Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी आत्महत्या रोकथाम दिवस मनाइँदैछ । नेपालमा आत्महत्याका घटना बढ्दो क्रममा रहे पनि रोकथाम तथा न्यूनीकरणका लागि प्रभावकारी काम हुन सकेको देखिएको छैन ।

मनोविद् तथा मनोचिकित्सक आत्महत्या रोकथाममा सबै क्षेत्रको उत्तिकै भूमिका हुनुपर्नेमा जोड दिन्छन् । विश्व आत्महत्या रोकथाम दिवस मनाइरहँदा एक दिन दिवस मनाउने मात्र नभई वर्षभरि नै समुदायलाई सचेत गराउने गरी कार्यक्रम गर्नुपर्नेमा विज्ञहरूको जोड छ ।

मनोविद् डा. नरेन्द्रसिंह ठगुन्ना सरकारले रोकथामका नीति त्यसैगरी ल्याउनुपर्ने, संघसंस्था तथा स्थानीय तहले पनि सचेतनामूलक कार्यक्रमसहितका गतिविधि सञ्चालन गर्नुपर्ने र सञ्चारमाध्यमबाट पनि रोकथाम तथा न्यूनीकरणका लागि सन्देशमूलक र सावधानी अपनाउने गरी समाचार सम्प्रेषण गर्न सके न्यूनीकरणमा सहयोग पुग्ने बताउँछन् ।

आत्महत्याका घटना बढेपछि नेपालमा त्यसप्रति कुनै पनि निकाय गम्भीर नभएको उनको भनाइ छ । नेपालमा आत्महत्याका घटना बढ्दो क्रममा छन् । पछिल्लो १० वर्षको तथ्यांकअनुसार ५६ हजार बढीले आत्महत्या गरिसकेका छन् । यो संख्या त्यसको अघिल्लो १० वर्षको तुलनामा निकै बढी हो ।

नेपाल प्रहरीका नायब महानिरीक्षक कुवेर कडायत आत्महत्याका घटना बढ्दो क्रममा रहेको बताउँछन् । आत्महत्याका घटना न्यूनीकरणमा ध्यान दिनुपर्नेमा उनी सुझाउँछन् ।

गत आर्थिक वर्षमा मात्रै झन्डै सात हजारले आत्महत्या गरेका थिए । २०७० मा चार हजार पाँच सय जनाले आत्महत्या गरेकामा १० वर्षपछि आव २०७९/८० मा सो संख्या बढेर सात हजार पुग्नु चुनौतीपूर्ण अवस्था रहेको मनोविद् तथा मनोचिकित्सक बताउँछन् । अझ कोभिड-१९ को समय आत्महत्या गर्नेको संख्या बढेको थियो ।

त्यसैले यसलाई मानसिक स्वास्थ्य समस्याका रूपमा हेरेर रोकथामतर्फ लाग्नुपर्नेमा उनीहरूको जोड छ । मनोविद् डा ठगुन्ना आत्महत्या गर्न खोज्ने व्यक्तिले पहिले नै कुनै न कुनै संकेत दिने र गतिविधि देखाउने हुँदा त्यस्ता गतिविधिको ख्याल गर्न सकियो भने रोक्न सकिने बताउँछन् ।परिवार वा अरुले बेवास्ता गरेमा मात्रै ऊ आत्महत्याको बाटो रोज्न पुग्ने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया