Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – सरकारी वकिलको कार्यालय काठमाडौँले ललिता निवास प्रकरणबारे आज अदालतमा अभियोजन दर्ता गर्ने भएको छ । शुक्रबार नै मुद्दा दर्ताको तयारी गरेपनि प्रहरीको अनुसन्धान प्रतिवेदन अध्ययन गर्न नभ्याइएकाले आज काठमाडौँ जिल्ला अदालतमा अभियोजन दर्ता गरिने भएको हो ।

ललिता निवासको सरकारी जग्गा हिनामिना गरी व्यक्तिका नाममा लगेको विषयमा अनुसन्धान गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले २८६ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको प्रतिवेदन सरकारी वकिललाई बुझाएको छ । प्रतिवेदनमा चार पूर्वमन्त्री तथा ६ पूर्व सचिवसमेतलाई प्रतिवादी बनाएको सीआइवीले पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, बाबुराम भट्टराई र पूर्व मुख्यसचिव लीलामणि पौडेलसँग भने सामान्य बयान मात्रै लिएर उन्मुक्ति दिएको आरोप लागिरहेको छ ।

ललिता निवास परिसरको एक सय ४३ रोपनी ६ आना जग्गा किर्ते कागजपत्रका आधारमा योजनाबद्ध र सङ्गठित रूपमा पटक पटक गरी व्यक्तिको नाममा सारिएको निष्कर्ष सिआइबीको छ । सोही आधारमा सीआइबीले सङ्गठित अपराध तथा किर्ते मुद्दा चलाउन सिफारिस गरेको छ ।

हाल १८ जना प्रतिवादी हिरासतमा छन् भने ६ जना माथि हिरासतबाहिर राखेर अनुसन्धान भइरहेको छ । विसं २०४९ देखि २०६९ सम्ममा पटक पटकको मितिमा सरकारी जग्गा हिनामिना भएको थियो ।

तपाईको प्रतिक्रिया