शुक्रबार, मंसिर २२, २०८०
Friday, December 8, 2023

काठमाडौं – सिभिल इन्जिनियरिङ पढिरहेका गुल्मीका प्रकाश भण्डारी काम गर्दै डिप्लोमा गर्ने सोचका साथ जागिरका लागि धेरै भौँतारिए । १ वर्ष प्रयास गर्दा पनि मासिक १० हजारभन्दा बढी तलबको ‘अफर’ आएन । सकेसम्म विदेश जान्न भन्ने सोच बनाएका प्रकाश आफ्नो योग्यता, क्षमता अनुसार जागिर नपाएपछि अन्ततः वैदेशिक अध्ययनमा अस्ट्रेलिया जाने तयारीमा छन् ।

वैदेशिक अध्ययन अनुमति पत्र शाखा, भक्तपुरमा भेटिएका उनले निराशा पोखे । ‘कम्तीमा काठमाडौँमा बसेर आफ्नो खर्च धान्न सक्ने जागिर पाएको भए म विदेश जान्नथें, तर खान-बस्न समेत नपुग्ने तलबको अफर हुन्छ,’ प्रकाशले प्रश्न गर्दै भने, ‘अनि विदेश नगएर के गर्ने ?’ क्यानडामा कम्तीमा क्षमता अनुसार जागिर वा दुःख गरे अनुसार श्रमको मूल्य पाउनेमा उनी आशावादी छन् ।

साइकोलोजीमा स्नातक गरेकी कञ्चनपुरकी उर्मिला भट्ट क्यानडा जाने तयारीमा छिन् । पढाइ अनुसार जागिर नपाएकाले विदेश जाने निर्णयमा पुगेको उनले सुनाइन् । ‘पढेको छु, अब जागिर खान्छु भन्दा जागिरै पाउन्नँ । न सरकारले दिन्छ न प्राइभेट कम्पनीले दिन्छन्’ उर्मिला भन्छिन्, ‘आफैँ गर्न पैसाले पुग्दैन ।’ एचए पढेकी मञ्जु विश्वकर्मा पनि जापान लागि तयारी गरिरहेकी छिन् । नेपालमा काम पाउन गाह्रो नभए पनि तलब ज्यादै न्यून हुने उनको अनुभव छ ।

प्रकाश, उर्मिला, मञ्जु मात्र होइन, विदेश जान कागजात रुजु गराउन वैदेशिक अध्ययन अनुमति पत्र शाखामा लाइन लागेकाहरू कि त रोजगारी नभएर कि भविष्यको खोजीमा विदेश जान लागेको बताउँथे । अध्ययन भिसामा जाने अधिकांशको गन्तव्य हुन्छ- अमेरिका, अस्ट्रेलिया जापान, क्यानडा…। म यही देशमा बस्छु, केही गर्छु र यतै आफ्नो भविष्य बनाउँछु भन्ने किशोर पुस्ता पाइन छाडेको छ । परिणामतः विश्वविद्यालयका कक्षाकोठा खाली हुन थालेका छन् । बरु शैक्षिक परामर्शदाता, ल्यांग्वेज इन्स्टिच्युट र नो अब्जेक्सन लेटर-एनओसी लिन लाम लाग्नेको संख्या बढेको बढ्यै छ ।

बर्सेनि धेरै विद्यार्थी बिदेसिँदा मुलुकका लागि चाहिने जनशक्ति मात्रै बाहिरिएको छैन, ठूलो परिणाममा नगद पनि गइरहेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार आव २०७९/८० मामा ९० अर्ब १८ करोडभन्दा बढी बाहिरिएको छ । आव २०७८/०७९ मा ६७ अर्ब ७० करोड रुपैयाँ अध्ययनका लागि बाहिरिएको थियो । नेपाल उद्योग वाणिज्य महासंघको एक तथ्यांकअनुसार बर्सेनि ५ लाख युवा जनशक्ति नेपाली श्रमबजारमा आउँछन् । तर बढीमा २० हजारले मात्र जागिर पाउँछन् । सोही कारण धेरैको रोजाइ देश छाड्नुमै हुन्छ ।

अध्ययनका लागि विदेश जाने प्रयोजनमा भिसा प्रक्रिया अप्ठ्यारो छैन । नेपाली विद्यार्थीले भाषामा राम्रो परिणाम ल्याएपछि प्रायः भिसा लाग्छ । अमेरिका, बेलायत तथा अस्ट्रेलियाजस्ता देशको शिक्षा नीति लचक रहेको शैक्षिक परामर्शदाताहरू बताउँछन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन शाखाको तथ्यांकले पनि हरेक वर्ष वैदेशिक अध्ययनमा जानेको संख्या बढिरहेको देखाउँछ ।

वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) शाखाको तथ्यांक अनुसार २९ पुस २०७७ देखि १६ पुस २०७८ सम्म (२०२१ जनवरीदेखि डिसेम्बरसम्म) ४४ हजार ८१२ जनाले एनओसी लिएका थिए । अर्को वर्ष यो संख्या झण्डै ४४ ले प्रतिशत बढ्यो । १७ पुस २०७८ देखि १६ पुस २०७९ सम्ममा १ लाख २ हजार ५०० जनाले वैदेशिक अध्ययनमा जान अनुमति लिए । आर्थिक वर्ष २०७९/८० मा १ लाख १० हजार २१७ जनाले एनओसी लिएको शाखा प्रमुख वासुदेव वस्ती बताउँछन् । उनकाअनुसार विश्वका विभिन्न ७१ वटा मुलुकमा जानका लागि विद्यार्थीले एनओसी लिएका छन् ।

शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइराला पनि आशा जगाउनेभन्दा बढी निराशा छर्नेहरू धेरै भएकाले पनि युवा पुस्ताले यहाँ भविष्य नदेखेको बताए । विद्यार्थीलाई सम्भावना देखाइदिने, सम्भव बनाउने उपाय बताइदिने नहुँदा बिदेसिएको उनको तर्क छ । ‘उनीहरूलाई आशा जगाउने कोही पनि भएन,’ प्रा.डा.कोइरालाले भने, ‘कन्सल्टेन्सी, पत्रकार, प्राज्ञिक, नेता भनाउँदाले केही छैन भनेपछि किन बस्छन् उनीहरू ?’

अध्ययनपछि पाइने अवसरका कारण उच्च शिक्षा आर्जन गर्न नेपाली विद्यार्थी विदेश जाने गरेको उनको बुझाई छ । ‘पढिसकेपछि जागिर सुनिश्चित हुने हो भने विद्यार्थी बाहिरिने थिएनन्,’ उनी भन्छन्, ‘विद्यार्थी अवसरको खोजीमा बिदेसिएका हुन् ।’

पूर्व शिक्षामन्त्री शिशिर खनाल युवालाई नेपालमा रोजगारीको अवसर दिन नसक्दा बिदेसिनेको संख्या बढेको स्वीकार गर्छन् । ‘एकातिर उच्च शिक्षाको गुणस्तरप्रति विश्वास घट्दो छ भने पढिसकेपछि पनि रोजगारीको अवसर देखिँदैन’ खनालले भने, ‘नेपालमा पढेर भविष्य सुरक्षित बनाउन सकिन्छ भन्ने वातावरण तयार नहुँदा विद्यार्थीमा निराशा छाएको देखिन्छ ।’

तपाईको प्रतिक्रिया