बुधबार, आषाढ ०५, २०८१
Wednesday, June 19, 2024

टोकियो – सन् २०११ को आणविक दुर्घटनापछि जापानले फुकुसिमा दाइचीस्थित आणविक ऊर्जा केन्द्रका तातिएको भट्टी चिस्याउन पानी प्रयोग गरिरहेको छ  । सो दुर्घटनामा रेडियोधर्मी भट्टीको मुख्य केन्द्र उच्च तापक्रमले पग्लिएको थियो, जुन अझै सेलाइसकेको छैन । यी केन्द्रलाई चिस्याउने क्रममा तिनको सम्पर्कमा आएका चिसो पानी विभिन्न रेडियोधर्मी तत्वले दूषित हुन पुग्यो ।

त्यहाँ लगभग १३ लाख टन दूषित पानी १००० वटा ट्यांकीमा भण्डारण गरिएको थियो । जापान भूकम्पीय जोखिमयुक्त मुलुक भएकाले यी रेडियोधर्मी पानी राखिएका ट्यांकीमा उच्च जोखिमपूर्ण छन् । भूकम्पले यी ट्यांकीलाई क्षति पुर्‍याउने हो भने यसले वरपरको स्थल वातावरणलाई दूषित गर्न सक्छ । तसर्थ जापानी अधिकारीहरूले यस जोखिमलाई रोक्न र नयाँ परिमाणका दूषित पानीका लागि भण्डारण ठाउँ खाली गर्न दूषित पानीलाई समुद्रमा फाल्ने निर्णय गरेका हुन् ।

जापानले दूषित पानीलाई महासागरमा निकास दिनुअघि तिनमा रहेको रेडियोधर्मी अंशलाई हटाउन जटिल प्रणाली अवलम्बन गरेको छ । तथापि, यस प्रणालीबाट पनि हाइड्रोजनको एक रेडियोधर्मी वर्ग ट्रिटियम भने छानिँदैन र त्यो पानीमै रहन्छ । अन्तमा पानीलाई समुद्रमा छोड्नुअघि प्रशोधित पानीमा थप शुद्ध पानी हालेर यसको रेडियोधर्मीको स्तरलाई विश्व स्वास्थ्य संगठनले निर्धारित गरेको पिउनेपानीको सुरक्षा मापदण्डभन्दा तल ल्याइएको जापानले बताएको छ ।

जापानी पानीको निकासप्रति उब्जिएको प्रतिक्रिया भ्रामक छन्, किनकि फुकुसीमाबाट फालिएको दूषित पानीले चीन र दक्षिण कोरियाका मानिसमा खतरा निम्त्याउँदैन । संयुक्त राष्ट्र संघको आणविक निगरानी संस्था ‘अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए)’ले दूषित पानीको स्वतन्त्र नमुना र विश्लेषणसहित योजनाको विस्तृत समीक्षा गरेको छ । सम्पूर्ण पानी नफालिएसम्म आइएइएले यसको निगरानी जारी राख्नेछ ।

उलेखनीय कुरा के छ भने, जापानको घटनाजस्तो बाहिर चर्चामा नआईकन पनि विश्वका धेरै आणविक केन्द्रले ट्रिटियम मिसिएको आणविक केन्द्रका दूषित पानीलाई नियमित रूपमा समुद्रमा छाडिरहेका हुन्छन् । उदाहरणका लागि, दक्षिण कोरियाको कोरी आणविक ऊर्जा केन्द्रले वार्षिक रूपमा फुकुसिमा आणविक केन्द्रले अहिले फालेको पानीको भन्दा चार गुणा बढी ट्रिटियमयुक्त दूषित पानी समुद्रमा फाल्दै आएको छ । फ्रान्सको ‘ला हेग आणविक केन्द्र’ले बर्सेनि इंग्लिस च्यानलमा फुकुसिमाले अहिले फालेको भन्दा ५०० गुणा बढी ट्रिटियम मिसिएको पानी फाल्ने गरेको छ । चीन र हङकङले दूषित पानीको डरले समुद्री खाद्यान्न आयात प्रतिबन्ध गर्ने कार्यले अरू नै महत्वपूर्ण तथ्यमा प्रकाश पारेको छ ।

समुद्रमा दूषित पानी फाल्ने निर्णयमा केही हदसम्म भूराजनीतिको पनि हात छ । चीन र जापानबीच राजनीतिक तनाव रहेकाले चीनले यस कदममा चर्को विरोध जनाएको हो भन्ने बुझ्न सकिन्छ । जापानसँग सुमधुर सम्बन्ध रहेका पश्चिमी देशहरूले यस कार्यको सहमति जनाएका छन् । तर, आइएइएको अनुमोदनका बाबजुद चिनियाँविज्ञसमेत जापानी योजनाप्रति शंकालु रहिरहेको तथ्यले भने राजनीतिबाहेक अरू पक्षमा पनि प्रकाश पार्छ ।

विद्वान्हरूले वर्णन गरेझैँ, साँच्चै नै पश्चिम र चीनबीच तथ्यगत यथार्थलाई हेर्ने नजरमा समेत फरकपन आउन थालेको छ । यो कुरा दुवै पक्षका विज्ञ सहमत हुने अपेक्षा गरिने विज्ञान सम्बन्धित घटनामा समेत देखिँदै छ । कोभिड– १९ भाइरसको उत्पत्तिदेखि अमेरिकाको आकाशमा देखिएको चिनियाँ बेलुनले निम्त्याएको संकटसम्मले चीन र पश्चिमबीचको बढ्दो दृष्टिकोणको खाडललाई चिह्नित गर्छ । फुकुसिमा आणविक केन्द्रको पानी फाल्ने निर्णयप्रति विरोधाभासपूर्ण धारणा यही चिन्ताजनक प्रवृत्तिको पछिल्लो उदाहरण मात्र हो ।

-साउथ चाइना मर्निङ पोस्टबाट

तपाईको प्रतिक्रिया