बिहिबार, मंसिर २१, २०८०
Thursday, December 7, 2023

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टी (एमाले)को राजनीतिमा निषेध नगरिएको स्पष्टीकरण दिएका छन् । आइतबार विराटनगरमा आयोजित कोशी प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीमा भण्डारीलाई निषेध नगरिएको र सधैँ स्वागत हुने बताएका हुन् ।

ओलीले भने,‘उहाँले राजनीति गर्छु भन्दा रोक्ने को हो ? कसले रोक्छ ? कसरी रोक्छ? हामी उहाँलाई निषेध गर्दैनौँ ।’ ओलीले भण्डारी पार्टीको आदरणीय व्यक्ति भएको पनि बताए ।

‘पूर्वराष्ट्रपति विद्या भण्डारीजी हाम्रो पार्टीका सबै नेताहरूको, राष्ट्रपति भएर एउटा आदरणीय व्यक्ति पनि उहाँ हुनुहुन्छ । त्योभन्दा अगाडि पनि हाम्रो नजिककै मित्र हो नि,’ ‌ओलीले भने, ‘हाम्रो पार्टीको उपाध्यक्ष नै हो । हाम्रो पार्टीको आदरणीय व्यक्तित्व नै हो । त्यसैले हामीमध्ये कसैले भेट्नु, कुरा गर्नु भनेको ठूलो कुरा होइन ।’

पूर्वराष्ट्रपति भण्डारी फेरि राजनीतिमा सक्रिय हुने चर्चा चले पनि उनले आफूले भने मुख खोलिसकेकी छैनन् । एमालेको एउटा समूह भण्डारीलाई पार्टी राजनीतिमा फर्किन दबाब दिइरहेको बताइन्छ ।

तपाईको प्रतिक्रिया