सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

अरुण तरेर नाना तमोर तरेर ।
आयौँ हामी वीरताको गाथा कोरेर ।।
माओवादी जनयुद्धकोमा उत्कर्षका बेला पूर्वी नेपालमा सुनिने यो गीत पछि रेकर्ड भएर म्युजिक भिडिओ पनि बन्यो । प्रदीप देवानको टिमले गाएको यो गीतका सर्जक भने मणि थापा थिए । तीनै मणि थापा अहिले माओवादी होइन एमालेमा छन् । उनी नेकपा विभाजनपछि प्रचण्डलाई छाडेर केपी ओलीतिर लाग्दा केही समय मन्त्री पनि भए । १० औं महाधिवेशनले स्थायी सदस्यको जिम्मेवारी दियो । तर मणि अहिले पार्टीमा निष्क्रिय छन् । पार्टीमा पत्र नै दिएर ‘बिदा’ बसेका थापालाई पार्टीले कुनै पनि जिम्मेवारी दिएको छैन र उनी पनि अहिले जिम्मेवारी लिने मुडमा छैनन् । आखिर मणि कहिलेसम्म बिदामा बस्ने र त्यसपछिको योजना के छ ? यिनै विषयमा रहेर नेता थापासँग नेपाली समाचारका लागि नृप रावलले गरेको कुराकानीको सम्पादित अंश :-

तपाईँ पार्टीमा खोजिनुपर्ने गरी किन निष्क्रिय हुनुभएको ?
पार्टीहरूमा बिदा लिएर बस्ने चलन रहेको छ । व्यक्तिगत काम गर्ने चलन पनि छ । आफ्नो अध्ययन चिन्तनमा म सक्रिय नै छु । पार्टीगत रुपमा भने सक्रिय नभएकै हो । किनभने बिदामा बसेकाले आधिकारिक रुपमा पार्टीगत निष्क्रियता भन्न अलिक मिलेन । पार्टीभित्रको असन्तुष्टिका कारण बिदामा बसेको होइन । मेरो व्यक्तिगत रुचिका केही काम गर्दैछु । राजनीतिक दौडधुपले अहिलेसम्म गर्न पाएको थिइनँ । त्यही भएर मैले बिदा बसेर काम गर्छु भनेको हो । मेरो बिदाको स्थिति के भइरहेको छ भन्ने कुरा पार्टीले चासो राख्नु स्वाभाविक नै हो ।

केही अघिमात्रै सबै पार्टीका गायकहरू मिलेर संगीत यात्रा सुरु गर्नुभएको थियो नि ! यसको उद्देश्य के हो ?
नेपालको हरेक परिवर्तनमा जनवादी कलाकारहरूको ठुलो भूमिका छ । जनवादी कलाकारहरूलाई राष्ट्रपति अफर गर्दा पनि फरक पर्दैन । त्यो लेबलका केही हुनुहुन्छ । अहिले सरकारमा गइसकेपछि रेडियो नेपाल सरकारी टेलिभिजनमा हाम्रो कुनै अर्थ छैन । त्यहाँ हाम्रा गीत बज्दैनन् । हामीले जुन परिवर्तन ग-यौँ, त्यो परिवर्तनबाट हामी कलाकारहरू सन्तुष्ट छैनौँ । म एमालेमा छु र म पनि सन्तुष्ट छैन । माओवादीका कलाकार सन्तुष्ट छैन । समग्रमा हामी सन्तुष्ट छैनौँ । यसको मतलब हामीले पार्टी छोड्न लागेको भनेको होइन । तर, पार्टीभित्र लोकतन्त्र छैन । कुनै पनि पार्टीभित्र लोकतन्त्र छैन । त्यो लोकतन्त्र हामी यताबाट उत्पन्न गर्न लागिरहेका छौँ । जनताको माध्यमबाट तपाईँहरू सुधार हुनुहोस् भन्ने हाम्रो उद्देश्य हो ।  यो अभियानमा एमालेदेखि विप्लवसम्म हुनुहुन्छ ।पूर्वमाओवादी भएकाले एमाले पार्टीमा अलि असहज भएको हो ? 
पूर्व माओवादी भएकाले मणि थापालाई मात्र असहज भएको छ भन्ने कुरा होइन । स्कुलिङको समस्याहरू छ । एमाले र माओवादीको स्कुलिङ नै फरक छ । नेपालको कम्युनिष्ट आन्दोलनमा बाम संकीर्णता छ । आफ्नो स्कुलिङलाई नै पैरवी गर्ने खालको छ । आफ्नै स्कुलिङ सही छ भन्ने परम्परा छ । स्कुलिङको कारण हामीलाई कामको स्पीड नमिल्ने, तर्कहरू नमिल्ने, मूल्यांकनहरू नमिल्ने । विश्लेषण नमिल्ने कुरा स्वाभाविक भइहाल्यो । त्यसो त पुरानै एमालेमा पनि धेरै गुटहरू छन् । अरू वामपन्थी आन्दोलनका पनि आफ्नै समूहहरू छन् । त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरामा चाहिँ पार्टीमा उदासीनता छ । एउटा पार्टीमा मात्र होइन हरेक पार्टीमा विचारको अन्त्य भइरहेको छ । यो विचारको अन्त्यले दोस्रो पुस्तालाई ध्वस्त पा-यो ।

पूर्वमाओवादी रामबहादुर थापा, लेखराज भट्ट त एमालेमा सक्रिय नै हुनुहुन्छ त ?
मणि थापा अलिकति सैद्धान्तिक विषय उठाउने मान्छे हो । विचारलाई प्राथमिकता दिएर रूपान्तरणलाई प्राथमिकता दिएर पार्टी विसंगतीहरू अलि जोडले नै उठाउनुपर्छ र पार्टी जनताको समस्याबाट भाग्नु हुँदैन भन्ने वैचारिक रुपमा जनप्रिय भुईँका मान्छेका कुरा उठाउने कुरा भएकाले विचारबाट हल हुनुपर्छ भन्ने लाग्छ । कतिपय साथीहरूलाई पदबाट हल हुनुपर्छ भन्ने लाग्छ । कसैको व्यवस्थापनबाट हल हुनुपर्छ भन्ने लाग्छ । सबैलाई मिलाएर लगेन भने एमालेमा समस्या आइरहन्छ ।

केपी ओलीको क्रेज सकिएको भन्न खोज्नु भएको हो ?
यी सबैको सकियो । मेरो आफ्नो विश्लेषण यी सबैको क्रेज सकियो । पहिलो पुस्ता सबैको सकियो ।
जस्तै ?
केपी ओलीको, माधव नेपालको, प्रचण्डको सकियो । त्यो भन्दा दोस्रो तहकाको पनि सकियो । हामी दोस्रो र तेस्रोमा पर्छौ । एक डेढ वर्षमा हामीले नयाँ अभियान गर्न नसके हाम्रो पनि सकिन्छ । क्रेज शंकर पोखरेलको पनि सकियो । हारे नि त ! घनश्याम भुसालको सकियो । योगेश भट्टराईको चुन क्रेज थियो मन्त्री हुनुभन्दा पहिले मन्त्री भएर सकियो । मणि थापाको थियो । माओवादीबाट एमाले गएपछि यता हामीलाई ड्यामेज गरिरहेका छन् ।

