Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – कैलालीको धनगढीस्थित सहिदगेट नजिक रहेको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा पत्थरीको शल्यक्रिया गर्न आएका बिरामीको मृत्यु भएको छ । दुवै मिर्गौलामा पत्थरी भएर शल्यक्रिया गर्न आएका कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको मृत्यु भएको हो ।

मिर्गौलाको शल्यक्रिया गरेर १४ एमएम र साढे नौ एमएमको पत्थरी निकालिएको भए पनि शल्यक्रियामा गरिएको त्रुटिले बिरामीको ज्यान गएको आफन्तले आरोप लगाएका छन् । मृतक चौधरीका भाइ नाता पर्ने विष्णुप्रसाद चौधरीका अनुसार ९ गते शनिबार बिहान ११ बजे बिरामीलाई अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा डाक्टरले दुवै मिर्गौलामा पत्थरी रहेकाले शल्यक्रिया गर्न सुझाव दिएका थिए । अस्पतालले बिरामीलाई सोही दिन दिउँसो १ः३० मा शल्यक्रिया कक्षमा लगेका थिए । चौधरीको शल्यक्रिया दिउँसो २ः३० मा सकिएको थियो ।

शल्यक्रियामा संलग्न चिकित्सकले अप्रेसन सफल भएको बताएका थिए । शल्यक्रिया गरेको १ घण्टापछि बिरामीले पेट दुख्न थालेको बताएको विष्णुप्रसादले बताए । बिरामीको स्वास्थ्यमा देखिएको समस्याका बारे अस्पतालमा कार्यरत नर्सलाई भन्दाभन्दै बिरामी बेहोस भएको आफन्तले बताएका छन् ।

मृतक चौधरीको छोरी सुस्मा दहितले आफ्ना बुवाको साँझ ७ बजेतिर दोस्रो शल्यक्रिया गरेर एउटा मिर्गौला झिकिएको बताइन् । ‘डाक्टरले पत्थरी निकाल्दाभित्र नसा काटिएकाले आन्तरिक रक्तस्राव भयो । तसर्थ बिरामीलाई बचाउन मिर्गौला झिक्नुपर्ने बताएपछि हामीले हुन्छ भनेर मन्जुरी दिएका हौँ,’ उनले भनिन्, ‘दोस्रो शल्यक्रिया गरेर मिर्गौला झिकेपछि बुवा होसमा नै आउनु भएन । अस्पतालको लापरबाहीले बुवाको ज्यान गएको हो ।’

अस्पतालमा कार्यरत सर्जन डाक्टर जोनस तिवारीको टोलीले चौधरीको शल्यक्रिया गरेको आफन्तले बताएका छन् । अस्पतालका डाक्टर जोनस तिवारीले बायाँ मिर्गौलाको पत्थरी झिक्ने क्रममा किड्नीको नसा काट्न पुग्दा अत्यधिक रक्तस्राव भएको र त्यसपछि मिर्गौला झिक्न अर्को शल्यक्रिया गर्दा बिरामीको मृत्यु भएको हो । दोस्रो शल्यक्रिया पश्चात् बिरामीको अवस्था थप नाजुक भएपछि डाक्टरले अब सकिँदैन भनेर भनेको आफन्तले बताएका छन् ।

मृतकको छोरी सुस्मा दहितका अनुसार पहिलो शल्यक्रिया गर्नुपूर्व बिरामीको शरीरमा ६ प्वाइन्ट रगत रहेकोमा शल्यक्रिया पश्चात् घटेर दोस्रो शल्यक्रिया गर्न लैजाँदा दुई प्वाइन्ट मात्रै रगत रहेको डाक्टरले बताएका थिए। शनिबार रातभर रेडक्रसको रक्तसञ्चार केन्द्रबाट २३ प्रिन्ट रगत चढाइएको थियो ।

डाक्टरले शल्यक्रिया सफल भयो भनेर झुठो बोलेर आफ्नो गल्ती ढाकछोप गर्न खोजेको मृतकका सम्धी पुनाराम चौधरीले बताए । उनले भने, ‘गल्तीको सजाय अस्पताल र डाक्टरले पाउनुपर्ने हुन्छ । अस्पताल खुल्दाखुल्दै बदमासी गरिएको छ । मान्छेको ज्यानमाथि गरिएको खेलबाड क्षम्य हुनुहुन्न ।’ ऐजनलालको मृत्युु भएको विषयमा अस्पतालसँग कुराकानी गर्न खोज्दा अध्यक्ष महेश जोशीले एक छिनपछि फोन गर्ने भन्दै औपचारिक जानकारी दिन मानेनन् ।

तपाईको प्रतिक्रिया