Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – मोरक्कोमा भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या २ हजार नाघेको छ । अहिलेसम्म २ हजार बढी शव भेटिएको र भग्नावशेषमा पुरिएकाहरुको खोजी भइरहेको मोरक्को सरकारलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

आन्तरिक मन्त्रालयका अनुसार १,४०० भन्दा बढी गम्भीर घाइते भएका छन्, र सबैभन्दा धेरै माराकेशको दक्षिणी प्रान्तमा मारिएका छन् । सयौं घाइतेहरुको अस्पतालमा उपचार भइरहेको तर एकिन विवरण प्राप्त नभएको पनि बीबीसीको खबरमा उल्लेख छ । रातिको समयमा ‘हाइ एट्लस माउन्टेन्स’ केन्द्र विन्दु बनाएर ६ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो ।

धेरै भवनको भग्नावशेषमा मान्छे पुरिएको आशंकामा खोजी भइरहेको छ । मानिसहरु सडकमा बसिरहेका छन् । स्थानीय समय अनुसार राति ११ बजेर ११ मिनेटमा भूकम्प गएको हो । त्यसको १९ मिनेटपछि ४ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको थियो ।

भूकम्पले ज्यान गुमाउने र घाइते हुने आधाभन्दा बढी अल–हौज र ताराउदान्ट प्रान्तका रहेका बताउँदै यहाँको सरकारले मराकेस, अगादिर, कासाब्लाङ्का, और्जाजाटे, चिचौवा, अजिलाल र युसुफिया पनि अधिक प्रभावित भएका जनाएको छ ।

अहिले पनि अधिकांश घरबाहिर त्रिपाल टाँगेर बसिरहेका छन् । भूकम्प भयानक भएको ३३ वर्षीय अब्देलहक एल अमरानीले बताएका छन् । उनले बच्चाहरू रोइरहेको आवाज सुनेका तथा किंकर्तव्यविभूढ अभिभावकहरूलाई देखेको बताएका छन् । १० मिनेटसम्म बिजुली टेलिफोन सेवा बन्द भए पनि पछि सेवा सञ्चालन भएको उनले बताए । सरकारी अधिकारीहरूका अनुसार देशको एक तिहाइ भूभाग भूकम्पबाट प्रभावित भएकाले ज्यान गुमाउने र घाइते हुनेको संख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ ।

भूकम्पले नराम्ररी प्रभावित पर्वतीय क्षेत्रमा रहेका दुर्गम गाउँसम्म निकै कठिनाइ भएको छ । पुराना भवन भएका ती गाउँमा अकल्पनीय विनाश भएको अनुमान गरिएको छ । ती स्थानमा उद्धारकर्ताहरू पुग्न केही दिन लाग्न सक्छ । मराकेस, कासाब्लाङ्कालगायत शहरी क्षेत्रका मानिसले सडकमा रात बिताएका छन् । क्षति एवं हताहतीको विस्तृत विवरण प्राप्त भएको छैन ।

यसैबीच, विश्वका विभिन्न मुलुकका नेताहरूले मोरक्को सरकारप्रति सहानुभूति प्रकट गर्दै सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जी २० शिखर सम्मेलनमा भागलिने सिलसिलामा भारतको राजधानी नयाँदिल्लीमा रहेका बेलायतका प्रधानमन्त्री ऋषि सुनकले मोरक्कोलाई आफ्नो देशले हरसम्भव सहयोग गर्ने बताएका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी तथा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले मोरक्कोलाई सहयोग गर्ने प्रस्ताव गरेका छन् भने फ्रान्सेली विदेशमन्त्री क्याथरिन कोलोनाले पनि मोरक्कोका भूकम्पपीडित जनता र त्यहाँको सरकारप्रति ऐक्यबद्धता प्रकट गरेका छन् ।

तपाईको प्रतिक्रिया