तपाईँको कुरा त्यो बेला प्रचण्डले सुन्नहुन्थ्यो कि अहिले ओलीले सुन्नुहुन्छ ?
केपी ओलीभन्दा डेमोक्रेट प्रचण्ड हुनुहुन्छ कुरा सुन्ने मामिलामा । तर, कार्यान्वयन गर्ने कुरा एउटै हो । प्रचण्डले कमसेकम सुन्छन् केपी ओली कमरेड सुन्नुहुन्न । हाम्रो चिन्ता अर्को निर्वाचनसम्म पुग्दा कम्युनिस्ट के हुन्छन् भन्ने पनि हो । उहाँ एउटा मात्रै सकिने कुरा होइन । एउटा सकिँदा अर्को पनि सकिन्छ । तपाईँ हाम्रो पुस्तासम्म आउँदा कम्युनिस्ट पार्टी नरहने हो कि अथवा कमजोर हुने हो कि भन्ने चिन्ता हो । कम्युनिस्ट पार्टी कमजोर हुँदा नेपालको राष्ट्रियता पनि कमजोर हुन्छ ।एकवर्ष अगाडि एमाले ‘दक्षिणपन्थी भयो’ भनेर दिएको अभिव्यक्तिका कारण तपाईँलाई भूमिकाविहीन बनाइयो भन्ने पनि छ नि ? 
त्यो त सैद्धान्तिक रुपमा बोलिएको कुरा थियो । हामीले वामपन्थीको खोजी गर्ने हो भने नयाँ तरिकाले गर्ने हो । क्लासिकल मार्क्सवादबाट हेर्ने हो भने नेपालका सबै वामपन्थी पार्टीहरू दक्षिणपन्थी हुन् । नेपालकै आँखाबाट हेर्ने हो भने यी सबै वामपन्थी हुन् । देश अहिले पनि अस्थिरतातर्फ गइरहेको छ । अझै पनि जनताको हकअधिकारको कुरा गरिरहेका छौँ । त्यो भाषणमा सैद्धान्तिक अवधारणाबारे बोलिएको थियो । अहिले यो सानो कुरालाई ठूलो बनाउने समय सन्दर्भ छ । त्यही भाषणको कारण म भूमिकाविहीन बने भन्ने कुरा होइन । अध्यक्ष ओलीसँग मेरो सम्बन्ध बिग्रियो भन्ने पनि होइन । एमाले नयाँ बन्यो कि बनेन भन्ने कुरा छलफलमा भइ नै रहेको थियो । तर, यही कुराले नै भूमिकाविहीन भएको भन्ने कुरा गलत हो ।

कतै माओवादी छोडेकोमा पछुतो त छैन ?
होइन, होइन त्यो छैन । माओवादी छाडेको पछुतो मलाई छैन । तर, हामी नयाँ एमाले बनाउन गएको हो । मैले स्थायी समितिमा भनेको थिएु, पुरानो एमालेको भूत जाग्यो । नेकपाको दस्ताबेजमा माओवादी जनयुद्धले गणतन्त्र ल्याउन मुख्य भूमिका खेलेको छ भन्ने छ । यहाँ प्रचण्ड र ओली कमरेडको जुँगाको लडाइले गर्दा नेपालको कम्युनिस्ट आन्दोलन ध्वस्त भएको छ । खासमा हामी पुरानो एमाले त होइन नि । हामीलाई पुरै एमाले हुनको लागि हामीलाई त समय लाग्छ नि । त्यसको नकारात्मक कुरा भन्न मिल्यो । तर, त्यसको सकारात्मक कुराको विरोध गर्न भएन ।

अन्त्यमा बताइदिनुस्, तपाईँ विप्लवको पार्टी नेकपामा प्रवेश गर्ने हल्ला सही कि गलत ? 
विप्लवजीसँग मेरो पुरानो सम्बन्ध हो । विप्लवजीको वा अन्य पार्टीमा प्रवेश गर्ने कुरा अहिले तत्काल केही त्यस्तो बनेको छैन । अर्को मिटिङसम्म मैले पार्टीको कुन पोजीशनमा छु भन्ने कुरा जानकारी गराउँछु भनेकै छु । अस्तिको बैठकपछि मैले महासचिवसँग कुराकानी गरेको छु । बिदा सकिएपछि पार्टीमा मेरो पोजिशन के हुने भन्ने कुरा स्पष्ट पार्छु भनेकै छ । सम्बन्ध त सबै पार्टीसँग राम्रै छ मेरो । म के विश्वास दिलाउन चाहन्छु भने- सक्रिय रहन्न, अन्यत्र पनि जान्न ।

तपाईको प्रतिक्रिया