शुक्रबार, मंसिर १५, २०८०
Friday, December 1, 2023

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमा सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएको विषय चर्चामा रहेको छ । उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई चोरको संज्ञा दिँदै सिंहदरबार जलाउने धम्की दिएका हुन् ।

शनिबार राति उनले फेसबुकमा  लेखेका छन्, ‘आजको लागि केही भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबार आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’

बालेन आक्रोशित हुनुको कारण उनकी श्रीमती चढेको गाडी ट्राफिक प्रहरीले रोकेको कारण खुल्न आएको छ । बिदाको दिन सरकारी गाडी तीव्रगतिमा चलाएपछि कोटेश्वर ट्राफिक प्रहरी वृतको टोलीले रोकेको थियो ।

शनिबार राति करिब ९ बजेतिर बालकुमारीबाट तीनकुनेतर्फ आउँदै गरेको सेतो नम्बर प्लेटको गाडीलाई कोटेश्वर ट्राफिक प्रहरीले रोकेको र बिदाको दिन सरकारी गाडी चलाउने अनुमति मागिएको थियो । गाडी मेयर बालेनको भएको बताएपछि २३ मिनेटपछि छोडिएको बुझिएको छ ।

ट्राफिक प्रहरीले भने नियमित चेकिङकै क्रममा रोकिएको बताएको छ । यो घटनापछि बालेनले यसको आक्रोश सामाजिक सञ्जालमा पोखेको बताइन्छ ।

तपाईको प्रतिक्रिया