाइन ठगी गर्ने गिरोहको प्रलोभनमा पर्दा उनले उक्त रकम गुमाएकी हुन् ।

प्रहरीका अनुसार अपरिचित नम्बरबाट आएको ह्वाट्सएप म्यासेजमा उनले कुराकानी गर्ने गरेकी थिइन् । कुराकानी बढ्दै जाँदा ती व्यक्तिले आफू युद्धमा जान लागेको आर्मी भनेर चिनाएका थिए । युद्धका क्रममा परिवार गुमाएको र आफ्नो एउटा खुट्टा पनि गुमाएको जानकारी ती डीएसपीलाई दिएका थिए । निरन्तरको कुराकानी र फोटो भिडियो आदानप्रदान भइसके पछि ति व्यक्तिले बिमावापत आफूलाई निकै पैसा आएको बताएका थिए । उक्त पैसा नेपालकी साथी बनेकी उनै डीएसपीलाई पठाउन लागेको उनले बताए । पैसा कुरियर गरेको फोटो पनि पठाए। त्यसको केही दिनपछि सशस्त्रकी डीएसपीलाई भन्सारबाट गरेको भन्दै एउटा फोन आएको थियो ।

भन्सारबाट फोन गर्ने व्यक्तिले उनको सामान छुटाउनका लागि पैसा लाग्ने भन्दै पैसा पठाउन आग्रह गरे । कोशेलीस्वरुप विदेशबाट पैसा आएको भन्दै ढुक्क भएकी ती डीएसपीले भन्सार एजेन्टले भनेको अकाउन्टमा पैसा पठाइदिइन् । पैसा पाएपछि फोन गर्ने व्यक्ति र ह्वाट्सएपमा कुराकानी गर्ने व्यक्ति हराए ।

प्रवक्ता रेग्मी भन्छन्, ‘ठगी गर्ने व्यक्तिको खोजी भइरहेको छ । ठगीमा विदेशी नागरिक संलग्न भए पनि उसले प्रयोग गरेको खाता भने नेपाली व्यक्तिको थियो । खाता भएका एक चौधरी थरका व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।’ यस्तै सामाजिक सञ्जालमा आएको सूचनामा भर पर्दा भक्तपुरकै एक युवाको ३४ लाख रुपैयाँ ठगी भएको थियो । क्यानडा जाने भन्दै उनले अपरिचित खातामा ३४ लाख रुपैयाँ पठाएका थिए । केही दिनअघि ललितपुरका सुसन घिमिरे अनलाइन ठगी गरेको आरोपमा पक्राउ परेका थिए । उनले अनलाइनबाट चिठ्ठा परेको भन्दै ११ लाख रुपैयाँ ठगी गरेका थिए ।

पछिल्लो समय अनलाइन ठगीको अवस्था भयावह छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले दिएको तथ्याकंअनुसार आव ७८/७९ मा ६७१ जना व्यक्तिहरू अनलाइन ठगीमा परेका थिए । उनीहरूको १२ करोड ३६ लाख ४२ हजार ३५० रुपैयाँ विगो बराबरको रकम ठगी भएको थियो । आव ७९/८० मा यो संख्या बढेर १४५० पुग्यो । उपत्यका अपराध अनुसन्धान कार्यालयमा मात्रै एक वर्षमा १४५० अनलाइन ठगीका उजुरी दर्ता भए । पीडितहरूले दिएको जाहेरीका आधारमा २६ करोड ५६ लाख ७९ हजार २२७ विगो बराबरको रकम ठगी भएको उजुरी परेको थियो ।

उपत्यका अपराध महाशाखाका प्रमुख सोमेन्द्र सिंह राठौरका अनुसार पछिल्लो समय अनलाइन ठगीको अवस्था निकै जटिल छ । छोटो समयमा कमाइ हुने र आर्थिक प्रलोभनमा पर्दा ठगीका घटना बढिरहेको उनी बताउँछन् । राठौर भन्छन्, ‘चिठ्ठा परेको भन्दै प्रलोभनमा पर्ने, विश्वास गर्ने र पैसा गुमाउने टे«न्ड नै बनेको छ । सामान पार्सल, मोबाइल ल्यापटप खरिद बिक्री, फेसबुक आईडी ह्याक गर्ने, ईसेवाको आईडीबाट ठगी गर्नेलगायतका कार्य बढिरहेका छन् ।

अपराध महाशाखाका एसपी मिलन केसीले अनावश्यक प्रलोभनमा नपर्न सवैलाई आग्रह गर्छन् । उनी भन्छन्, ‘नचिनेको मानिसलाई पानी त दिँदैनन्, तपाइँहरू विदेशबाट लाखौं रकमको खजाना र कोशेली आयो भनेर कसरी विश्वास गर्नुहुन्छ ? ठगी गर्ने गिरोहले अनेक बहानाबाजी गरेका हुन्छन् । बुझ्न र सोच्न अति जरुरी छ ।’ -अन्नपूर्ण पोस्ट्बाट

तपाईको प्रतिक्रिया