शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

टोकियो – जापानको टोकियोमा सामूहिक बेल विवाह (ईही) र व्रतबन्ध (क्येता पुजा) गरिएको छ । नेवा: अन्तर्राष्ट्रिय फोरम जापानले २७ तारिख आइतबारको दिन टोकियो सिनओकुबो स्थित सोलमारी नेपाली मुरा हलमा सामूहिक बेल विवाह र व्रतबन्ध आयोजना गरेको हो ।जापानमा बेल विवाह र व्रतबन्ध एकै साथ आयोजना भएको यो पहिलो पटक हो । एउटा ऐतिहासिक कार्यक्रमको रूपमा पनि हेरिएको छ । बेल विवाहको लागि ६ जना बालिका र व्रतबन्धको लागि दुई जना बालकहरूको सहभागिता रहेको थियो ।गुरु प्रज्वल रत्न बज्राचार्यले नेवारी परम्परा अनुसार विधिवत् यस शुभकार्य गरेका थिए । उनलाई जापानी नागरिक, बौद्धिक अनुयायी युको ओखामोतोले साथ दिएका थिए । पूजापछिको कार्यक्रम सञ्चालन संस्थाको पूर्वअध्यक्ष र बेल विवाह (ईही) र व्रतबन्ध (क्येता पुजा)लाई सफल बनाउन विशेषरूपले खटेका गंगा डंगोलले गरेका हुन् ।कार्यक्रममा जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीको समेत सहभागिता थियो । उनले बेल विवाह र व्रतबन्धमा सहभागी बालबालिकाहरूलाई ‘सहभागिता प्रमाण पत्र’ प्रदान गरेका थिए । राजदूत सुवेदीले विदेशमा पनि आफ्नो कला संस्कृतिलाई जगेर्ना गर्दै आफ्नो सन्तति माझ पुर्‍याउने आयोजक संस्थालाई धन्यवाद तथा बधाई दिएका थिए ।यस संस्थाले बेल विवाह (ईही) यो तेस्रो पटक र व्रतबन्ध (क्येता पुजा) पहिलो पटक आयोजना गरेको हो । जापानमा आफ्नो छोराछोरीको कर्मकाण्ड गर्न पाएकोमा अभिभावकहरू पनि खुसी थिए । ‘यदि यहाँ गर्न नपाएको भए नेपालमा गएर गर्नुपर्ने हुन्थ्यो, नेपालसम्म गएर गर्न सबैको बिदा मिलाउन पनि गाह्रो छ, यहाँ नै गर्न पाइयो । आयोजक संस्थालाई धेरै धेरै धन्यवाद छ,’ सबै अभिभावकहरूको एउटै स्वर थियो ।कार्यक्रममा संस्थाका अध्यक्ष बाल कृष्ण डंगोलले जापानमा यसरी कार्यक्रम गर्न पाउनु गर्वको कुरा भएको बताए । ‘हाम्रो सन्ततिको लागि यस किसिमको कार्यक्रम गर्दै जानेछौँ । बेल विवाह (ईही) र व्रतबन्ध (क्येता पुजा) सहभागी हुनुहुने सबै अभिभावक र बालबालिकालाई धन्यवाद,’ उनले भने, ‘कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने संस्था, भित्र या बाहिरको सबै व्यक्तित्वहरूलाई कृतज्ञता प्रकट गर्दछु ।’संस्थाले २ सेप्टेम्बर शनिबारको दिन खासाई रिन्काई कोउयन ‘क्वाटी पुन्ही’ आयोजना गर्दैछ । जसमा सहभागी हुनको लागि पनि अनुरोध गरेको छ । कार्यक्रम समापनपछि दिवा भोजसँगै रात्रि भोज समेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया